कांग्रेसलाई बाहिर राखेर सरकार बनाउन सकिँदैन, कोही मुख मिठ्याएर बस्ने होइन : माधव नेपाल – Nepal Press

कांग्रेसलाई बाहिर राखेर सरकार बनाउन सकिँदैन, कोही मुख मिठ्याएर बस्ने होइन : माधव नेपाल

'कोशीमा गठबन्धनको विकल्प खोज्दैनौं'

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गर्नुको औचित्य आफूहरूले पुष्टि गरिसकेको दाबी गरेका छन् ।

समाजवादी प्रेस संगठन मधेश प्रदेशले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली जनताको भावना, चाहानालाई बुझ्ने पार्टी एकीकृत समाजवादी नै भएको जिकिर गरे ।

उनले भने, ‘हामीले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी निर्माण गरेको पुष्टि त्यतिबेला नै भइसकेको हो । जुन बेला केपी ओलीले संसद विघटन गरे । संविधान मिच्ने काम गरे । त्यसलाई असफल पारेर हामीले राजनीतिक कोर्ष करेक्सन गरेका थियौं । आज हामीले मेचीबाट समाजवादी जागरण अभियान सुरू गरेका छौं । जनताको दुःख सुख, अवस्था, समस्या के छन् ? अब कसरी अगाडि बढ्ने भनेर जनताको बीचमा आएका हौं ।’

उनले कांग्रेसलाई बाहिर राखेर सरकार बनाउने कुनै तयारी नभएको स्पष्ट पारे ।

नेपालले भने, ‘अरु कुनै सरकारको, अरु कुनै मान्छेले मुख मिठ्याउनु आवश्यक छैन । अहिले हाम्रो सहमतिबाट पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुहुन्छ । उहाँले केही राम्रा काम पनि गर्न खोज्नुभएको छ । तर, त्यो पर्याप्त भएन । त्यसको निम्ति हामीले उहाँलाई सहयोग पनि गर्नुपर्छ । उहाँलाई दबाब पनि दिनुपर्छ । उहाँलाई उत्प्रेरित पनि गर्नुपर्छ । यसको निम्ति गठबन्धनको तर्फबाट हाम्रो पार्टी सहयोगी भुमिका निभाउन वा आवश्यक प्रभावकारी भुमिका खेल्न तयार छ ।’

उनले थपे, ‘को प्रधानमन्त्री बन्छ भनेर मुख मिठ्याएर बस्ने होइन, कहिले आउँछ भनेर ढुकेर बस्ने होइन । अहिले भएको सरकारलाई अघि बढाउने हो । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा यो सरकारलाई अघि बढाउने पक्षमा हुनुहुन्छ । हामी पनि यो सरकार अघि बढाउने पक्षमा छौं । कमजोर र असहयोग गर्ने पक्षमा छैनौं, कांग्रेसविनाको सरकारको त कल्पनै गर्न सकिँदैन । अहिलेको संरचना जुन छ, शक्ति सन्तुलन छ, यो शक्ति सन्तुलनभित्र नेपाली कांग्रेस अपरिहार्य हुन्छ । हाम्रो पार्टीले त झन छोड्ने कुरै आउँदैन ।’

उनले कोशीमा पनि पार्टीले गठबन्धन सरकारलाई असर पर्ने गरी अर्को गठबन्धन नबनाउने बताए ।

उनले सामाजिक सद्भाव खलबलिने काममा नलाग्न सबैलाई अपीलसमेत गरे । अशान्ति मच्चाउने मनसायले देशका विभिन्न भू-भागमा सामाजिक सद्भाव प्रतिकूलका क्रियाकलाप भइरहेका प्रति चिन्ता व्यक्त गर्दै त्यस्ता संविधानविरोधी काममा नलाग्न सबैलाई आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर