अष्ट्रियाबाट रानी ताज नआउँदा बन्दीपुरको केवलकार सञ्चालन अनिश्चित ! – Nepal Press

अष्ट्रियाबाट रानी ताज नआउँदा बन्दीपुरको केवलकार सञ्चालन अनिश्चित !

काठमाडौं । बन्दीपुरमा भदौ १ गतेबाट सञ्चालन गर्ने तयारी गरिएको केबलकार रानीको ताज नआउँदा रोकिएको छ । उक्त ताज केबलकारसँग बन्दै गरेको होटलमा राख्ने योजना थियो । रानीको ताज समयमै नआउँदा केबलकार सञ्चालनको मिति नै अनिश्चित हुन पुगेको छ ।

होटल र केबलकारमा स्थानीय तह र बासिन्दाहरुले समेत लगानी गरेका छन् । स्थानीय सरकार र निजी व्यवसायीको संयुक्त लगानीमा बन्दीपुरमै पहिलो ५ तारे होटल बनिरहेको हो । बन्दीपुरमा केबलकार र ५ तारे होटल सञ्चालनमा आएपछि पर्यटक बढ्ने विश्वास गरिएको छ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले केबलकार र होटल निर्माण गरिरहेको हो ।

केवलकारको माथिल्लो स्टेशनमा १३ तले ५ तारे होटल बनिरहेको छ । यो होटलको नाम क्वीन टावर हो । यही टावरमा रानीको ताज राख्ने कम्पनीको योजना छ । होटलको १३औं तलामा स्वीमिङ पुल रहनेछ । होटलमा ९ सयभन्दा धेरै ग्राहक बस्न सक्ने क्षमता रहेको छ ।

बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले होटलमा राख्न अस्ट्रियाबाट ताज मगाएको जानकारी दिए । ‘त्यो ताज कहिले आइपुग्छ भन्ने एकिन  छैन । त्यो केबलकारको बाटो भएर नै लानुपर्ने भएकाले ताज नलगी केबलकार सञ्चालन गर्न मिल्दैन’, उनले भने ।

होटल आउँदो मंसिरसम्ममा निर्माण सक्ने लक्ष्य रहेको अध्यक्ष शर्माले जानकारी दिए । कम्पनी सञ्चालकको बैठक बसेर कसरी अगाडि बढ्ने भन्ने निर्णय हुने उनले बताए ।

लिमिटेडले पहिलो चरणमा केबलकार निर्माण गर्ने तथा त्यसपछि रेस्टुरेन्ट र होटल भवन तयार गर्ने लक्ष्य लिएको थियो । दोस्रो चरणमा केबलकारको टप स्टेसनमा ५ तारे होटल निर्माण गर्ने योजना थियो । अहिले केबलकार र होटल एकैपटक सञ्चालनमा आउने सम्भावना बढेको छ ।

केबलकारको परीक्षण करिब करिब सकिएको कम्पनीले जनाएको छ । सबै संरचना पनि पूरा भइसकेको छ ।

कम्पनीमा स्थानीयको १२ करोड र स्थानीय तहको ५० लाख लगानी रहेको छ । ३५८ करोडमा होटल र केबलकार निर्माण अघि बढेको हो । केबलकार र होटल निर्माण गर्न २०७९ भदौ २७ गते उद्योग विभागमा कम्पनी दर्ता भएको थियो ।

होटलमा ८० वटा कोठा रहनेछ । २५० सीटको रेस्टुरेन्ट बन्नेछ । पुरानो डुम्रेबजार नजिकै पृथ्वी राजमार्गसँगै केबलकारको स्टेशन बनेको छ । स्टेशनमा रेस्टुरेन्टसहितको भवन तयार भएको छ । केबलकारले प्रतिघण्टा ५०० जना यात्रु बोक्ने क्षमता राख्छ ।

बन्दीपुर केबलकारमा स्थानीय र स्थानीय तहसँगै पञ्चासे केबुलकार एण्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड र आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्रालिको लगानी रहेको छ । सो आयोजनामा १ हजार भन्दा धेरै लगानीकर्ता रहेका छन् ।­


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *