रिगलको आममाफीको विरोधप्रति विद्वानको आपत्ति- परिवर्तनको रक्षा गर्दा पहिला तरुण दलमाथि आक्रमण हुन्छ – Nepal Press

रिगलको आममाफीको विरोधप्रति विद्वानको आपत्ति- परिवर्तनको रक्षा गर्दा पहिला तरुण दलमाथि आक्रमण हुन्छ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले राजनीतिक परिवर्तनहरूको रक्षा गर्दा बारम्बार तरुण दलमाथि प्रहार हुने गरेको टिप्पणी गरेका छन् ।

आइतबार केन्द्रीय सदस्यहरूको प्रतिज्ञा (शपथ) कार्यक्रममा उनको सम्बोधन नेपालगञ्जका नेता योगराज ढकाल ‘रिगल’ को आममाफीको चौतर्फी विरोधप्रति लक्षित थियो । गुरुङले तरुण दलमाथि आक्रमण र प्रहारहरूबाट आफूहरू विचलित नहुने बताएका छन् ।

उनले संविधान र कानूनअनुसार सिफारिस भएर बाँकी कैद मिनाहा भएको विषयमा विवाद गरेको भन्दै असन्तुष्टि जनाए ।

‘नेपालमा परिवर्तन हुँदा प्रतिगामीहरूले सबैभन्दा पहिलो प्रहार नेपाल तरुण दलमाथि हुने गरेको छ’, उनले भने, ‘विगतका उदाहरणले पनि त्यो देखाएको छ ।’

‘शिव पौडेलको जेलभित्र हत्या हुँदा केपी ओली प्रधानमन्त्री भएका बेला युवा संघका नेतालाई बाँकी कैद मिनाहा र आममाफी दिइएको छ’, गुरुङको जिकिर छ ।

पूर्वअध्यक्षद्वय बालकृष्ण खाण र महेन्द्र यादवमाथि पनि आक्रमण भएको भन्दै उनले देशमा राज्य छ कि छैन ? भनेर प्रश्न गरेका छन् । शपथ लिएका सबै तरुणहरूलाई नेपाली कांग्रेसलाई बलियो बनाउन र लोकतन्त्रको रक्षाका लागि लाग्न उनले निर्देश दिए ।

उक्त कार्यक्रममा कांग्रेस सहमहामन्त्री तथा तरुण दलका पूर्वअध्यक्ष महेन्द्र यादव, पूर्वअध्यक्षहरू उदयशम्शेर राणा, जीतजंग बस्नेत, विनोद कायस्थ, पूर्वउपाध्यक्ष उत्तम चापागाईँ, पूर्वसचिव तथा लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक जन्मजय तिमिल्सिना, कांग्रेस केन्द्रीय सदस्य राधा घलेलगायत उपस्थित थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर