प्रचण्डलाई शेखरको प्रश्नः हाम्रो पनि प्रधानमन्त्री हो, कसका विरुद्ध लाखौं मानिस सडकमा उतार्नुहुन्छ ? (भिडिओ) – Nepal Press

प्रचण्डलाई शेखरको प्रश्नः हाम्रो पनि प्रधानमन्त्री हो, कसका विरुद्ध लाखौं मानिस सडकमा उतार्नुहुन्छ ? (भिडिओ)

रुपन्देही । आफ्नै पार्टीको समर्थनमा बनेको सरकारविरुद्ध निरन्तर बोल्दै आएका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चामार्फत लाखौं मानिस सडकमा उतार्ने विषयमा बोलेको अभिव्यक्तिको कडा आलोचना गरेका छन् ।

कसको विरुद्ध मानिस सडकमा ल्याउने प्रश्न गर्दै उनले प्रचण्डले दुई महिनाभित्र दुई लाख मानिस सडकमा जम्मा गर्ने अभिव्यक्तिमा आपत्ति जनाए ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ४ को क्षेत्रीय सम्मेलनलाई बिहीबार मायादेवी गाउँपालिका- ६ स्थित बेथरीमा सम्बोधन गर्दै डा. कोइरालाले भने, ‘प्रचण्ड पार्टीको अध्यक्षमात्र भएको भए मैले यो कुरा स्वीकार्थें । तर, उहाँ तपाईं हाम्रो प्रधानमन्त्री पनि हुनुहुन्छ । देशको प्रधानमन्त्रीले कसको विरुद्ध मानिस सडकमा ल्याउने ?’

प्रधानमन्त्री प्रचण्डले २०८४ मा माओवादीलाई जिताउ जातीय राज्य दिन्छु भनेको भन्दै उनले आपत्ति व्यक्त गरे । उनले भने, ‘हामी जातीय राज्यमा जान सक्दैनौं । नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक मुलुक हो । यहाँ कुनै जातजातिको बाहुल्य छैन । पहिला पनि मुलुकलाई जातीय राज्यमा लग्न खोजेकै हुन् । तर, सकेनन् ।’

उनले मुलुकमा अराजकताको पराकाष्ठाले सीमा नाघेको बताए । कांग्रेस ९ मन्त्रालयसहित सरकारमा रहे पनि संसदीय व्यवस्थामा प्रधानमन्त्रीले जे भन्यो त्यही हुने उनको भनाइ छ ।

नेता कोइरालाले मुलुकको विकासका लागि कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेकोमा भन्दै वर्तमान सरकार सच्चिनुपर्नेमा जोड दिए ।

उनले २०८२ मंसिरभित्र कांग्रेसको महाधिवेशन हुने गरी लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे । उनले सभापति पदमा पराजित भए पनि पार्टी सभापतिसँग आफ्नो सौहादपूर्ण सम्बन्ध रहेको बताए ।

‘विधि र विधानसम्मत अगाडि बढ्नुपर्ने हाम्रो माग हो, ४० प्रतिशत भाग खोजेका छैनौं’, उनले भने, ‘पुराना र लामो समयदेखि योगदान पुर्‍याउने मान्छेलाई पाखा लगाउने र नयाँ मान्छेलाई केन्द्रीय सदस्य बनाउने हो भने यसले कांग्रेसलाई कमजोर बनाउँछ । पार्टीमा गुट-उपगुट हुने र ऊर्जाका लागि पनि त्यो आवश्यक भए पनि गुट-उपगुटले एकापसमा कुरा हुन नै बन्द हुनु भने गलत छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर