महिला र समावेशीबाट आएका सांसदलाई समान अवसर र अधिकार दिन माग – Nepal Press

महिला र समावेशीबाट आएका सांसदलाई समान अवसर र अधिकार दिन माग

रूपन्देही । महिला र समावेशी कोटाबाट निर्वाचित सांसदहरुले समान अवसर र अधिकार दिन माग गरेका छन् । लुम्बिनी प्रदेश सभाले सोमबार बुटवलमा आयोजना गरेको प्रदेशसभा सदस्य र पूर्व प्रदेशसभा सदस्यबीच अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनीहरुले प्रत्यक्ष निर्वाचित र अन्य कोटाका सांसदको तुलनामा आफूमाथि विभेद भएको बताए । कार्यक्रममा बोल्दै उपसभामुख मेनुका खाण केसीले प्रत्यक्ष निर्वाचितको भन्दा समानुपातिक र समावेशी कोटाबाट आएका सांसदहरुले काम गर्ने क्षेत्र फराकिलो र ठूलो रहेको बताइन् ।

प्रदेशका १२ वटै जिल्ला र ५२ वटा निर्वाचन क्षेत्रका नागरिकका सवाललाई समानुपातिक सांसदले उठाउन र काम गर्न सक्ने भएपनि त्यस्तो वातावरण नरहेको उनले गुनासो गरिन् । उपसभामुख खाणले समानुपातिकबाट आएका महिला र सिमान्तकृत सांसदहरुलाई तल्लो दर्जामा हेर्ने बजेटदेखि जिम्मेबारे लेनदेनमा पनि विभेद गर्ने गरेको अनुभव सुनाइन् ।

प्रदेश सभा सदस्यहरुले भौतिक विकासले मात्रै समाज रुपान्तरण गर्न र नागरिकमा संघीयताको अनुभूति दिलाउन नसकिने भएकाले लैंगिक समानता र समावेशीताको सवाललाई प्राथमिकता दिएर प्रदेशसभामा उठाउने वातावरण बनाउन सुझाव दिएका थिए । प्रदेश सभा सदस्य भगवती घिमिरेले महिला सांसदले उठाएका कतिपय विषयलाई नजरअन्दाज गरिएको बताइन् ।

सांसद हेमा बेल्वासे केसीले समानुपातिकबाट आएका सांसदहरुलाई हेर्ने दृष्टिकोण नै फरक भएकाले फेर्न सुझाव दिइन् । सांसद जमुना ढकालले बजेट विनियोजनदेखि आतिथ्यतासम्म महिला, समानुपातिक र समावेशी कोटाबाट आएका सांसदहरुलाई विभेद गरेको बताइन् ।

सांसद यमबहादुर नेपालीले सिमान्तकृत समुदायबाट आएका सांसदहरुका लागि क्षमता विकाससंगै उनीहरु नागरिकमाझ जानसक्ने वातावरण नभएको गुनासो गर्दै यसलाई सुधार्न आग्रह गरे । सांसद शान्ति लोधले भाषा, संस्कृति र संस्कारले समानुपातिक र पछाडि परेको समुदायबाट गएका सांसदलाई जान्न बुझ्न समस्या भएको बताइन् ।

सांसद वसीउद्धिन खानले सिमान्तकृत समुदायका सवाल संसदमा उठाएपनि सरकारले नसुन्ने परीपाटी रहेको बताए । अघिल्लो कार्यकालमा सदनबाट जतिसुकै आवाज उठाउदा पनि नसुनिएको बताउँदै आफू शिक्षामन्त्री बनेपछि मुस्लिम, वादी लगायत सिमान्तकृतको शिक्षामा धेरै नमुना काम गरेको उनले सुनाए ।

सांसद इन्द्रजीत थारुले संविधानले दिएको समानुपातिक र समावेशी कोटाअनुसार सांसद छानिएपनि उनीहरुलाई सरकारमा लैजाने र लक्षित समुदायसित काम गर्न प्रोत्साहित गर्ने वातावरण अझै नभएको बताए । उनले मुखले समावेशी भनेपनि अझैपनि भाग खोसिएका रुपमा लिँदा सांसदहरुबीच पनि विभेद रहेको दाबी गरे ।

सांसद भोजप्रसाद श्रेष्ठले प्रदेशसभामा प्रभावकारी भूमिका देखाउन सांसदहरु पहिले घटनाबारे जानकार, अध्ययनशील र विषयमा पोख्त हुनुपर्ने बताए । नागरिकका अधिकारका सवाल उठाउँदा दलहरु बाधक बने त्यस्तो घेरालाई समेत तोड्न उनले सुझाव दिए । यसका लागि समानुपातिक र समावेशी कोटाबाट छानिएर आएका सांसदहरुले नागरिकका जनजीविका, अधिकार र सामाजिक रुपान्तरणका विषयलाई मुद्धा बनाएर अगाडि बढ्नुपर्ने उनले बताए ।

पूर्व प्रदेश सभा सदस्य रमा घर्तीले प्रदेश सभामा प्रभावकारी भूमिका खेल्न क्षमता विकास, प्रतिस्पर्धात्मक भावना र नयाँ काम गर्ने हुटहुटी लिन अनुरोध गरिन् । ५ वर्ष प्रदेश सभा सदस्य हुँदा खेलेको भूमिकाबारे अनुभव सुनाउँदै विधेयक निर्माण, सरकारका कामको अनुगमन, संसदीय निगरानीमा आफूलाई केन्द्रीत गर्न सुझाव दिए । प्रदेश सभा सचिव दूर्लभकुमार पुनले कार्यपत्र प्रस्तुत गर्दै प्रदेशसभाले महिला र सिमान्तकृत समुदायका सांसदबाट अन्य सांसदहरुबाट भन्दा भिन्न भूमिका खोजेको बताए ।

संचारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले लुम्बिनीमा महिला र सिमान्तकृतको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै अवस्था सुधारका लागि काम गर्न आग्रह गरिन् ।

नागरिकका समस्या सरकारसम्म लैजान सांसदले भूमिका बढाउनुस् : सभामुख घर्ती

लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले नागरिकका समस्या सरकारसम्म र सरकारका योजना नागरिकमाझ पुर्याउन प्रदेश सभा सदस्यहरुले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन् । सभाले सोमबार बुटवलमा आयोजना गरेको प्रदेशसभा सदस्य र पूर्व प्रदेशसभा सदस्यबीच अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताए ।

सभामुख घर्तीले सरकारलाई जिम्मेवार बनाउन, सुशासनमा हिँडाउन र प्रदेशको विकासका लागि आवश्यक ऐन कानुन बनाउन सांसदहरुको भूमिका अझ बढ्नुपर्ने जनाए । सबै जाति, धर्म, लिंग र समुदायको पहुंचका लागि समानुपातिक कोटा आएको बताउँदै सभामुख घर्तीले प्रत्यक्षभन्दा समानुपातिक र समावेशी कोटाबाट आएका सांसदहरुले अझ बढी नागरिकका समस्या र सामाजिक रुपान्तरणका सवाललाई सरकारसम्म लैजान र त्यसअनुसार नीति कानुन बनाउन भूमिका खेल्नुपर्ने उनको सुझाव थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर