निर्णय कार्यान्वयन गर्न देउवा अनिच्छुक, कांग्रेसमा विभाग र भ्रातृ संगठन अलपत्र – Nepal Press

निर्णय कार्यान्वयन गर्न देउवा अनिच्छुक, कांग्रेसमा विभाग र भ्रातृ संगठन अलपत्र

बैठकको रणनीति तय गर्न जुटे शेखर-गगन समूह

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बिहीबार बस्दैछ । पार्टीको बैठक बस्नै लाग्दा नेताहरुले साउन पहिलो साता बसेको बैठकको निर्णय कार्यान्वयनमा प्रश्न उठाएका छन् ।

कार्यतालिका बनाएर निर्णय कार्यान्वयनमा जाने बताए पनि लक्ष्यअनुसार अघि नबढेपछि नेतृत्वमाथि नेताहरुले प्रश्न उठाएका हुन् ।

सभापति शेरबहादुर देउवाबाट पार्टी नचलेको भन्दै महामन्त्री गगन थापाले वार्षिक क्यालेण्डर नै ल्याएर बैठकबाट पारित गराएका थिए । महामन्त्री थापाको क्यालेण्डरले कांग्रेसमा रुपान्तरण हुने विश्लेषण भएको थियो । तर, पार्टी नेतृत्वको कार्यशैली नफेरिएपछि बैठकका निर्णय कार्यान्वयनमा जान सकेनन् ।

अघिल्लो समितिको बैठकको कुनै निर्णय कार्यान्वयन हुन नसकेको केन्द्रीय सदस्य मधु आचार्यले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘भदौ १० देखि २४ सम्मको लागि पार्टीले समुदायसँग कांग्रेस भन्ने अभियान सबै जिल्लामा आयोजना गर्ने भनेको थियो । त्यो पदाधिकारी बैठक बसेर एकाएक स्थगित गरियो ।’

आचार्यले केन्द्रीय समितिको बैठकको निर्णयलाई स्थगित गर्ने अधिकार पदाधिकारी बैठकलाई नभएको बताए ।

उनले भने, ‘केन्द्रीय समितिको बैठकको निर्णय खारेज महासमिति वा महाधिवेशनमात्रै गर्नसक्छ । त्योभन्दा अरु कमिटीले गरेको निर्णय विधानविपरीत हुन्छ ।’

भदौ १५ को मिति नै तोकेर भ्रातृ शुभेच्छुक संस्थालाई पूरा गरिसक्ने, भ्रातृ संगठन गठन गरिसक्ने भने पनि संगठन निर्माणमा पार्टी नेतृत्वले चासो नदेखाएको उनले आरोप लगाए ।

उनले भने, ‘केन्द्रीय कमिटी बैठकको कुनै निर्णय कार्यान्वयनको चरणमा पूरा भएनन् । पार्टी निर्णय गर्न कति हौसिन्छौं, कार्यान्वयनका लागि कति पछि हट्छौं भन्ने कुरा यही दुई महिना नै पर्याप्त भइसक्यो ।’

उनले अब बस्ने बैठक साउन २० देखि ३० सम्मको विशेष आन्तरिक अभियानको समीक्षा, महासमितिको बैठकबारे छलफल र आवश्यक समिति निर्माणको विषयमा केन्द्रित हुने बताए ।

मंसिर १३ देखि १५ सम्म महासमिति बैठक राख्ने कांग्रेसको तयारी छ ।

उनले अघिल्लो बैठकको निर्णय कार्यान्वयन नहुनुमा मुख्य जिम्मेवार पार्टी सभापति भएको आरोप लगाए ।

नेता आचार्यले थपे, ‘केन्द्रीय समितिको बैठकको निर्णयलाई पदाधिकारीहरु बसेर स्थगित गरिएको भन्ने कुरा आइरहेको छ । त्यो कुरालाई हामीले गम्भीर रुपमा लिएका छौं । त्यो हो भने सबै पदाधिकारीले जिम्मेवारी लिनुपर्छ । अरु विभाग गठन गर्ने कुरामा पार्टी सभापतिको नै मुख्य जिम्मेवारी हो । उहाँ (सभापति) लागेपछि अरुलाई दबाब जान्छ । त्यसैले नैतिक जिम्मेवारी पनि उहाँले नै लिनुपर्छ ।’

सांगठनिक सुदृढीकरणका लागि भदौ १० देखि २४ सम्म तय गरिएको अभियान स्थगित गरेपछि नेताहरु रुष्ट छन् । पहिलो चरणको आन्तरिक अभियान टुंग्याएपछि वर्षालाई देखाएर दोस्रो चरणको अभियान स्थगित गरिएको थियो । तर, अब मौसम अनुकूल भएपछि चाँडै अभियान लिएर जनताकोमा जाने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा बताउँछन् ।

कांग्रेसले ४८ वटा रहेको विभाग ७० पुर्‍याउने तयारी गरेको छ । विभाग थप्ने तयारी भइरहेको तर, केही ढिलाइ हुन पुगेको विश्वकर्मा बताउँछन् ।

भदौ १५ भित्र विभागलाई पूर्णता दिने निर्णय गरेको भए पनि देउवाले अहिलेसम्म १५ विभागका संयोजकमात्रै तोकेका छन् । तोकिएका विभाग प्रमुखहरुले पनि अहिलेसम्म औपचारिक रुपमा पत्र पाएका छैनन् ।

अब बस्ने केन्द्रीय समितिको बैठकपछि मात्रै तोकिएका विभाग प्रमुखहरुलाई औपचारिक रुपमा जिम्मेवारी दिने तयारी छ । विभाग गठनको सकसमै अल्झिएको कांग्रेसको भ्रातृ संगठनको तदर्थ समिति गठनहरुको विवाद पनि अझै उस्तै छ ।

विभागहरूलाई पूर्णता दिने विषयमा पनि छलफल भइरहेको प्रचार विभाग प्रमुख विश्वकर्माले सुनाए । केही ढिलो भए पनि पार्टीभित्र विभागलाई पूर्णता दिन होमवर्क भइरहेकाले अबको बैठकसम्ममा टुंग्याउने उनको भनाइ छ ।

देउवाले इतर पक्षलाई बेवास्ता गरेर एकलौटी निर्णय लाद्न खोजेपछि विभाग गठनमा पनि कुरा मिल्न नसकेको नेताहरु बताउँछन् । पार्टीभित्र डा. शेखर कोइराला र महामन्त्री थापा समूहले ४० प्रतिशत हिम्सा दाबी गर्दै आएको छ ।

त्यसो त इतर पक्षका नेताहरुले सभापतिकै कारणले पार्टीको निर्णय कार्यान्वयन नभएको बताइराख्दा देउवा पक्षका नेता किशोरसिंह राठोर त्यो कुरालाई अस्वीकार गर्छन् । पार्टी सहमहामन्त्रीसमेत रहेका राठोरले सभापतिले आवश्यकताअनुसार निर्णय कार्यान्वयन गराइरहेको दाबी गरे ।

तर, पार्टी विभाग गठनलगायतको कुनै निर्णय पनि समयमा भएका छैनन् नि भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘‘सभापतिजीले काम गरिराख्नुभएको छ । उहाँ र पार्टीलाई आवश्यक परेअनुसार उहाँहरुले भ्रातृ संस्थाहरुलाई पनि पूर्णता दिइराख्नुभएको छ ।’

उनले सभापति देउवाले निर्णय कार्यान्वयन नगरेको भन्न नमिल्ने तर्क गरे । सभापति देउवाले निर्णय कार्यान्वयनमा आलटाल गरेपछि इतर पक्ष सक्रिय भएको छ ।

यसअघि केन्द्रीय समिति बैठकअघि इतर पक्षको भेला नबोलाएका शेखरले भोलिका लागि बैठक राखेका छन् । त्यसो त यसअघि पनि महामन्त्री थापाले नेता अजुननरसिंह केसी निवासमा छलफल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर