हिलटेकले उद्योग विभागलाई नै झुक्याएर अर्कैको पेटेण्ट, डिजाइन र ट्रेडमार्क लिएको दाबीसहित उजुरी – Nepal Press

हिलटेकले उद्योग विभागलाई नै झुक्याएर अर्कैको पेटेण्ट, डिजाइन र ट्रेडमार्क लिएको दाबीसहित उजुरी

काठमाडौं । हिलटेक प्लाष्टिक एण्ड पाइप इण्डस्ट्रिज प्रालिले अरुको उत्पादनलाई आफ्नो नयाँ अनुसन्धान भन्दै पेटेण्ट, डिजाइन र ट्रेडमार्क दर्ता गरेको भन्दै उद्योग विभागमा उजुरी पाइएको छ ।

नेपाल निर्माण सामाग्री व्यापार संघ काठमाडौंले हिलटेकले विदेशी उत्पादनलाई नेपाली भनी आफ्नो नाममा दर्ता गरी मूल्यवृद्धि गराई बिक्री गरेको उजुरीमा उल्लेख गरेको छ । विभागलाई नै झुक्याएर आफ्नो नाममा दर्ता गराएको संघको जिकिर छ ।

‘हाल हिलटेक प्लाष्टिक एण्ड पाइप इष्ट्रिज प्रालीले दूषित मनसाय राखी उद्योग विभागमा आफूले नयाँ अनुसन्धान गरेको भनी डबल वाल कोरुनगेटेड पाइपको डिजाइन दर्ता गरेको छ । उक्त उत्पादन अन्य कम्पनीलाई उत्पादन गर्न रोक्न खोजेको भन्ने थाहा हुन आएको हुँदा हामी व्यवसायीलाई मूल्य बढी तिर्नुपर्ने हुन्छ । साथै, उपभोक्तालाई पनि बढी मूल्य पर्न आउछ । यसरी हिलटेकले १५/२० वर्षदेखि बजारमा आइरहेको उत्पादनलाई आफ्नो मौलिक उत्पादन भनि उद्योग विभागलाई समेत झुक्क्याइ दर्ता गरी एकाधिकार गर्ने उद्देश्य राखी दर्ता गरेको डिजायन दर्ता खारेज गरिदिनहुन अनुरोध गर्दछौं,’ संघले विभागमा हालेको उजुरीमा उल्लेख छ ।

आईएसओको आधारमा राष्ट्रको सम्पत्तिको रुपमा नेपाल गुणस्तर तथा नापतौल विभागले तयार गरेको नेपाल गुणस्तर नम्बर ५९५ को प्रालेखमा स्पष्ट उल्लेख गरी डबल वाल कोरुनगेटेड पाईपको लम्बाई, चौडाई लगायतका मापदण्ड निर्धारण गरेको छ । तर, उद्योग विभागमा हिलटेकले पाइपको लम्बाई चौडाईलगायतका विषयहरु समेत डिजाइनको रुपमा आफ्नो नाममा दर्ता गरेको बताइएको छ ।

नेपालमा हालसम्म उत्पादनको प्रक्रियामा नै प्रवेश नगरेको पीभीसीओ पाईपको समेत दर्ता प्रक्रियामा रहेको उजुरीकर्ताले बताएका छन् ।

उद्योग विभागका कानून शाखा प्रमुख दीपक घिमिरेले हिलटेकले डबल वाल कोरुनगेटेड पाइपको डिजाइन दर्ता गरेको भनेर उजुरी आएको बताए ।

उनले भने, ‘कुनै कम्पनीले आफ्नो नाममा पेटेण्ट, डिजाइन र ट्रेडमार्क दर्ता गर्ने बेला विज्ञ टोली पनि बस्ने गरेको छ । तर, हिलटेकले विदेशी ब्राण्डलाई आफ्नो हो भनी दर्ता गरेको भनेर उजुरी आएको छ । त्यो उजुरीको विषयमा छलफल भइरहेको छ । गलत तरिकाले पेटेण्ट, डिजाइन र ट्रेडमार्क दर्ता गरेको देखिए दर्ता रद्ध गर्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर