एमालेको आन्तरिक प्रतिस्पर्धा लुम्बिनीबाट ‘कमब्याक’ होला ? विष्णु र शंकरका नाममा प्यानलबन्दीको प्रयास – Nepal Press

एमालेको आन्तरिक प्रतिस्पर्धा लुम्बिनीबाट ‘कमब्याक’ होला ? विष्णु र शंकरका नाममा प्यानलबन्दीको प्रयास

रुपन्देही । नेकपा एमालेको लुम्बिनी प्रदेशको नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । अहिले बिहान १० बजेसम्म उम्मेदारी दर्ताको समय रहेकोमा पदाधिकारी सबैमा आवश्यकताभन्दा बढी उम्मेदवारी परेपछि मतदान हुने भएको छ ।

प्रदेशको नेतृत्व सहमतिमै टुंगो लगाउन अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएपनि दुई बलिया दाबेदार राधाकृष्ण कँडेल र हरि रिजाल दुवेले पछि नहट्ने अडान लिएपछि निर्वाचन हुन लागेको हो । पदाधिकारीमा समेत प्यानलवाइज उम्मेदवारी परेको छ ।

आइतबार रातिदेखि नै निर्वाचन प्रक्रिया सुरू भइसकेको छ । कंडेलले आफैं र रिजालले वारेसबाट उम्मेदारी दिएका थिए । बुटवलमै भएर पनि वारेसबाट उम्मेदवारी दिएका रिजाल आइतबार राति अबेरसम्म अधिवेशनस्थलमै रहेका थिए । पत्रकारसँग उनी जसरी पनि निर्वाचनमा जाने र आफ्नो जित निश्चित भएको बताइरहेका छन् ।

यसैगरी उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ, अनुप बराल विश्वराज, पुजन विश्वकर्मा, शान्तकुमार वली, सचिवमा लक्ष्मण आचार्य, सोम सापकोटा र उपसचिवमा धेरैजनाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा उम्मेदवारी दिएका श्रेष्ठ कंडेल र विश्वकर्मा रिजाल पक्षका हुन् । सचिवमा दिएका दुईजनै कंडेल पक्षका मानिन्छन् । तर, तीमध्ये एकजना आफ्नो समथर्नमा आएको रिजाल पक्षका नेताको दाबी छ ।

दुईजना चाहिने उपसचिवमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी, दुर्गाप्रसाद चौधरी, रोल्पाका पूर्णबहादुर बुढा, बर्दियाकी लिला रानालगायतले उम्मेदवारी दिएका छन् । निर्वाचन मण्डलले अन्तिम नामावली प्रकाशन नगरेको र संकलनकै क्रममा रहेको र केही समयमै अन्तिम नामावली प्रकाशन गर्ने जनाइएको छ ।

आ-आफ्नो समूह बनाएर गरिएको उम्मेदवारी दर्ताले एमालेमा आन्तरिक प्रतिस्पर्धा पुन: ब्यूँतिने देखिएको छ । उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका नाममा नेता-कार्यकर्ता प्यानलबन्दीमा जुटेका छन् । दुई नेताहरूबीच पार्टी केन्द्रीय नेतृत्वका लागि आफ्नो पक्ष बलियो बनाउन प्रदेश तथा जिल्ला तहबाटै यस्तो प्रयास गरेको भन्दै आलोचनासमेत हुन थालेको छ । प्रदेश अधिवेशन उद्घाटनमा यो आलोचना चिर्न दुई नेताहरूले प्रयास गरेपनि उनीहरू निकट नेताहरूलाई समूह बनाएर निर्वाचनको तयारी रोक्न कुनै निर्देशन नभएकाले यस्तो अवस्था आएको कार्यकर्ताहरूको गुनासो छ ।

अध्यक्षका उम्मेदवार कँडेल पौडेलनिकट हुन् भने रिजाललाई महासचिव पोखरेलको समर्थन छ । अन्य पदाधिकारीका लागि पनि दुवै पक्षले आ-आफ्नो टीम बनाएकाले सहमतिका लागि सकस परेको हो । तर, प्रदेश इन्चार्ज तथा पार्टी सचिव पद्मा अर्याल तथा पोलिटब्युरो सदस्य सूर्य थापाले अझै पनि सहमति हुने विश्वाससहित प्रयास जारी रहेको बताएका छन् ।

एमाले प्रमुख निर्वाचन आयुक्त हरि भण्डारीले उम्मेदारी दर्ताको समय सकिएकाले अब दाबी विरोधसहितका अन्य प्रकृया अघि बढाउने बताए । अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २०५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ ।

रिजाललाई पार्टी महासचिव शंकर पोखरेलनिकट मानिएका नेताहरु उपमहासचिव प्रदीप ज्ञवाली प्रदेश सांसदहरु चेतनारायण आचार्य, भूमिश्वर ढकाल, बलाराम अधिकारी, शिवराज सुवेदीलगायतले अध्यक्षमा अघि सारेका छन् । कंडेलले एक वर्ष मात्र तदर्थ समितिमा काम गरेकाले एक कार्यकाल काम गर्न पाउनुपर्ने अडान राखेका छन् । उनलाई पार्टी उपाध्यक्ष विष्णु पौडेल निकट नेताहरू सचिव छविलाल विशवकर्मा, गोकर्ण विष्ट, पोलिटब्यूरो सदस्यहरु लीला गिरी, खिमलाल भट्टराईलगायतले समर्थन गरेका छन् ।

सातै प्रदेशमा सबैभन्दा बलियो मानिएको लुम्बिनीमा आन्तरिक विवाद बाहिर आउनु राम्रो नभएको र एमालेमा गुट बनाउने छुट कसैलाई नभएको अध्यक्ष केपी ओलीले शनिबार र आइतबारको निर्देशनमा भनेका थिए । तर, नेताहरूले त्यो निर्देशनलाई स्वीकार गरेर अगाडि जान नसकेको यहाँको चुनावी माहोलले प्रष्ट देखाउँछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर