स्ववियु परिषदमा नयाँ नेतृत्व दिन नेविसंघ एकमत छ, चाँडै अधिवेशन हुन्छ : निराजन नेपाल – Nepal Press

स्ववियु परिषदमा नयाँ नेतृत्व दिन नेविसंघ एकमत छ, चाँडै अधिवेशन हुन्छ : निराजन नेपाल

काठमाडौं । गत फागुनमा त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृति विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भए पनि धेरै आंगिक क्याम्पसमा विद्यार्थी संगठनको विवादका कारण अझै अपूर्ण छन् ।

त्रिविका आंगिक क्याम्पसमा भएका निर्वाचनमध्ये एमालेनिकट अनेरास्ववियु र कांग्रेस निकट नेविसंघका प्रतिनिधि लगभग हाराहारी संख्यामा निर्वाचित भएका छन् । दुवै संगठनले स्ववियुमा आफूलाई पहिलो संगठन दाबी गरेका छन् ।

स्वतन्त्र विद्यार्थी युनियनमा निर्वाचित पदाधिकारीहरूको लागि नेविसंघले अलग्गै संगठन समेत बनाएको छ । त्यसको नाम हो, स्ववियु परिषद् नेपाल । नेविसंघ केन्द्रीय समितिले पूर्णता पाएसँगै स्ववियु परिषद् नेपालमा पनि नयाँ नेतृत्व चयनको लागि दबाब बढिरहेको छ ।

यसअघि निराजन नेपाल अध्यक्ष रहेको स्ववियु परिषद्का नेतृत्व चयन कसरी हुँदैछ ? नेपाल आदर्श क्याम्पसका निवर्तमान सभापति समेत रहेका स्ववियु परिषद्का अध्यक्ष तथा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य निराजनसँग नेपाल प्रेसले गरेको कुराकानी प्रस्तुत छ, नेपाल टकमा ।

स्वतन्त्र विद्यार्थी युनियन परिषद्को नेतृत्व हस्तान्तरणको तयारी के छ ?

अब नेतृत्व हस्तान्तरण गर्ने हो, हाम्रो आन्तरिक कारणले ढिलाइ भएको हो । स्ववियु निर्वाचन भएर नयाँ नेतृत्व आइसकेको छ । नयाँ साथीहरू नयाँ जोश र मतसहित विभिन्न क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनमा निर्वाचित भएर आउनु भएको छ । अब चाँडै स्वविय परिषदमा पनि नयाँ नेतृत्व आउँछ ।

नेविसंघभित्रकै भागबन्डा नमिलेका कारण रोकिएको हो कि ?

त्यस्तो होइन, नेविसंघ अध्यक्ष सहित सबै साथीहरू स्वतन्त्र विद्यार्थी युनियन परिषदमा अब नयाँ नेतृत्व दिन तयार र एक मत छन् । म आफैँ स्ववियु परिषद्को अध्यक्ष छु तर मभन्दा पछि नयाँ साथीहरू निर्वाचित भएर आइसकेका छन् । अहिले अब नयाँ नेतृत्व आउँछ भनिरहेको छु । हामीमा कुनै विवाद छैन एक मत भएर नयाँ निर्वाचित साथीहरूलाई जिम्मेवारी दिने हो ।

स्वतन्त्र विद्यार्थी युनियन परिषद्को नयाँ नेतृत्वका लागि को को दाबेदार हुनुहुन्छ ?

केहि समयअघि सम्पन्न स्ववियु निर्वाचनमा नेविसंघ सबैभन्दा ठुलो र सबैभन्दा लोकप्रिय विद्यार्थी संगठन भएको छ । स्ववियु निर्वाचनमा जितेका नेविसंघका सबै साथीहरू नेतृत्वका लागि योग्य छन् । सबै योग्य साथीहरू मध्य नै नेतृत्वमा आउनु हुन्छ ।

अहिले छलफल भइरहेको छ, समय र मिति नतोकौँ तर यति भन्छु अब चाँडै स्वतन्त्र विद्यार्थी युनियन परिषद्ले नयाँ नेतृत्व पाउँछ ।अधिवेशन मार्फत नै नयाँ नेतृत्व चयन हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर