८८ लाख डलरका शंकास्पद ‘मालवस्तु’ आएपछि भन्सारको पत्राचार, अनि खुल्यो टेरामक्सको अर्बौं भ्रष्टाचार – Nepal Press

८८ लाख डलरका शंकास्पद ‘मालवस्तु’ आएपछि भन्सारको पत्राचार, अनि खुल्यो टेरामक्सको अर्बौं भ्रष्टाचार

ट्याक्स हेभनबाट आएका अधिक मूल्यका शंकास्पद सामान रोकेपछि उच्चपदस्थले दिएका थिए छुटाउन दबाब, भन्सारले अख्तियार र राजस्व अनुसन्धानलाई माघमै छानबिन गर्न पत्राचार गरेको खुलासा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले जडान गर्न लागेको टेरामक्स प्रविधि खरिदमा अर्बौं रकम भ्रष्टाचारको आशंकामा भन्सार विभागले ९ महिनाअघि नै राज्यका संवैधानिक र नियामक निकायमा पत्राचार गरेको खुलेको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले २०७९ माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभागलगायतका निकायलाई पत्र लेखेर प्राधिकरणले झिकाएका सामानको मूल्य अस्वाभाविक देखिएकाले छानबिन आवश्यक देखिएको जनाएको थियो ।

नेपाल प्रेसलाई प्राप्त सो पत्रमा भन्सार जाँचपासका क्रममा शंका लागेकाले छानबिन हुन आवश्यक देखिएको भन्दै भन्सार जाँचपासको समयमा पेश भएको कागजातसमेत संलग्न गरेर पठाइएको उल्लेख छ ।

थप याे पनि पढ्नुस् : टेरामोक्स प्रकरणमा अख्तियार पस्यो- प्राधिकरणका वर्तमान र पूर्व २० पदाधिकारीसँग बयान (सूचीसहित)

भन्सार विभाग स्रोतका अनुसार त्यसबेला शंका लागी करिब चार महिनासम्म करिब ८८ लाख डलर मूल्य घोषणा गरिएका ती सामान रोकिएको थियो । सामान छुटाउन तत्कालीन उच्चपदस्थ अधिकारीहरुले विभागलाई दबाब दिएका थिए ।

विभागले नामै नसुनिएका सामानको मूल्य अस्वाभाविक देखिएपछि आफ्नै तर्फबाट समेत छानबिन गरेको थियो । यसमा ठूलो आर्थिक घोटालाको आशंका देखिएपछि ३२ करोड धरौटी प्राधिकरणसँग मागेर ती सामान फुकुवा गरिएको स्रोतले जनाएको छ ।

धरौटी मागिएकोविरुद्ध प्राधिकरण अदालत गएको छ । भन्सार विभागले विदेशी मुद्रा अपचलनमा राजस्व अनुसन्धानलाई समेत छानबिन गर्न पत्र पठाएको थियो । अख्तियारले भन्सारको सो पत्रसमेतका आधारमा छानबिन अन्तिम चरणमा पुर्‍याएको छ ।

भन्सारले यस्ता प्रकृतिका सामान यसअघि सो मूल्यमा घोषणा भई आयात भएको नदेखिएको र निर्यातकर्ता साइप्रसमा दर्ता भएको अफसोर कम्पनी भएको देखिएपछि छानबिन आवश्यक ठानेको थियो । ट्याक्स हेभनमा दर्ता भएको कम्पनीबाट सामान आयात भएको तथा मालवस्तुको अधिक बिजीकरण गरी घोषणा भएकाले विभागले यसलाई सम्भावित ठूलो स्क्यामका रुपमा लिएर सबै निकायमा पत्राचार गरेको अधिकारीहरु बताउँछन् ।

याे पनि पढ्नुहाेस्-टेरामक्स खरिदको व्यवसायिक पक्ष र भुक्तानी प्रणालीमा खुलेआम अनियमितता, यसरी हुँदैछ अर्बौंको अनियमितता

भन्सार कार्यालयमा ती सामान गत वर्ष भदौ २१ गते नै दर्ता भएको M45866 नम्बर अनुसार निर्यातकर्ता भ्यानराइज सोलुसन लेबनान र आयातकर्ता नेपाल दूसञ्चार प्राधिकरण उल्लेख छ ।

सो प्रज्ञापनपत्रअनुसार एउटा सानो भ्यानमा अट्ने सामानहरुको अपत्यारिलो मूल्य थियो । ८८ लाख १२ हजार ८८६ डलरका सामानमा भन्सारले पहिलो दृष्टिमै गडबडी देखेको थियो ।

राज्यकोषको दोहन, कानूनी राज्यमाथि नै चुनौती !

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा गत २०७९ साल भदौ २१ (६ सेप्टेम्बर, सन् २०२२) मा दर्ता भएको M45866 नं अनुसार निर्यातकर्ता Vanrise Solution Lebanon र आयातकर्ता नेपाल दूरसञ्चार प्राधिकरण भएको प्रज्ञापनपत्रअनुसार v-probe server appliance for voice and sms traffic unit 109 वटाको मूल्य US डलर ८७,११,२८६, laptop and Accessories 2 Sets को मूल्य जम्मा US डलर १,००,००० र cell phone ८ थानको मूल्य US डलर १,६०० गरी जम्मा US डलर ८८,१२,८८६ घोषणा गरी भन्सारमा जाँचपासका लागि पेश गरेकोमा त्यस्ता प्रकृतिका सामान यसपूर्व सो मूल्यमा घोषणा भई आयात भएको नदेखिएको र निर्यातकर्ता साइप्रसमा दर्ता भएको Non Residen Company (off shore) भएकोले यसरी Tax Heaven मा दर्ता भएको कम्पनीबाट सामान आयात भएको तथा मालवस्तुको मूल्य अधिक बिजीकरण गरी घोषणा गरेको शंका लागेकोले भन्सार ऐन, २०६४ को दफा १३ (२०) अनुसार छानबिन हुन आवश्यक भएको व्यहोरासहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयले मिति २०७९/१०/१० मा राजस्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अर्थ मन्त्रालय, भन्सार विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंकलगायतका संस्थाहरुमा लिखित रुपमा अनुरोध भएको पाइएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको पत्रमा भनिए झैं Tax Heaven मा दर्ता भएको कम्पनीबाट गैरकानूनी रुपमा नेपाल दूरसञ्चार प्राधिकरणले सम्झौता गरेको संस्थाको मुलुक Lebanon भन्दा बाहिरबाट सामान आयात भएको देखिन्छ । Tax Heaven साइप्रसबाट सामान आयात गरिरहँदा नेदूप्राले Lebanon को Vanrise Solution सँग गरेको सम्झौतामा सामान उत्पादक राष्ट्रको नामसमेत उल्लेख भएको देखिँदैन, जसलाई हामी चलनचल्तीको भाषामा Original Equipment Manufacturer (OEM) Country भन्ने गर्दछौं- त्यो नै सम्झौतामा नदेखिनु र त्रिभुवन विमानस्थल भन्सार कार्यालयले भने झैं Tax Heaven राष्ट्रबाट अस्वाभाविक तथा मालवस्तुको मूल्य अधिक बिजीकरण गरी खरिद गर्न खोजेको हुँदा TERAMOCS को खरिदमा व्यापक अनियमितता एवं भ्रष्टाचार भएको आशंका थपिएको छ ।

यसरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयले मिति २०७९/१०/१० मा निगरानी तथा अनुसन्धान निकायहरुलाई अनुसन्धानको लागि पत्राचार गरेपश्चात TERAMOCS को आपूर्तिकर्ता परामर्शदाता Vanrise Solution तीन महिनाभन्दा बढी अवधिसम्म सामान छुटाउन नआएपछि नेपाल दूरसञ्चार प्राधिकरणले साविकको Harmonic Code (नेटवर्किङ  १५ प्रतिशत भन्सार महशुल) लाई परिवर्तन गरी नयाँ Harmonic Code (सर्भरः ५ प्रतिशत भन्सार महशुल) परिवर्तन गर्न भन्सार पुगेको तर भन्सारले इन्कार गरेपश्चात नेपाल दूरसञ्चार प्राधिकरणले ३२ करोड नेपाली रुपैयाँ तिरी उपरोक्त सामानहरु भन्सार छुट गरी गरेको र यसरी भन्सार छुटाउने कार्यमा सञ्चार मन्त्रालय, अर्थ मन्त्रालयलगायतका निकायबाट ठूलै दबाब दिइएको त्रिभुवन विमानस्थल भन्सार कार्यालय स्राेतले बतायो ।

याे पनि पढ्नुस् : टेरामक्ससँग नेपाल टेलिकम सशंकित, ग्राहकको गोपनीयता जोगाउन खोज्दा प्राधिकरणको धम्की !

माथि उल्लेख गरिए झैं नेपाल दूरसञ्चार प्राधिकरणले ३२ करोड नेपाली रुपैयाँ तिरी TERAMOCS का सामानहरु भन्सार छुट गरी बुझिलगेको पाइएकोमा प्राधिकरण र Vanrise Solution को बीच भएको सम्झौताको Lump-Sum कन्ट्रयाक्टको Clause 40. Taxes and Duties को subclause 40.1 मा “The Consultant, Sub-consultant and Experts are responsible for meeting any and all tax liabilities arising out of the Contract”. भनी स्पष्ट भएकोमा Consultant: Vanrise Solution ले तिर्नुपर्ने भन्सार शुल्क रू. ३२ करोड प्राधिकरणले तिरेको हुँदा यसमा राज्यकोषको हानिनोक्सानी गरिएकोले यस कार्यमा संलग्न प्राधिकरण तथा अन्य निकायमा जिम्मेवार पदाधिकारीमाथि तत्काल भ्रष्टाचारको छानबिन हुनुपर्ने समेत प्रस्ट देखिएको छ ।

एकातिर परामर्शदाता विदेशी संस्था हुँदाहुँदै र आपूर्ति गरिने (Hardware+Software) विदेशबाट आयात हुने जान्दाजान्दै Contract रकमको ५२ प्रतितश रकम Consultant: Vanriseलाई नेपालभित्रै नेपाली मुद्रामा नै भुक्तानी गर्ने सम्झौता गर्नु र अर्कातिर Consultant: Vanrise Solutionले तिर्नुपर्ने भन्सार शुल्क रू. ३२ करोड प्राधिकरणले तिर्नु संयोगमात्र हुन सक्दैन ।

 

प्राधिकरणले गरेको TERAMOCS खरिदको सम्झौताको रकम अत्यन्त ठूलो भएको तर त्यसमा खरिद हुने Software (USD 5,200,000) तथा Hardware (USD 11,432,470) हरुको लगत इष्टिमेटसमेत तयार नगरी एकमुष्ठ Lump-Sum Contract भनी USD 23,770,000 भनी एकमुष्ठ उल्लेख हुनुले पनि TERAMOCS खरिदमा व्यापक अनियमितताको संकेत गरेको जानकारहरु बताउँछन् । यो प्रकरणको छानबिनलाई छिटो निष्कर्षमा पुर्‍याउन तथा संलग्न दोषीहरुउपर कडाभन्दा कडा कानूनी कारबाहीको लागि Nepalpress निरन्तर लागिरहने छ ।

याे पनि पढ्नुस् (भाग १) : टेरामक्स खरिदमा त्रुटिको चाङ, सर्वोच्चको आदेश अवज्ञादेखि राष्ट्रसंघीय प्रतिवन्धको उल्लंघन

थप याे पनि पढ्नुस् : खुफिया एजेन्सी बन्न खोज्दै प्राधिकरण, टेरामक्स लागू भए यसरी चुहिनेछ व्यक्तिको गोप्य कुराकानी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर