शिक्षा विधेयक संशोधन गरेर सर्वस्वीकार्य बनाउने कांग्रेसको निर्णय – Nepal Press

शिक्षा विधेयक संशोधन गरेर सर्वस्वीकार्य बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सरकारले संसदमा दर्ता गरेको ‘विद्यालय शिक्षा विधेयक’ लाई संशोधन गर्ने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय समितिको बैठकले शिक्षकहरुको जायज माग र भावनालाई सम्बोधन गर्नुपर्ने निष्कर्ष निकालेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

उनले भने, ‘विद्यालय शिक्षाको विद्यमान अवस्था परिवर्तन गर्न र शिक्षक एवं विद्यालय कर्मचारीको वर्षौंदेखिका समस्या समाधान गर्न समयानुकूलको ऐन बहुप्रतिक्षित थियो । अघिल्लो ऐन र कानूनी व्यवस्थाहरुका तुलनामा प्रस्तावित विधेयकले कतिपय महत्वपूर्ण विषयहरु समेट्नु एकातर्फ सुखद छ भने अर्कातर्फ कतिपय सन्दर्भमा विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्नेलगायतको संविधानको मर्मलाई पूर्ण रुपमा आत्मसात गर्न सकेको छैन । साथै विद्यालय शिक्षक र विद्यालय कर्मचारीहरुको जायज र उपयुक्त मागलाई समेत सम्बोधन गर्न नसकेको देखिन्छ । यो विधेयकलाई ऐन बनाउँदा यसमा परिमार्जन/संशोधन गर्नुपर्ने विषयहरु छन् ।’

संसदमा दर्ता भएको विधेयकलाई संसदीय प्रक्रियाबाट नै आवश्यक संशोधन र परिमार्जनका माध्यमबाट सर्वस्वीकार्य बनाउन पहलकदमी लिने प्रतिबद्धतासमेत पार्टीले लिएको उनले बताए ।

मुलुकको समग्र समुन्नतिको मार्ग प्रशस्त गर्ने प्रारम्भिक थलो विद्यालयहरु भएकाले विद्यालय शिक्षामा सम्पूर्ण सुधार गर्दै शिक्षक र शिक्षण पेशालाई प्रतिष्ठित, मर्यादित र आकर्षक बनाउनु सबैको दायित्य भएको कांग्रेसको निष्कर्ष छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर