गृहमन्त्री फेर्न प्रचण्डमाथि दबाब बढाउँदै देउवा – Nepal Press

गृहमन्त्री फेर्न प्रचण्डमाथि दबाब बढाउँदै देउवा

सहमहामन्त्री यादव भन्छन्- गृहमन्त्रीले कांग्रेस नेता फसाउँदैछन्, हामी सन्तुष्ट छैनौं

काठमाडौं । समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधन गर्न बिहीबार सुर्खेत पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले जुनसुकै बेलामा सरकार छाड्नुपर्ने परिस्थिति बन्नसक्ने संकेत गरे ।

‘यो सरकार कति समय चल्छ चल्दैन भन्ने मेरो टेन्सन त्यतातिर छैन । जे गर्छु राम्रो काम गर्छु, राम्रो काम गर्दागर्दै कसले हटाउँदा रहेछन् नेपाली जनताले हेर्छन् । फेरि म सरकार छाड्न गाह्रो मान्ने मान्छे पनि होइन, टेन्सन पनि छैन’, प्रचण्डको भनाइ थियो ।

प्रचण्डको अभिव्यक्तिबाटै पुष्टि हुन्छ, उनलाई सत्तामा टिकिराख्न त्यति सहज छैन । तर, उनले आशंकाबीच गठबन्धनमा अझै राम्रो भइरहेकोसमेत जिकिर गरेका छन् ।

प्रचण्डले मात्रै नभइ उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि सरकारले सुशासनको अभियान थालेकाले आफूलाई हटाएर असफल पार्ने प्रयास भइरहेको बताउँदै आइरहेका छन् ।

प्रधानमन्त्री र गृहमन्त्रीको यस्ता पछिल्लो अभिव्यक्ति त्यसै आएको होइन । सरकारले अघि बढाएको नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, कांग्रेस सासद सुनिल शर्मा पक्राउदेखि सुन प्रकरणमा आइपुग्दासम्म गठबन्धनमा आशंका बाक्लिएको छ । जुन कुरालाई गठबन्धनभित्र अन्तरविरोध राम्रो चलेको प्रचण्ड जानकार भएर नै पछिल्ला अभिव्यक्ति आएको विश्लेषण हुन थालेको छ ।

शरणार्थी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र बालकृष्ण खाण थुनामा छन् । सो प्रकरणमा देउवापत्नी आरजु राणा र खाणपत्नी मञ्जुको पनि कनेक्सन रहेको आरोप छ । तर, देउवाको दबाबकै कारणले उनीहरुमाथि अनुसन्धान प्रक्रिया अघि बढ्न सकेन ।

शरणार्थी प्रकरण अनुसन्धान गर्ने प्रहरी अधिकृतहरु देउवा दम्पतीको दबाबमा प्रधानमन्त्रीले बाध्य भएर सरुवा गराइएको आरोप छ । जुन कुराबाट गृहमन्त्री पनि असन्तुष्ट छन् ।

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारका फाइललाई सरकार टिकाउने हतियार बनाएको आरोप लागिरहेको बेलामा जसपा अध्यक्ष उपेन्द्र यादव जोडिएको गौर हत्याकाण्डको छानबिन अघि नबढाउने गठबन्धन बैठकमा सहमति बन्यो । त्यतिमात्रै होइन माधव नेपाल र डा. बाबुराम भट्टराईलाई ललिता निवास जग्गा प्रकरणबाट उन्मुक्ति दिएपछि सरकारको आलोचना भइरहेको छ ।

सुन काण्डमा जोडिएका आफू निकटका व्यक्तिहरुलाई प्रधानमन्त्री र गृहमन्त्रीले जोगाएकोप्रति गठबन्धनमै प्रश्न उठेको छ । सुन काण्डमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा बाबुछोराको संलग्नता भएको आरोप छ । छोरा राहुललाई पक्राउ गरे पनि महारामाथि अनुसन्धान अघि बढाइएको छैन ।

तर, प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीका नेतामात्रै नभएर छानबिनको क्रममा आफ्नो नाम आए पनि हत्कडी लगाएर लान सीआईबीलाई भनिसकेको तर्क गर्दै आइरहेका छन् ।

प्रधानमन्त्री र गृहमन्त्रीको भनाइ र गराइमा फरक भएको भन्दै अधिकांश नेताहरुले आलोचना गरेपछि देउवाले प्रधानमन्त्रीलाई गृहमन्त्री फेर्नुपर्ने दबाब बढाएका छन् । त्यही विषयलाई लिएर देउवा दम्पती बालुवाटार पुग्नुका साथै गृहमन्त्री स्वयंलाई भेटेर चेतावनी दिइसकेको बताइन्छ ।

गृहमन्त्री हटाउन दबाब

देउवा निकट कांग्रेस सहमहामन्त्री महेन्द्र यादव गृहमन्त्रीले आफू निकटकालाई जोगाएर निर्दोष व्यक्तिलाई फसाएर जेल हालेको दाबी गर्छन् ।

उनले नेपाल प्रेससँग भने, ‘अहिले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति जस्तो सरकार नै ढल्ने खालको गठबन्धनमा कुनै समस्या छैन । यो गठबन्धन अघि बढ्छ । तर, गृहमन्त्रीमाथि प्रश्न उठेको छ । मन्त्रीहरु चाहिँ फेरिन सक्छन् ।’

उनले आफ्नो पार्टीको नेता खाण निर्दोष भएको दाबी गर्दै गृहमन्त्रीले नै फसाएर थुनेको आरोप लगाए । सहमहामन्त्री यादवले भने, ‘बालकृष्ण खाण जस्तो निर्दोष मान्छेलाई फसाएर जेल हालिएको छ । दोषीलाई छाडेको छ । गृहमन्त्रीबाट कांग्रेसका नेताहरुलाई फसाउने काम भएको छ । त्यसमा हामी सन्तुष्ट छैनौं ।’

कांग्रेसका नेताहरुलाई मात्रै फसाएर गृहमन्त्रीले राम्रो नगरेकाले उनलाई फेर्नेबारेमा छलफल हुने उनको भनाइ छ ।
कांंग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पनि गृहमन्त्रीमाथि प्रश्न उठिसकेकाले राजीनामा दिनुपर्ने राय दिन्छन् ।

‘आमनागरिकमा थोरै भए पनि आशा जगाउने अवस्था बन्दै जाँदा गृहमन्त्रीजी तपाईंले पनि फेरि नागरिकमा निराशा थप्नुभएको छ । सत्ताको मोलमोलाइमा तपाईंको इमान पनि डगमगाएको छ । गम्भीर आरोप लागिरहँदा तपाईं नैतिक रुपले पदमा टासिइरहन सुहाँउछ ? कृपया निष्पक्ष अनुसन्धानको लागि बाटो खोल्नुस्’, उनले फेसबुकमा लेखेका छन् ।

तर, कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा भ्रष्टाचारको छानबिन गर्ने विषयमा सरकारलाई कसैले दबाब नदिएको दाबी गर्छन् ।

उनी भन्छन्, ‘सरकारको अभियानमा हाम्रो साथ छ । तर, हामीले दोषी नउम्कियोस्, निर्दोष नफसोस् भनिरहेका छौं । सरकारमाथि कसैले दबाब दिएको छैन । निष्पक्ष छानबिनमा हाम्रो जोड छ ।’

प्रधानमन्त्रीले जुनसुकै बेला सरकार छाड्न तयार छु भन्ने अभिव्यक्ति दिएपछि गठबन्धनमा देखिएको अन्तरविरोधबाट आफूहरु नआत्तिएको माओवादी सचिव डिलाराम आचार्य बताउँछन् ।

उनले भने, ‘शेरबहादुरजीबाट अहिले सरकारमा धोका हुन्छ भन्ने हामीले कल्पना गरेका छैनौं । अहिले गठबन्धनविरोधी विभिन्न हल्ला चलिरहेका छन् । त्यसमा कुनै सत्यता छैन ।’

उनले गृहमन्त्री हटाउन कसैले दबाब नदिएको जिकिर गर्दै पार्टीभित्र छलफल नभएको बताए ।

प्रचण्ड लचक !

पछिल्लो समय गठबन्धनमा देउवा हाबी हुन थालेपछि प्रधानमन्त्री प्रचण्ड सत्ता टिकाउन लचक हुँदै आएका छन् । २९ साउनमा सत्ता गठबन्धनको बैठकमा गृहमन्त्रीप्रति देउवाको आक्रोशपछि प्रचण्ड हच्किएको नेताहरु बताउँछन् ।

त्यसपछि एआईजी सरुवादेखि आफ्नो पार्टीको भागमा परेको संसदीय समितिको सभापति समेत राप्रपालाई छाड्न प्रचण्ड तयार भए । कोशी सरकार टिकाउन आफूले पाएको पूर्वाधार विकास समितिको नेतृत्व राप्रपालाई सुम्पिन तयार हुनु प्रचण्डको लचकताकै प्रमाण हो । तर, राप्रपाले कुनै सहमति नभएको दाबी गर्दै आएको छ ।

भ्रष्टाचारका फाइललाई सत्ता बार्गेनिङ टुल बनाएको आरोप लगाउँदै कांग्रेस महामन्त्री गगन थापाले समेत अब मौन नबस्ने चेतावनी दिइसकेका छन् । उनले संसदको रोष्टमबाटै प्रधानमन्त्रीलाई नयाँ ढंगले सामना गर्न चेतावनी दिएपछि गठबन्धनभित्र आशंका बढेको प्रस्ट हुन्छ।

तर, महामन्त्री थापाको अभिव्यक्तिले गठबन्धनमा कुनै समस्या नपार्ने माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले दाबी गरे । पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘राजनीतिमा कुन क्षण के हुन्छ भन्न सकिँदैन । तर, अहिले गठबन्धनमा कुनै समस्या आउँदैन । कांग्रेस र माओवादीबीच कुनै खटपट छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर