एमाले बागमती प्रदेश अधिवेशन : सहमतिको नाउँमा गलाएर छाड्ने ‘मूड’ मा नेतृत्व – Nepal Press

एमाले बागमती प्रदेश अधिवेशन : सहमतिको नाउँमा गलाएर छाड्ने ‘मूड’ मा नेतृत्व

काठमाडौं । गत असोज ८ गतेबाट काठमाण्डौंमा जारी नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम निरन्तर परिवर्तन हुँदै आएको छ । चार दिनबाट प्रदेश कमिटि चयन गर्नको लागि बागमतीको १३ जिल्लाबाट काठमाण्डौँ आएका ११ सय ६७ प्रतिनिधिहरु दिनभर पार्टी केन्द्रीय कार्यालय च्यासल वरपर चिया पिउँदै, गफिदै बस्न बाध्य रहेका छन् ।

अधिवेशनको पहिलो दिन एमाले अध्यक्ष केपीशर्मा ओलीले सकेसम्म सहमति नत्र निर्वाचनको विधिबाट पार्टीको प्रदेश नेतृत्व चयन गर्नको लागि निर्देशन दिइसकेका छन् । तर निर्वाचन कार्यक्रम गर्ने जिम्मा पाएको अध्यक्ष मण्डलले भने सहमतिको नाउँमा प्रत्येक दिन कार्यसूचि परिवर्तको लागि निर्वाचन समितिलाई आदेश दिएपछि प्रतिनिधिहरुमा निराशा छाएको छ ।

दुई दिनको लागि तयर गरिएको प्रदेश अधिवेशनमा सहभागिता जनाउन काठमाडाैं आएका प्रतिनिधिहरु केन्द्रीय नेतृत्वले सहमतिको लागि गरेको असफल प्रयासको कारण दिक्क बनिसकेका छन् ।

आफूले चाहेको ब्यक्ति प्रदेशको नेतृत्व सहित पदाधिकारीमा आउनुपर्ने केन्द्रीय नेतृत्वको सोचको कारण आफुहरुको काठमाण्डौँ बसाई लामो र दिक्दारलाग्दो भएको एकजना प्रतिनिधले बताए । लामो समयसम्म काठमाडौं बस्दा आर्थिक भार परिसकेको उनको भनाई रहेको छ ।

गलाएरै छाडने ‘मूडमा’ नेतृत्व

अधिवेशन सुरु भएको चार दिन बितिसक्दा समेत सहमति हुन नसकेपछि अहिले एमाले महासचिव शंकर पोखरेल अधिवेशनको निर्वाचन स्थल समेत रहेको एमाले पार्टी कार्यालय च्यासल आएका छन् ।

उनले अध्यक्षको उम्मेद्वारबीच सहमतिको प्रयास भन्दै केहि छलफल समेत गरे । उनको आग्रहपछि अध्यक्षका उम्मेद्वारहरु सानुकुमार श्रेष्ठले उम्मेदवारी फिर्ता गरेका छन् । तर अध्यक्षका उम्मेद्वार कृष्ण दाहाल, कैलाश ढुंगेल र केशरबहादुर बुढाथोकीबिच निर्वाचन हुने लगभग निश्चित देखिएको छ ।

अन्य पदाधिकारीबीच पनि सर्वसम्मतको संभावना निकै न्यून देखिएको छ । सदस्यको विभिन्न क्लस्टरमा भने केहि निर्विरोध भएको छ भने केही जिल्लाको भूगोल तर्फ सदस्यहरु निर्विरोध भएका छन् । तर त्यसको आधिकारीक घोषणा भने भएको छैन ।

एमाले केन्द्रीय नेतृत्व भने आज रातभर बसेर भएपनि सबै पदमा सर्वसम्मतको प्रयासमा लाग्नेछन् । हाल महासचिवले उक्त विषयको नेतृत्व गरेका छन् तर आवश्यक परे एमाले अध्यक्ष केपी शर्मा ओली आफैं आउने या निर्देशन दिने संभावना समेत रहेको श्रोतको दाबी छ । तर अध्यक्षका तीनजना उम्मेद्वारले भने निर्वाचनको लागि आफूहरु तयार रहेको संकेत दिइसकेका छन् । उपाध्यक्ष, सचिव तथा उपसचिवका उम्मेद्वारहरु पनि गल्ने मनस्थितिमा छैनन् ।

निर्वाचन कार्यक्रम भोलि 

यदि आज रातभरी सहमति नभएको अवस्थामा भोलि बिहान ८ बजेबाट च्यासलमा विधुतिय मतदान हुने भएको छ । मतदान पश्चात सोही स्थानमा मतगणना तथा विजेताहरुलाई प्रमाणपत्र दिने कार्यक्रम रहेको छ । अधिकांश जिल्लाको भूगोल तथा अन्य क्लस्टरमा सहमति भएको कारण पदाधिकारी र खुल्ला सदस्यमा मात्र मतदान हुने संभावना उच्च रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर