मधु आचार्यको प्रस्ताव- कांग्रेसका भूईं सदस्यकहाँ जाऔं, घोषणापत्र कार्यान्वयन समीक्षा सप्ताह मनाऔं – Nepal Press

मधु आचार्यको प्रस्ताव- कांग्रेसका भूईं सदस्यकहाँ जाऔं, घोषणापत्र कार्यान्वयन समीक्षा सप्ताह मनाऔं

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले महासमितिको बैठक काठमाडौंमा गर्नुको सट्टा प्रदेश कार्यसमितिसँग परामर्श गरी मधेश प्रदेशभित्रको कुनै स्थानमा गर्न प्रस्ताव गरेका छन् ।

केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै रुपान्तरण अभियानका अभियन्तासमेत रहेका आचार्यले महासमितिको बैठकमा पर्यवेक्षकको समेत व्यवस्था गर्न माग गरे ।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सिफारिसमा प्रत्येक संघीय क्षेत्रबाट १ जना १८–३० उमेर समूह र अर्को बुद्धिजीवी क्षेत्रबाट पर्यवेक्षकका रुपमा प्रतिनिधित्व गराउँदा सकारात्मक सन्देश जाने उनको तर्क थियो ।

दुई महिनाअघि साउन २-१० सम्म बसेको केन्द्रीय समितिको बैठकले निर्णय गरेको ‘समुदायसँग कांग्रेस कार्यक्रम’ स्थगित भएकोमा गम्भीर आपत्ति जनाएका उनले अविलम्ब अर्को मिति तय गर्न नेतृत्वको ध्यानाकर्षण गरे ।

‘पार्टीको १५औं महाधिवेशन नभएसम्म पार्टीको मूल नारा भनेको १४औं महाधिवेशनले तय गरेको ‘एकता, उत्साह र रुपान्तरण’ नै हो । पार्टीभित्र बलियो एकता भर्न र मनग्गे उत्साह जगाउन कांग्रेसका भूईं सदस्यकहाँ जाऔं, उनीहरुको आवाज सुनौं र उनीहरुको परामर्शअनुरुप चौतर्फी रुपान्तरण गरौं’, नेता आचार्यले भने, ‘यसका लागि महासमिति बैठकलगत्तै मेची-महाकाली रिले पदयात्रा गरौं ।’

कोशी प्रदेश सरकार निर्माणमा बैकल्पिक समाधानको बाटोको खोजी गर्न जरुरी भएको उनले बताए ।

नेविसंघ, तरुण दललगायतका भ्रातृ शुभेच्छुक संघसंस्थाले आफैं अधिवेशन गर्ने सम्भावना नदेखिएकाले ६ महिनाभित्रको मिति पार्टीले नै तोक्नुपर्नेमा नेता आचार्यले जोड दिए ।

उनले संघीय प्रणालीको मजबुतीका लागि कांग्रेसका प्रदेश कार्यसमितिलाई सशक्त र अधिकार सम्पन्न बनाउने र हरेक वर्षको सहिद सप्ताहलाई कांग्रेसले ‘पार्टी घोषणापत्र कार्यान्वयन समीक्षा सप्ताह’का रुपमा मनाउन आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर