कांग्रेस नेतृ प्रसाईको प्रश्न- महंगीले सीमा नाघेको छ, सरकार के हेरेर बसेको छ ? – Nepal Press

कांग्रेस नेतृ प्रसाईको प्रश्न- महंगीले सीमा नाघेको छ, सरकार के हेरेर बसेको छ ?

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईले कोशी प्रदेशमा निकै अप्ठ्यारो अवस्था सिर्जना भएको भन्दै चिन्ता व्यक्त गरेकी छन् । उनले त्यहाँ जातीय र धार्मिक आन्दोलनका लागि वडा-वडासम्म कमिटी गठन भएको प्रहरी प्रमुखहरुले खाद्य व्यवस्था समितिमा आएर भनेको उल्लेख गरिन् ।

पूजा गर्नको निम्ति कमिटी गठन गरिएको भन्दै भित्र भित्रै जातीय साम्प्रदायिक हिंसा मौलाउन थालेको भन्दै यसको समाधानका लागि गम्भीर बन्नुपर्ने औंल्याइन् ।

‘यो अत्यन्तै सिरियस कुरा छ । अब यसलाई पोलिटिकल्ली समाधान गर्ने हो कि सरकारका तर्फबाट समाधान गर्ने हो । सबै पार्टीहरुले यसलाई सिरियसली लिनुपर्छ भन्ने मेरो आग्रह छ’, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उनले भनिन्, ‘हेर्दा सजिलो देखिएला, तर जब धार्मिक र सांस्कृतिक र जातीय आन्दोलन सुरु हुन्छ, थाम्न गाह्रो पर्छ, त्यहाँको झल्को अहिले सर्लाहीमा पनि आइसकेको छ । कर्फ्यूको स्थिति छ । त्यहाँ पनि एक जातले अर्को जतालाई घरबाट निकालेर कुटपिट गर्ने जसले कारण कर्फ्यू लाग्ने स्थिति बनेको छ ।’

यस विषयमा नेपाली कांग्रेस सरकारमा भएको नाताले र संसदमा सबैभन्दा ठूलो पार्टीका हैसियतले पार्टीको काँधमा ठूलो जिम्मेवारी रहेको प्रसाईले बताइन् ।

त्यस्तै, उनले युवाहरुले हजारौंको संख्यामा विदेश जाने बाध्यतामा रहेको र दैनिक ४ जनाको शव विदेशबाट आउने गरेको तथ्य उजागार गरिन् । ‘यो स्थितिलाई कसरी हामीले समाधान गर्ने ? जनताले नेपाली कांग्रेससँग ठूलो आश गरेको छ’, उनले भनिन् ।

त्यस्तै, उनले अहिले देशमा महंगीले चरम सीमा नाघेको बताइन् । ‘भारतमा ४५ रुपैयाँ प्रतिकेजी पाउने चिनी नेपालमा १५० रुपैयाँ पर्छ । तरकारी त्यस्तै छ, दूध त्यस्तै छ । सारा कुरा महंगो छ । सरकारले के हेरेर बसेको छ ? जनताले भएको नभएको महसुस गर्न पाएको छैन’, उनले भनिन्, ‘माओवादीको प्रधानमन्त्री हुनुहुन्छ होला तर जनताले कांग्रेसले जिम्मेवारी लिनुपर्छ भनेर सोचिरहेको हुन्छ । दशैं आइरहेको छ । हरेक बोरा चामलमा २÷३ रुपैयाँ भाउ बढेको छ । यसमा उपभोक्ताका निम्ति कसले बालिदिने ? कसले अनुगमन गर्ने ?’

त्यस्तै, उनले सेना समायोजनका क्रममा माओवादी लडाकुबाट गएकालाई रक्षामन्त्रीलाई समेत थाहै नदिइ बढुवा गरिएको भन्नेबारे उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई प्रश्न गरेकी छन् । यसमा प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नतामा यो भएको भन्ने विषयमा प्रष्ट पारिदिन भन्दै खड्काले प्रसाईले आग्रह गरिन् ।

उनले कांग्रेसको भ्रातृ संगठन तरुण तथा नेविसंघमा कांग्रेसको विधानअनुसार नै कार्यसमिति निर्माण गर्नुपर्ने बताइन् । उनले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक हमलाको भर्त्सना गर्दै संलग्नलाई कारबाहीको माग गरेकी छन् ।

 


प्रतिक्रिया

One thought on “कांग्रेस नेतृ प्रसाईको प्रश्न- महंगीले सीमा नाघेको छ, सरकार के हेरेर बसेको छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर