शेखर कोइरालासहित शीर्ष नेताहरुले भोलि नै देउवासँग छलफल गर्ने – Nepal Press

शेखर कोइरालासहित शीर्ष नेताहरुले भोलि नै देउवासँग छलफल गर्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको नेतृत्वमा इतर पक्षका शीर्ष नेताहरुले सभापति शेरबहादुर देउवासँग छलफल गर्ने भएका छन् । आज बसेको इतर पक्षको भेलाले परिस्थिती ढुक्क भएर बस्न मिल्ने खालको नभएकाले सभापतिसँग वार्ता गर्ने निर्णय गरेको हो ।

भोलि नै शेखर कोइरालासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार, बद्री पाण्डेलगायतको नेताहरु देउवाकहाँ जाने निर्णय भएको एक नेताले बताए ।

ती नेताले भने, ‘सरकार र पार्टी नेतृत्वको काम सन्तोषजनक छैन । त्यसबारेमा भोलि नै सभापतिकहाँ समय लिएर छफल गर्ने कुरा भएको छ । उहाँले परिस्थितीको गम्भिरतालाई बुझेर सिंगो पार्टीलाई एकताबद्ध बनाएर जानेबारेमा तयार हुनुहुन्छ भन्ने विश्वास छ ।’

पार्टीभित्र जिम्मेवारी बाँडफाँट, विभागहरुको बिषयमा पनि भोलिको बैठकमा छलफल हुने ती नेताले बताए । सरकारको कामप्रति प्रश्न उठेकाले आवश्यकता अनुसार गठबन्धन दलहरुसँग पनि छलफल गर्नुपर्ने दबाब बढाएको छ ।

ती नेताले भने, ‘सभापतिसँगको कुरा गरेर आवश्यक कदम चाल्छौं। पार्टीको बैठक पनि बैठकको लागि मात्रै हुनु हुँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर