शेयर बजारको लगातार ओरालो यात्रा : मार्जिन कलको प्रेसरमा लगानीकर्ता – Nepal Press

शेयर बजारको लगातार ओरालो यात्रा : मार्जिन कलको प्रेसरमा लगानीकर्ता

पटक-पटक ताकेता गर्दा पनि वास्ता नगर्ने ऋणीको शेयर आफैँ बेच्छन् बैंक

काठमाडौ । पछिल्लो समय शेयर बजारको ओरालो यात्रा कायमै छ । लगानीकर्ताहरूले आश गरेको एक मात्र अस्त्र मौद्रिक नीति नै शेयर बजारमैत्री नभएपछि नेप्सेले लय समात्न सकेन । जसले उनीहरूको मनोबल घटिरह्यो ।

मौद्रिक नीतिले शेयर धितोमा जाने कर्जाको जोखिम भार केही खुकुलो गर्ने र यसले बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा लगानीकर्तामा थियो । तर, राष्ट्र बैंकको नीति लगानीकर्ताको अपेक्षाविपरीत आयो ।

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दा (साउन ७) बजार २२२७.१६ विन्दुमा थियो । त्यतिबेला बजार पूँजीकरण ३२ खर्ब ७२ अर्ब ८८ करोड रूपैयाँभन्दा बढी थियो । त्यसयता ३२ दिन बजार खुलेको छ । ३२ औ कारोबारसम्म आइपुग्दा (भदौ २१ गते) बजार पूँजीकरण २८ खर्ब ९२ अर्ब ९३ करोड रूपैयाँ छ । नेपाल स्टक एक्सचेन्जको यो तथ्यांकलाई आधार मान्दा मौद्रिक नीति जारी भएयता लगानीकर्ताले ३ खर्ब ७९ अर्ब बढी गुमाइसकेका छन् । लगातार घटेको बजारका कारण लगानीकर्तामा तनाव थपिएको छ । आफूले धितो राखेको शेयरको मूल्य घट्न थालेपछि बैंकहरूले बारम्बार मार्जिन कल गरिरहेका छन् ।

मार्जिन कलको प्रेसरमा रहेका एक लगानीकर्ता भन्छन, ‘ऋण लिँदा कायम भएको शेयर मूल्यभन्दा २० प्रतिशतसम्मले कम भयो भने बैंकहरूले मार्जिन कल गरेर शेयर थप्न बोलाउँछन् । यसले लगानीकर्तालाई पेनिक बनाउँछ ।’

‘ऋण लिँदा नै बैंकहरूले ऋणीको डिम्याटको २ वटा चेकमा साइन गरेर राख्छन् । ३० प्रतिशतसम्म घट्यो भने र ऋणीले ऋण तिरेन भने विनासूचना बेचिदिन सक्ने अधिकार बैंकलाई भएकाले उनीहरूले दिएको ऋणभन्दा कम हुने देख्नेबित्तिकै कल गर्ने र समयमै शेयर नथपे भएको शेयर बेचिदिने धम्की दिन्छन्’, ती लगानीकर्ता सुनाउँछन् ।

उसो त शेयर बजार लगातार घटेपछि लगानीकर्ताहरू मार्जिन लेण्डिङ ( शेयर धितो कर्जा) को प्रयोग गर्न चाहँदैनन् । तर, पनि शेयर धितो राखेर ऋण लिएका केही लगानीकर्तालाई बैंकहरूले मार्जिन कल गरेर हैरान पारिरहेको गुनासो आउन थालेको छ ।

अर्का लगानीकर्ता कमल खरेल मार्जिन कलबारे आफ्नो अनुभव सुनाउँदै भन्छन्, ‘ऋण दिँदा ५२ हप्ताको सबैभन्दा कम मूल्य वा अहिले चलिरहेको कम मूल्यमध्ये जुन कम हुन्छ त्यसैलाई आधार मानेर दिन्छन् । लो रेटको पनि ६० देखि ७० प्रतिशत ऋण बैंकहरूले प्रवाह गर्छन् । तर, कतिपय अवस्थामा ऋण रकम शेयर मूल्यले खाप्ने अवस्था भएपनि केही घट्नेबित्तिकै मार्जिन कल गर्न थाल्छन् । यसअघि पनि मैले यस्तो कर्जा लिएको थिएँ । मार्जिन कल गरेर हैरान पार्न थालेपछि अहिले सबै चुक्ता गरेर नयाँ ऋण लिएको छैन ।’

बैंकहरूले शेयर धितो कर्जा दिँदा ३ वर्षदेखि लाभांश नदिने कम्पनीको शेयर धितो राख्दैनन् । अहिले शेयर धितो कर्जा लिँदा धितोको मूल्य ७० प्रतिशत हुनुपर्छ । साना लगानीकर्ता धेरैले लगानी गरेको शेयरको मूल्य घटेको छ ।

ब्रोकर एशोसियसनका पूर्वअध्यक्ष भरत रानाभाट शेयर मूल्य घट्दै गर्दा बैंकहरूले ऋणीलाई तपाईँहरूको अवस्था यस्तो छ है भनेर सचेत चाहिँ गराइरहेको बताउँछन् । तर, शेयर बजारको यस्तै स्थिति हुने हो भने त्रैमासको अन्त्यमा भने (असोजमा) अत्यधिक प्रेसर आउने उनले बताए ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार मार्जिन कलको दबाब आएको गुनासो केही लगानीकर्ताबाट सुनेको बताउँछन् । उनले ‘सी क्लास’ का गभर्नरले पूँजीबजारलाई बिगार्ने नीति लिएको भन्दै आक्रोश पोखे ।

गभर्नरले बैंकहरूसँग मिलेर ब्याजदरमा कार्टेलिङ गरेको उनको आरोप छ । आफ्नै देशको लगानीकर्तालाई बेवास्ता गर्दै आईएमएफ (अन्तर्राष्ट्रिय मुद्रा कोष) को पछि लागेर देशको अर्थतन्त्र बिगारेको आरोप रौनियारको छ ।

स्मरण रहोस् अमेरिकाबाट प्रकाशन हुने ‘ग्लोबल फाइनान्स’ पत्रिकाको ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२३’ मा’ नेपालका गभर्नर महाप्रसाद अधिकारीलाई ‘सी’ क्लासमा राखेको थियो ।

ग्लोबल फाइनान्सले मुद्रास्फीति नियन्त्रण, आर्थिक वृद्धि लक्ष्य, मुद्रा स्थिरता र ब्याजदर व्यवस्थापनमा सफलताको लागि ‘ए’ देखि ‘एफ’ को स्केलमा ग्रेडहरु प्रदान गर्ने गरेको छ । जसमा ‘ए’ ग्रेडले पूर्णरूपमा सफलताको र ‘एफ’ ग्रेडले पूर्ण असफलता दर्शाउँछ ।

शेयर बजार र समग्र अर्थतन्त्र सुधारको मामलामा अर्थमन्त्री डा. प्रकाशशरण महत भने निरीह देखिएका छन् । राष्ट्र बैंकलाई देखाउँदै पन्छिने उनले अर्थतन्त्र सुधारको डिपार्चर गर्नै नसकेको जानकारहरूको टिप्पणी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर