आर्थिक मन्दी लयमा आउँदैछ, निराश हुनुपर्ने छैन: चन्द्र ढकाल – Nepal Press

आर्थिक मन्दी लयमा आउँदैछ, निराश हुनुपर्ने छैन: चन्द्र ढकाल

रुपन्देही । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको अर्थतन्त्रमा देखिएको मन्दी कुनै सरकार वा नीति क्षेत्रका कारण मात्र नआएको बताएका छन् ।

उनले अब मन्दी विस्तारै लयमा आउने विश्वास व्यक्त गर्दै अहिले बजारमा देखिएको मन्दी विश्वभर रहेको बताए ।

बुटवल उद्योग वाणिज्य संघको शुक्रबार सुरु भएको ७०औं वार्षिक साधारणसभा तथा २५औं अधिवेशनमा बोल्दै अध्यक्ष ढकालले भने, ‘पर्यटकहरु आउने संख्या बढ्दै गएको छ । बैंकहरु लगानी गर्न इच्छुक देखिएका छन् । अब केही सुधारको संकेत देखिँदैछ । जग्गा कित्ता खुल्नासाथै मौद्रिक नीतिमा पनि सुधार भएको छ । अब आत्तिइहाल्नुपर्ने अवस्था छैन ।’

पछिल्लो समय युवाहरु विदेश पलायन भए पनि नेपालमा सम्भावना धेरै रहेको ढकालको भनाइ छ । उनले यहाँ रहेका सम्भावनाका विषयमा गहिरो अध्ययन र लगानीको वातावरण बनाउनुपर्ने बताए ।

आफू शून्यबाट उठेर विभिन्न व्यवसायिक घरानाको नेतृत्व गरेको स्मरण गर्दै उनले सम्भावनाको पहिचान गर्न नसक्दा पनि नेपालमा नयाँ कार्य केही हुन नसकेको औंल्याए ।

खाली स्थान, अनकन्टार ठाउँ जहाँ पनि सम्भावना रहेको तर काम गर्ने इच्छा शक्ति नहुँदा विदेश पलायन हुनेहरु धेरै भएको उनले बताए ।

कालीगण्डकी कोरिडोरले कोरोला नाका पुगेमा यस क्षेत्रको मात्र नभई समग्र देशको आर्थिक चलायमान गर्ने सम्भावना रहेको उनको भनाइ छ ।

उद्योगीहरुले भोग्दै आएको ट्रंकलाइनको विषय प्रधानमन्त्री स्तरसम्म पुगेर छलफल भइरहेको बताउँदै अध्यक्ष ढकालले व्यवसायीहरुले विद्युत उपयोग नगरेको अवस्थामा जरिवाना तिर्न प्राधिकरणबाट ताकेता आएपश्चात यो विषय प्रधानमन्त्री, जलस्रोत मन्त्री, विद्युक्त प्राधिकरणका प्रतिनिधिहरुसहित छलफल भएको र लाइन काट्ने निर्णय तत्काल रोक्न सकिएको जनाए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याललगायतले आर्थिक चलायन गराउन निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको बताएका थिए ।

बुटवल उद्योग वाणिज्य संघको २५औं अधिवेशनबाट नयाँ नेतृत्वका लागि हरि अर्याल र दिनेशप्रसाद श्रेष्ठ प्यानल बनाएर चुनावी मैदानमा छन् । अर्याल यसअघिका पनि प्रतिस्पर्धी हुन् भने श्रेष्ठ अहिले वरिष्ठ उपाध्यक्ष हुन् ।

दुवै नेपाली कांग्रसका नेतासमेत रहेकाले उनीहरुको प्रतिस्पर्धा रोचक बनेको छ । कांग्रेसको संस्थापन समूहमा रहेका अर्याल कांग्रेस रुपन्देही कोषाध्यक्ष हुन् भने इतर समूहका श्रेष्ठ क्षेत्रीय प्रतिनिधि हुन् । अर्याललाई एमाले, राप्रपा तथा रास्वपाका व्यवसायीहरुले साथ दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर