असोज २ को स्मरण- जब गणेशमानले कांग्रेसको झण्डा र साइनबोर्ड त्यागे (दस्तावेजसहित) – Nepal Press

असोज २ को स्मरण- जब गणेशमानले कांग्रेसको झण्डा र साइनबोर्ड त्यागे (दस्तावेजसहित)

काठमाडौं । नेपाली कांग्रेसले गत साता पार्टीमा परिपत्र गर्दै असोज २ गते सर्बोच्च नेता एवम् लौहपुरुष गणेशमान सि.हको २६औं स्मृति दिवस’ मनाउन निर्देशन दियो । बीपी साहित्य सप्ताह चलिरहेका बेला गणेशमानलाई कांग्रेसले सम्झिनु अन्यथा किन होइन भने कांग्रेस स्थापनादेखि प्रजातान्त्रिक आन्दोलनमा बीपी र गणेशमान अभिन्न पात्र हुन् ।

संयोग चाहिँ के हो भने कांग्रेसले गणेशमान सिंह स्मृति दिवस मनाउनु र गणेशमानले कांग्रेसबाट अलग हुने निर्णय गरेको समय एउटै परेछ । २९ वर्षअघि २०५१ असोज १ गते (भदौ ३१ कै वक्तव्य) गणेशमान सिंह आफैंले स्थापना गरेको नेपाली कांग्रेस पार्टीबाट अलग भएका थिए ।

कांग्रेसभित्रको छत्तिसे र चौहत्तरेको लडाइँपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पार्टीको एकल बहुमत रहेको प्रतिनिधिसभा विघटन गरेका थिए । सर्वोच्च अदालतले विघटन सदर गरिदिएपछि गणेशमानले कांग्रेस छाडेको घोषणा गरेका थिए । त्यसको डेढ महिनापछि उनले अपील जारी गर्दै गिरिजा प्रवृतिलाई हराउन आह्वान गरेका थिए ।

गणेशमानले २०५१ असोज १ गतेबाट औपचारिकरूपमा कांग्रेस छाडे, त्यसको ३ वर्षपछि २०५४ असोज २ गते यो संसार नै छाडे । संयोग नै मान्नुपर्छ कांग्रेसका संस्थापकहरू गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय र कृष्णप्रसाद भट्टराई मर्ने बेलामा कांग्रेस रहेनन् । अर्का संस्थापक सुवर्ण शमसेरसमेत जीवनको अन्तिमबेला औपचारिकरूपमा मात्र कांग्रेस थिए ।

२०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंहले आफूले पाएको प्रधानमन्त्री पद कृष्णप्रसाद भट्टराईलाई दिएका थिए । त्यसपछि गणेशमानले कांग्रेसबाटै अपमानमात्र झेल्नुपरेको उनकी छोरी डा. मीता सिंहले आफ्नो पुस्तक ‘गणेशमान सिंहको संघर्ष’ मा उल्लेख गरेकी छन् ।

कांग्रेसमा गणेशमानको अन्तिम मागपत्र

गणेशमानले कांग्रेस परित्याग गर्नुअघि केन्द्रीय कार्य समिति र संसदीय दलमा समेत पत्र पठाएर आफ्ना केही सरोकार राखेका थिए । त्यसमा उनका व्यक्तिगत कुरा भन्दा पनि देशका बारेमा चिन्ता व्यक्त भएका थिए । यद्यपि गणेशमानमाथि गिरिजाप्रसाद पक्षधरले भने राज्यसत्तामा भाग खोजेको र आफ्नो परिवारका सदस्यलाई सबै ठाउँमा नियुक्ति नदिएपछि रिसाएको आरोप लगाएका थिए ।

डा. मीता सिंहको पुस्तकमा उल्लेख भए अनुसार गणेशमान सिंहले पार्टीमा मुख्यत. निम्न सरोकार राखेका थिए,

१. पार्टीमा चरम गुटबन्दीले गर्दा समर्पित पार्टीका सदस्यहरुलाई पन्छाउँदै गएको छ

२. नातावाद र चाप्लुसीवाजले सीमा नाघ्दैछ

३. कथित उच्च जातिले बढी अवसर पाउँछन् र  वञ्चितको हित उपेक्षित भइरहेको छ ।

४. एकैसाथ घेरै घोटालाहरु भइरहेका छन्

५. कर्मचारीतन्त्र र कानून  प्रवर्द्धन क्षेत्रको राजनीतिकरण भइरहेको छ ।

६. शिक्षा प्रणाली जथाभावी चलिरहेको छ

७. सामाजिक सुरक्षा सुनिश्चिता गर्न आवश्यक नीतिविना नै उदारीकरण भइरहेको छ ।

सर्वोच्च नेता गणेशमान सिंहले तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराईसमक्ष केही माग र सुझाव राखेका थिए । कांग्रेस रुपान्तरणका लागि उनले राखेका माग सुनुवाइ गर्ने किसुनजी नै गिरिजाप्रसादका सामु निरीह थिए ।

गणेशमान सिंहले कृष्णप्रसादसमक्ष राखेका माग यस्ता थिए

१. पार्टीको नेतृत्व परिवर्तन गर्ने

२. पार्टीको नेतृत्व दोस्रो पुस्ताका नेताहरूलाई सुम्पने

३. जिल्लादेखि केन्द्रीय तहसम्मका पार्टीका पदाधिकारीहरूको सांगठानिक पुनसंरचना गर्ने

अनि गणेशमानले कांग्रेस छाडे

गणेशमानले माथि उल्लेखित माग गिरिजाप्रसादले संसद विघटन गर्नुभन्दा अघि नै राखेका थिए । तर, गिरिजाप्रसादको सरकारको नीति तथा कार्यक्रम पारित गर्ने बेला कांग्रेसका ३६ जना सांसद अनुपस्थित भएपछि सरकार अल्पमतमा परेको भन्दै उनले संसद विघटन गरे ।

त्यसका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेकोमा २०५१ भदौ २७ गते अदालतबाट कोइरालाको विघटन सदर भएपछि गिरिजातन्त्रविरुद्ध गणेशमानको विद्रोह पार्टी परित्यागको चरणमा पुगेको थियो । त्यसैले कांग्रेसले गणेशमान स्मृति सप्ताह मनाइरहँदा गणेशमानले कांग्रेस छाडेको सप्ताह पनि यहि बेला थियो भन्ने जानकारी नयाँ पुस्ताले पाउनुपर्छ ।

गणेशमानले २०५१ भदौ ३१ गते स्वदेशी तथा विदेशी पत्रकारहरु जम्मा पारेर अब आफू नेपाली कांगमा नरहेको औपचारिक घोषणा गरे। कांग्रेस छाड्दै गर्दा गणेशमानले अघि सारेका बुँदालाई डा. ईश्वरी लौडारीले आफ्नो पुस्तक ‘प्रजातन्त्रका योद्धा गणेशमान सिंह’ मा यसरी उल्लेख गरेका छन् ।

१. नेपाली कांग्रेसले आफ्नो विचार र भावनाको कदर नगरेकाले पार्टी त्याग गरेको, तर राजनीतिबाट सन्यास नलिएको।

२. पार्टीभित्रैबाट भएका प्रजातन्त्र विरोधी र तानाशाही खालका कार्यहरुबाट आफू असन्तुष्ट रहेको।

३. पार्टी सभापति कृष्णप्रसाद भट्टराईले गिरिजासँग मतियारको भूमिका निर्वाह गरेको

४. जिल्ला-जिल्लामा भएको पार्टीको विवाद नसुल्झिएसम्म र गिरिजाको सरकार कायम रहेसम्म पार्टीमा नफर्कने।

५. प्रजातन्त्रमाथि खतरा उत्पन्न हुन लागेको कुनै पनि अवस्थामा मूकदर्शक भएर नबस्ने।

६. आफ्नो संघर्ष व्यक्तिगत झगडा नभई सैद्धान्तिक भएको।

(साप्ताहिक पुनर्जागरण- असोज ४, २०५१)

कांग्रेसको साइनबोर्ड छाडेको घोषणा

संसद विघटन सदर भएसँगै मुलुक मध्यावधि निर्वाचनमा जाने भएपछि गणेशमान सिंहले २०५१ कात्तिक १४ गते अर्को वक्तव्य निकाले । ‘मैले किन काँग्रेस छाडेँ’ भन्ने उनको वक्तव्यमा आसन्न निर्वाचनमा गिरिजा प्रवृतिलाई परास्त गर्न आह्वान गरिएको थियो । गणेशमानको आह्वानबमोजिम २०५ मध्ये ६७ निर्वाचनमा गणेशमान समर्थक कांग्रेसले बागी उम्मेदवारी दिएका थिए ।

गणेशमानको वक्तव्य यस्तो थियो,

करिब एक वर्षयताका घटनाक्रमहरु र राष्ट्रियस्तरमा सञ्चालित निकृष्ट दुरभिसन्धिहरुलाई केलाउँदै जाँदा मैले आफूलाई बडो कठिन दोबाटामो उभिएको पाएँ । एकातिर म राष्ट्रवाद,लोकतन्त्र र सहिदहरु दु.खी देख्छु भने अर्कोतिर राष्ट्रवाद र प्रजातन्त्रलाई ध्वस्त पार्दै सहिदले रगत बगाएको बिर्सेको समूह देख्छु । यो पछिल्लो समूहले मेरो पार्टीको साइनबोर्ड,झण्डा,संगठन र राज्यसत्ता पनि समातेको छ । यो समूहले सिद्धान्त र नैतिकतालाई नष्ट गरिरहेको छ,जसका लागि मैले जीवन खर्चेको छु । यी सद्धान्त र नैतिकता प्राप्तिका लागि म, मेरो पार्टी र सम्पूर्ण नेपाली जनताले संघर्ष गरेका छौं । यो अवस्थालाई ध्यानमा राख्दै भावनाविहीन भएर निर्जीव पार्टीको साइनबोर्डको पछि लाग्नुको सट्टा पार्टीबिना देश र जनताको सेवा गर्ने निर्णय गरेको छु । प्रजातन्त्रको सेवा गर्छु र सहिदहलाई सम्झिन्छु । मैले  आफ्नो अन्तरआत्माको आवाज सुनेको छु र अब नेपाली कांग्रेसमा नबस्ने निर्णय गरेको छु । लोकतन्त्र जोगाउन र अनैतिक मार्गको अन्त्य गर्न आगामी मध्यावधि निर्वाचनमा गिरिजा प्रवृतिलाई परास्त गर्न सबैलाई आग्रह गर्दछु ।

२०५१/०७/१४

गणेशमानले कांग्रेस छाडेलगत्तै भएको निर्वाचनमा कांग्रेस पराजित भयो । उसले बहुमतमात्र गुमाएन एमाले ८८ सीटसहित पहिलो दल बन्यो । कांग्रेस ८३ सीटमा खुम्चियो । गणेशमानले त्यसपछि जनजागरण अभियान चलाए । तर उमेर ८० पुगिसकेका गणेशमान चितवनमा कुर्सीबाट लडेपछि अपाहिज भए ।

२०५४ असोज २ गते ८२ वर्षको उमेरमा गणेशमानको निधन भयो । तत्कालीन एमाले र राप्रपाको संयुक्त सरकारले जनआन्दोलनका सर्वोच्च कमाण्डर तथा कांग्रेस परित्याग गरेका गणेशमान सिंहको अन्त्येष्टि राजकीय सम्मानका साथ गरेको थियो । त्यसअघि एक वर्षअघि पत्नी मंगलादेवीको निधनदेखि नै गणेशमान गलिसकेका थिए ।

गणेशमानकी छोरीको बकपत्र

बुबाले कांग्रेस छाडेको क्षण स्मरण गर्दै गणेशमानकी कान्छी छोरी डा. मीता सिंहले आफ्नो पुस्तकमा यसरी व्याख्या गरेकी छन्,

बाले आफ्नो रगत,पसिना र आँसुले बनाएको पार्टीसँगको नाता तोड्ने मन बनाउनुभएको दिन निकै भावपूर्ण र दु.खदायी थियो । स्थापनाकालदेखि नै उहाँले नेपाली कांग्रेस पार्टी देशमा परिवर्तनको अग्रदूत बन्ने आशा गर्नुभएको थियो । बलियो र सम्बृद्ध प्रजातान्त्रिक नेपालमा जनतालाई सम्मानपूर्वक बाँच्न सम्भव बनाउने सपना बोकेर उहाँले पार्टी गठन गर्नुभएको थियो । पार्टीमा उतारचढाव देखिए पनि उहाँ संगठनप्रति सधैं इमानदार रहनुभयो । २०४६ सालको जनआन्दोलनको सफलतापछि आर्थिक क्रान्तिबाट समृद्ध नेपालको लक्ष्य हासिल हुने बाको विश्वास थियो । तर, पार्टीको लगाम र राज्यत्तसा कब्जा गर्ने लालसाले मत्त समूहले नेपाली कांग्रेसको मूल नैतिकता र सिद्धान्तलाई ध्वस्त पारे । यसरी बाले आफ्नो मनको आवाज सुनेर पार्टी छाड्नुभयो । पार्टीको जुन आधारभूत आचारसंहिता र सिद्धान्तका लागि उहाँ लड्नुभएको थियो,त्यो नै पार्टीले काम गर्न नसकेपछि उहाँले नेपाली कांग्रेस छोड्नुभयो । गिरिजाप्रसाद कोइराला र उनका कोटरीका नेता र नागरिक समाजका मान्छेहरु भ्रष्टाचार लिप्त देखेर बा छक्क पर्नुहुन्थ्यो । कोइरालाका अनैतिक कार्यहरुका कारण आर्थिक अवस्था दिन -प्रतिदिन नाजुक हुनथाल्यो । बाले देशमा भइरहेको अप्रजातान्त्रिक र अनैतिक कार्यहरका बारेमा निम्ता कुरा औंल्याउनुभयो ।

गणेशमान सिंहले नेपाली कांग्रेस परित्याग गरेपनि उनको परिवारका सदस्य कांग्रेसमै रहे । गणेशमान जीवित हुन्जेल प्रकाशनले प्रत्यक्ष चुनाव जित्न सकेनन् । पत्नी मंगलादेवी र छोरा प्रकाशमान दुवैजनालाई काठमाडौंका जनताले २०४८ सालको चुनावमा हराइदिएपछि गणेशमानले ‘काठमाडौंको जनता भेडा हुन्’ भनेको प्रसंग अहिले पनि चर्चामा आउने गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर