सुनको दैनिक आयात कोटा बढाउने सरकारकाे तयारी – Nepal Press

सुनको दैनिक आयात कोटा बढाउने सरकारकाे तयारी

काठमाडौं । पछिल्लो समय नेपालमा सुन तस्करी बढ्दै गएका बेला सरकारले भने सुनको आयातको कोटा बढाउने तयारी गरेको छ । सरकारको सिफारिसमा नेपाल राष्ट्र बैंकले सुनको आयातलाई दोब्बर बनाउन लागेको हो । बैंकले दैनिक १० किलो सुन आयात भइरहेकोमा अब १० केजी थपेर २० केजी बनाउने भएको हो ।

राष्ट्र बैंक स्रोतले भन्यो, ‘सुनको कोटा वृद्धि गर्ने फाइल तयार भइसकेको छ । अब २/३ दिन भित्रमा सुनको कोटा दोब्बर हुनेछ । सरकारको सिफारिसमा नै सुनको आपूर्ति सहज होस् भनेर १० केजी कोटा थप गर्न लागिएको हो । कोटा वृद्धिको निर्णयको परिपत्र अब केही दिनमा नै हुन्छ । त्यसपछि नेपालमा दैनिक २० केजी सुन आयात हुने छ ।’

अहिले प्रतिदिन १० केजी मात्रै सुन आयातको कोटा रहेको छ । राष्ट्र बैंकले दोब्बर बनाएपछि वाणिज्य बैंकहरुले प्रतिदिन २० केजी सुन आयात गर्न पाउने छन् ।

२०७८ फागुनभन्दा पहिले नेपालमा दैनिक २० केजी सुन आयात हुँदै आएको थियो । त्यस बेला आयात घटाउनका लागि सरकारले नै २० केजीबाट १० केजीमा झारेको थियो । बाह्य क्षेत्रमा समस्या परेकाले नै कोटा घटाइएको थियो ।

सरकार कसरी राजस्व वृद्धि गर्न सकिन्छ भनेर अहिले लागिरहेको छ । जग्गाको कित्ताकाट खुल्ला गरेसँगै सेयर कर्जाको सीमा र सुनको कोट वृद्धि गर्न लागेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले १० केजीबाट २० केजी सुन आयातको प्रस्ताव राष्ट्र बैंक लगेको थियो । केन्द्रीय बैंकले पनि आपूर्ति मन्त्रालयको पत्र अनुसार नै सुनको कोटा वृद्धि गर्न लागेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिकरत्न शाक्यले चाडपर्वको समय भएकाले जतिसक्यो छिटो सुनको कोटा वृद्धि गर्नु पर्ने बताए ।

उनले भने, ‘अहिले बजारमा सुनको माग वृद्धि भएको छ । चाडपर्वको समयमा सुनको माग धेरै हुने भएकाले पनि कोटा खुलाउनु पर्छ । अहिलेको दैनिक १० किलोको कोटाले सुनको माग धान्न गाह्रो छ । विदेशबाटा आउनेहरुले ल्याएको सुनले पनि २५ प्रतिशत माग धान्न सहयोग गरेको छ ।’

अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षको बजेटमार्फत सुनको भन्सार महशुल दर १५ प्रतिशत पुर्याएका थिए । सुनको भन्सार महशुल वृद्धि गर्दा सुन तस्करी बढेको देखिन्छ । पछिल्लो समय अहिलेसम्मको नै सबैभन्दा धेरै ६१ किलो सुन तस्करी भएर आएको थियो । सरकारले सुनक विलासी वस्तुकोले नै आयात वृद्धि कम गर्न भन्सार दर वृद्धि गरेको थियो ।

नेपालमा सुन तस्करी भएर आएपछि भारत लगायत तेस्रो मुलुकमा समेत जाने गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *