आममाफी पाएका गुण्डा नाइके रिगलको ढाडस-अब तरुण दलका साथीले मनोवल उच्च राख्नुस्, केन्द्रसम्म म पहल गर्छु (भिडिओ) – Nepal Press

आममाफी पाएका गुण्डा नाइके रिगलको ढाडस-अब तरुण दलका साथीले मनोवल उच्च राख्नुस्, केन्द्रसम्म म पहल गर्छु (भिडिओ)

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएपछि छुटेका नेपालगन्जका चर्चित गुन्डा नाइके रिगल उर्फ योगराज ढकालले पार्टी नेतृत्वबाट आफूहरूलाई युजमात्रै गरेको आरोप लगाएका छन् ।

व्यक्ति हत्याको दोषी ठहर भई सर्वस्वसहित अदालतबाट जन्मकैदको सजाय पाएका ढकाल कांग्रेसकै दबाबमा संविधान दिवसको अवसरमा आममाफी पाएपछि अब तरुण दललाई बलियो बनाउने लाग्ने बताए ।

जेलबाट रिहा भएपछि दाङदेखि नेपालगन्जसम्म गाडीका लावालस्करसहित कांग्रेस कार्यकर्ताले स्कर्टिङ गरेर लगेपछिको सभामा बोल्दै उनले भने, ‘हामीलाई चाहिँ सुरुमा सबैले आश देखाउने, युज गर्ने र पछिचाहिँ परेको बेलामा साथ नदिएर हामीले पनि भोगेर आएका यत्रो वर्ष काट्यौं ।’

रिगलले अब युवाहरुले नै आफैमध्येबाट छानेर एकजनालाई अगाडि बढाउनुपर्ने बताए । उनले अब तरुण दललाई बलियो बनाउनको लागि केन्द्रसम्म पनि कहाँ कसलाई के भन्नुपर्ने के गर्नुपर्ने आफू तयार रहेको बताएका छन् ।

जेल जानुअघि नेपाली कांग्रेस निकट तरुण दलका क्षेत्रीय सभापतिसमेत रहेका ढकाललाई कैद सजायको ५० प्रतिशत भुक्तान नहुँदै राष्ट्रपतिबाट आममाफी पाएका हुन् ।

सर्वस्वसहित जन्मकैद सजाय पाए ढकाललाई ४० प्रतिशत मात्र सजाय काटेपछि माफी दिन जिल्ला कारागारबाटै सिफारिस गराइएको थियो ।

२०७२ साल असार २८ गते नेपालगन्जको व्यस्त बजार धम्बोझीचोक नजिकै दिनदहाडै खुँडा प्रहार गरी २९ वर्षीय चेतन मानन्धरको हत्या गरेको अभियोगमा ढकाललाई सर्वस्वसहित जन्मकैदको फैसला भएको थियो ।

ढकाललाई आममाफी दिएपछि राष्ट्रपति पौडेलको चर्को आलोचना भइरहेको छ । यो विषयमा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि पार्टीको बैठकमा असन्तुष्टि राखेका थिए।

रिहा भइसकेपछि रिगलको भनाइ जस्ताको तस्तै

हाम्रो तरुणका युवाहरूले मप्रति धेरै माया र सद्भाव देखाउनुभएको छ । युवाहरुमा मैले आफूले पनि भोग्दै आएको समस्या हो । हामीलाई चाहिँ सुरुमा सबैले आश देखाउने, युज गर्ने र पछिचाहिँ परेको बेलामा साथ नदिएर हामीले पनि भोगेर आएका यत्रो बर्ष काट्यौं ।

अब युवाहरुले के बुझुनुपर्‍यो भने आफैंमध्येबाट छानेर जसरी तपाईंहरुले मलाई यो सम्मान दिनुभएको छ । त्यसैगरी एकजनालाई अगाडि सार्नुपर्छ । यहाँ र केन्द्रसम्म पनि तरुण दललाई बलियो बनाउन कहाँ के भन्नुपर्छ र के गर्नुपर्छ त्यसको लागि पहल गर्नेछु । हाम्रो दाजुभाइहरुले मनोबल घटाएर बस्नुभएको छ। कांग्रेसको युवाहरूको संगठन भएन हामी तरुण दलमा लागेर होचिएर पेलिएर बस्नुपर्‍यो भन्ने कुरा आफ्नो मनबाट हटाइदिनुहोला ।

यो कुरा संगठन र युवाहरुलाई कसरी बलियो बनाउने, युवाहरूको मान, सम्मान र प्रतिष्ठालाई कसरी उच्चस्तरमा राख्ने र आफ्नो मनस्थितिलाई कसरी उच्च गराउने भनेर म लाग्छु ।


प्रतिक्रिया

One thought on “आममाफी पाएका गुण्डा नाइके रिगलको ढाडस-अब तरुण दलका साथीले मनोवल उच्च राख्नुस्, केन्द्रसम्म म पहल गर्छु (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर