हिन्दू राष्ट्र बनाउने र निर्वाचन प्रणाली फेर्ने पक्षमा उभिएला त कांग्रेस महासमिति बैठक ? – Nepal Press

हिन्दू राष्ट्र बनाउने र निर्वाचन प्रणाली फेर्ने पक्षमा उभिएला त कांग्रेस महासमिति बैठक ?

काठमाडौं । नेपाली कांग्रेसले महासमितिको बैठकको तयारी तीव्र बनाएको छ। शीर्ष नेताहरु आगामी मंसिर १३ देखि १५ सम्म काठमाडौंमा हुने महासमिति बैठकको एजेण्डामा केन्द्रित भएका छन् ।

महासमिति बैठकबाटै नीति अधिवेशन गर्ने भएकाले कांग्रेस वृत्तले यो बैठकलाई महत्वपूर्ण रुपमा हेरेका छन् । कांग्रेसले असोज मसान्तको समयसीमा तोकेर महासमिति सदस्यको निर्वाचन गरिरहेको छ । हालसम्म ४३ जिल्लाबाट प्रतिनिधि छनोट भइसकेका छन् ।

कांग्रेसमा महाधिवेशनपछिको ठूलो महासमिति बैठक हरेक वर्ष बस्ने व्यवस्था छ । तर, १४औं महाधिवेशनपछि पहिलो पटक यो बैठक बस्न लागेको हो । महासमिति बैठकको लागि असोज पहिलो साता बसेको केन्द्रीय समितिको बैठकले सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको थियो ।

महासमितिको बैठकको लागि पार्टी उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव समिति गठन गरिएको छ ।

महामन्त्री गगन थापाले सांगठनिक प्रतिवेदन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेश गर्ने जिम्मेवारी पाएका छन् । सोहीअनुसार अहिले उनीहरुले आफ्नो कामलाई अगाडि बढाइरहेका छन् ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठकको तयारीका काम भइरहेको बताए । उनले १४औं महाधिवेशनले नेतृत्वमात्रै चयन गरेकाले नीति पारित गर्नेतर्फ महासमिति बैठक केन्द्रित हुने जानकारी दिए ।

‘बैठकले पार्टीको नीति तय गर्नुका साथै पछिल्ला सबै विषयमा विश्लेषण र समीक्षा गर्नेछ’, विश्वकर्माले भने, ‘ठोस निष्कर्ष निकालेर पार्टीलाई अगाडि बढाउन यो बैठक महत्वपूर्ण हुने विश्वास गरेका छौं ।’

बैठकमा केन्द्रीय समितिको तर्फबाट राजनीतिक, सांगठनिक, आर्थिक सबै प्रस्तावहरु पेश हुने केन्द्रीय सदस्य नैनसिंह महरले बताए ।

उनले भने, ‘१४औं महाधिवेशनमा हामीले नीति कार्यक्रमहरु राख्न सकेका थिएनौं । अब अहिलेको परिस्थितिमा कांग्रेसलाई कसरी बलियो बनाउने, कार्यक्रम कसरी लैजाने, जनताको एजेण्डालाई कसरी सम्बोधन गर्ने, आर्थिक संकटसँगै जनतामा बढेको निराशाबीच राज्य सञ्चालयको विषयमा कांग्रेसको दृष्टिकोण के रहन्छ भन्ने कुरा अहिलेको समय सान्दर्भिक ठोस योजना तयार पार्छौं ।’

नेता महरले महासमितिको बैठकले अहिले जनतामा देखिएको निराशालाई अन्त्य गर्न कांग्रेसको ठोस योजना अघि सार्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘अहिले हामी गठबन्धन बनाएर सरकारमा गएका छौं । तर पनि जनताको निराशा सम्बोधन गर्न सकेका छैनौं । त्यसैले राज्य सञ्चालनको विषयमा कांग्रेसले आफ्नो धारणा राख्छ ।’

अहिले पार्टीको तल्लो संरचनादेखि नै महासमिति बैठकले पास गर्नुपर्ने नीतिगत र संगठनात्मक विषयहरुमा छलफल चलाइरहेको केन्द्रीय सदस्य मधु आचार्य बताउँछन् ।

कांग्रेस रुपान्तरण अभियानको अगुवाइ गरिरहेका आचार्यले तल्लो तहबाट उठेको विषय पार्टी संरचनाबाटै लैजाने प्रयास हुने बताए ।

उनले भने, ‘बैठकमा पार्टीको सदस्यता खुला गर्ने, खुला सदस्यहरुले नै पार्टीको नेतृत्व चयन गर्ने र पार्टीका सदस्यहरुले मतदान गरेर विभिन्न तहका उम्मेदवार निर्धारण गर्ने विषयमा प्रस्ताव आउँछन् ।’

उनले महासमितिको बैठकमा पार्टीबाट पदेन व्यवस्था हटाउन पहल गर्ने बताए ।

‘यहाँभन्दा अगाडिको महासमितिको बैठकले स्वीकार गरेको तर पछि केन्द्रीय समितिको बहुमतले पारित नगरेको पार्टीको जुनुसुकै पदमा पनि पदेन हुने व्यवस्था हटाउनुपर्छ भनेर लागिरहेका छौं’, नेता आचार्यले भने, ‘जुनसुकै पदमा भए पनि अनिवार्य निर्वाचित भएर आउनुपर्ने, अघिल्लो महाधिवेशनमा प्रतिनिधि भएका केन्द्रीय सदस्य तथा कुनै पदाधिकारीहरु पदेन हुने, पुनः अनुमोदित भएर आउन नपर्ने भन्ने व्यवस्था अलोकतान्त्रिक हो । त्यसलाई खारेज गर्नुपर्ने निर्वाचित भएर आउनुपर्छ । त्यसलाई पारित गर्नुपर्छ, गर्छ ।’

उनले बैठकमा प्रचण्ड सरकारको बारेमा पनि निर्णय लिने जिकिर गरे । अहिले संस्थापन पक्ष आलोपालो सहमतिअनुसार यही सरकारको निरन्तरताको पक्षमा छ । तर, डा. शेखर कोइराला र महामन्त्री गगन थापासहित इतर पक्षका नेताहरुले सरकारको विकल्प खोज्न दबाब बढाइरहेका छन् ।

उनी थप्छन्, ‘समसामयिक विषयमा सरकारको निरन्तरता रहने नरहने, कुन कुन कुरामा सुधार गरेर जानुपर्छ भनेर राजनीतिक प्रतिवेदनमा आउँछ ।’

बैठकमा निर्वाचन प्रणालीदेखि हिन्दू राष्ट्रसम्म छलफल हुने नेता आचार्यले बताए । उनले भने, ‘समानुपातिक व्यवस्थामा पनि प्रश्न उठेको छ । त्यसका लागि संविधान नै संशोधन गर्नुपर्छ । समानुपातिक र समावेशी गर्ने कुरामा राष्ट्रियसभालाई समानुपातिक तर्फबाट जाने, प्रतिनिधिसभाको संरचनालाई पनि समावेशी बनाउने भन्ने किसिमको कुरा पार्टीभित्र बहस भइरहेको छ । यो बैठकमा यसबारे पनि बलियो छलफलको एजेण्डा आउँछ ।’

प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नुपर्ने उनी सुनाउँछन् । उनी थप्छन्, ‘प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित बनाउँदा पनि सीटहरुमा समावेशी गर्न सकिन्छ । राष्ट्रियसभामा समानुपातिक हुने भए पनि एउटा व्यक्तिले एक पटकभन्दा बढी अवसर नपाउने व्यवस्था गर्नुपर्छ । सधैं एउटै व्यक्ति पटक पटक पाइराख्ने, अरुहरुले कहिल्यै नपाउने स्थितिको अन्त्य गर्नुपर्छ । समानुपातिकमा एक पटकमात्रै नियुक्ति पाउने व्यवस्था कामय हुनुपर्छ भन्ने संशोधनको लागि कुरा उठ्छ ।’

कांग्रेसभित्र बहस चलिरहेको संघीयताको विषयमा पनि बैठकमा छलफल हुने नेता आचार्यले बताए । उनले भने, ‘संघीयताबारे छलफल त हुन्छ । तर, यसको औचित्य, आवश्यककता, फाइदा, अहिलेसम्मको अभ्यासको विषय छन् । तर, अहिलेसम्म पनि अझै संघीयता अभ्यासमा आइनसकेको भन्ने अर्को दह्रो मत छ । त्यसैले यसबारे अर्को कुनै निर्णय तत्काल लिँदैन ।’

संघीयता भनिए पनि सबै कुरा केन्द्रमुखी भएको विषयमा ध्यानाकर्षण हुने उनको भनाइ छ । नेता आचार्य भन्छन्, ‘प्रदेशले अधिकारको अभ्यास गर्न पाएको छैन । स्थानीय तहले पनि अधिकार पाएको छैन । छलफल भए पनि संघीयताको आवश्यकता छैन भन्ने ठाउँमा अहिले नै पुग्दैन ।’

यस्तै, बैठकमा हिन्दू राष्ट्रको विषयमा पनि नेताहरुले कुरा उठाउने बताए । कांग्रेस रुपान्तरण अभियानका नेता आचार्यले भने, ‘हिन्दू राष्ट्रबारे यसभन्दा अगाडि पनि यो प्रस्ताव आएको हो । त्यसबेला पनि ६-७ सय महासमिति सदस्यले हस्ताक्षर गरेर बुझाएको हो । त्यसबारे औपचारिक रुपमा छलफल भएन । यो पटक पनि यो आवाज उठ्छ ।’

त्यसो त असोज पहिलो साता बसेको केन्द्रीय समितिको बैठकमा शंकर भण्डारीले विगतको महासमितिको बैठकमा हिन्दू राष्ट्रको पक्षमा पार्टीलाई उभ्याउनुपर्ने माग गरेका थिए ।

उनले भनेका थिए, ‘विगतको महासमितिको बैठकमा हामीले उपस्थित संख्याको बहुमत सदस्यले वैदिक सनातन हिन्दू सापेक्ष राष्ट्र हुनुपर्छ भनेर लेखेर दिएको कुरा सभापतिले थन्काउनुभएको छ । म महामन्त्रीहरुलाई आग्रह गर्न चाहन्छु, हामी पनि पार्टीबाट निर्वाचित सदस्यहरु हौं । देशभर पार्टीका साथीहरुको आवाज हो । आगामी महासमितिको बैठकमा यसलाई मूल एजेण्डाको रुपमा अगाडि ल्याउनुहोला । नत्र धेरै अप्ठेरो पर्नेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर