कांग्रेसमा संघीयतादेखि प्रचण्ड सरकारको विकल्प खोजी, हिन्दू राष्ट्रको पक्षमा उभिन दबाब – Nepal Press

कांग्रेसमा संघीयतादेखि प्रचण्ड सरकारको विकल्प खोजी, हिन्दू राष्ट्रको पक्षमा उभिन दबाब

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा संघीयतादेखि गठबन्धनको बलमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको विकल्प खोज्नेसम्मका विषय उठेका छन् ।

अहिले जनतामा देखिएको निराशा सरकारले सम्बोधन गर्न नसकेपछि सरकारको अपजस कांग्रेसले पनि पाउने भएकाले विकल्प खोज्नुपर्नेमा अधिकांश नेताको धारणा छ ।

त्यसो त कांग्रेस नेता डा. शेखर कोइरालाले पछिल्लो समय प्रचण्ड सरकारले समाजमा अराजकता बढाएको भन्दै कांग्रेसले नेतृत्व लिनुपर्ने बताउँदै आइरहेका छन् ।

सानेपामा जारी बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नै संघीयतामाथि प्रश्न उठाए । स्थानीय तहलाई जनताले रुचाएपनि प्रदेशप्रति जनतामा वितृष्णा छाएको उनको भनाइ थियो ।

पाण्डेले भने, ‘मेरो लामो अनुभव छैन तर तीन तहका सरकारमध्ये प्रदेश तहमाथि प्रहार भइरहेको छ । स्थानीय सरकारलाई जनताले रुचाएपनि नयाँ संरचना प्रदेश सरकारमा आउँदा औचित्यमाथि प्रश्न खडा भएको छ । प्रश्न उठ्नु स्वाभाविक हो भन्ने लाग्छ । अहिले म प्रदेशको मुख्यमन्त्री छु । तर, हामीले चाहेर पनि काम गर्नसक्ने अवस्था छैन ।’

यस्तै, अर्का केन्द्रीय सदस्य शंकर भण्डारीले पनि हिन्दू राष्ट्र पक्षमा वकालत र संघीयताको विषयमा प्रश्न उठाए । विगतको महासमितिको बैठकमा हिन्दु राष्ट्रको पक्षमा बहुमत सदस्यले हस्ताक्षर गरेर बुझाउँदा पनि सभापतिले थन्काएर राखेको आरोप लगाए ।

उनले भने, ‘विगतको महासमितिको बैठकमा हामीले उपस्थित संख्याको बहुमत सदस्यले पैत्रिक सनातन हिन्दु सापेक्ष हिन्दु राष्ट्र हुनुपर्छ भनेर लेखेर दिएको कुरा सभापतिले थन्काउनुभएको छ । म महामन्त्रीहरूलाई आग्रह गर्न चाहन्छु हामी पनि पार्टीबाट निर्वाचित सदस्यहरू हौं । देशभर पार्टीका साथीहरुको आवाज हो । आगामी महासमितिको बैठकमा यसलाई मुल एजेण्डाको रूपमा अगाडि ल्याउनुहोला । नत्र धेरै अप्ठ्यारो पर्नेछ ।’

अहिलेसम्मको अभ्यासले देखिएको र जनताको भावना पनि बुझिसकेकाले संघीयताबारे पुनर्विचार गर्न आग्रह गरे । संघीय प्रणाली मुलुकको समग्र हितको लागि मात्रै नभएर राष्ट्रिय सुरक्षाको दृष्टिले पनि खतरा रहेको टिप्पणी गरे ।

अर्का सदस्य राजीव ढुंगानाले पनि सरकारको कामको समीक्षा गर्न आवश्यक रहेको बताए । भ्रष्टाचारका केही फाइल खोलिएपछि भ्रष्टाचार घटेको महसुस भएपनि शान्ति सुरक्षाको स्थिति ठीक नभएको बताए ।

यस्तै, कांग्रेसका नेता प्रदीप पौडेलले गठबन्धन जोगाएर सरकारमा पार्टी जानुलाई नै उपलब्धि मान्न नसकिने बताए ।

उनले भने, ‘अर्थमन्त्रालय हाम्रो पार्टीको नेतृत्वमा छ । सरकारमा हामी सहभागी छौं । अहिले गम्भीर आर्थिक संकट भएको बेला हाम्रो दृष्टिकोण प्रष्ट हुनुपर्छ । साना व्यापारीको सटर बन्द भएको छ । महँगी बढेको छ । त्यसमा सरकारले कुनै अनुगमन गरेका छैनौं ।’

उनले पार्टी बैठकको निर्णय प्रेस विज्ञप्तिमा सीमित राख्न पार्टी नेतृत्वलाई आग्रह गरे ।

उनले भने, ‘बैठकको निर्णय प्रधानमन्त्रीकहाँ लगेर यो काम गर भन्न सक्नुपर्‍यो । गठबन्धन जोगाउनुमात्रै उपलब्धि होइन । गठबन्धन गरेर सरकारमा गएपछि पार्टीलाई लोकप्रिय बनाउनेगरी काम गर्न सक्नुपर्‍यो । हाम्रा साथीहरु सरकारमा हुनुहुन्छ कसैले राम्रो काम गरे मैले भाषण गर्न पाइनँ । त्यसैले सरकारमा बस्न मात्र उपलब्धि होइन । सरकारमा बसेर पार्टीलाई लोकप्रिय काम गर्न सक्नुपर्छ ।’

अर्का केन्द्रीय सदस्य भीम पराजुलीले पनि हिन्दू राष्ट्रको पक्षमा उभिन प्रस्ताव गरेका छन् ।

उनले भने, ‘गत केन्द्रीय समिति बैठकमा नै मैले हिन्दू राष्ट्रको पक्षमा आफ्नो धारणा व्यक्त गर्दै हाम्रो पार्टीले धर्मसंस्कृति विभाग गठन गर्नुपर्दछ भनेर बताएको थिएँ । आज धरानमा नेपालको संविधानको बर्खिलाप खुलेआम गौहत्याजस्ता जघन्य अपराधका घटनाहरू घटेका छन् ।’

कांग्रेसकै कारणले माओवादीको प्रधानमन्त्री र गृहमन्त्री भएको अवस्था पनि दिनदहाडै सहमहामन्त्री महेन्द्र यादवमाथि ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार भएको उनले बताए ।

पराजुलीले भने, ‘कांग्रेस सरकारमा छ वा छैन भन्ने कार्यकर्ताले बुझ्न सकिरहेका छैनन् यस सन्दर्भमा सरकारमा सम्मिलित नेताहरूको धारणा के हो प्रष्ट पार्नुहुन अनुरोध गर्दछु ।’

सुन प्रकरणमा नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम सबै समाचार माध्यममा पनि गृहमन्त्रीले कांग्रेसका नेताहरूलाई छानीछानी दुःख दिने नियतले अगाडि बढेको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर