‘माधव नेपाल समकालीन नेतामध्ये सबैभन्दा चोखो छन्, आरोप लाउनेहरुलाई पाप लाग्छ’ (भिडिओ) – Nepal Press
नेपाल टक

‘माधव नेपाल समकालीन नेतामध्ये सबैभन्दा चोखो छन्, आरोप लाउनेहरुलाई पाप लाग्छ’ (भिडिओ)

नेकपा एसका पोलिटव्युरो सदस्य होम बुढाथोकी भन्छन्- झलनाथको फरक मत पार्टीको सम्पत्ति हो, महाधिवेशनमा नेतृत्वको विवाद हुन्न

काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य होमबहादुर बुढाथोकी तत्कालीन नेकपा एमालेभित्र झलनाथ खनालका ‘किचन क्याबिनेट’ सदस्य मानिन्थे । नेकपा विवाद हुँदै एमाले विभाजनपछि खनालसँगै नेकपा एसमा उभिएका बुढाथोकी एकै पटक पोलिटव्युरोमा पुगे । उनी साविक नेकपा एमालेमा केन्द्रीय लेखा आयोगको सदस्य थिए ।

पछिल्लो समय उनी नेकपा एसभित्र माधव नेपालको रक्षाकवच भएर निस्किरहँदा झलनाथ खनालसँग वैचारिक रुपमा टाढिएका हुन् ? यसबारे प्रश्न गर्दा उनले कूटनीतिक जवाफ दिँदै आफू दुवै नेताको समदूरीमा रहेको बताए ।

नेकपा एसको पोलिटव्युरो बैठक लाग्दा बुढाथोकीको गृहजिल्ला रामेछापका नेकपा एसका अध्यक्ष नै एमालेमा फर्किए । तर पनि उनी लोभीपापीहरु आउने जाने भइरहने भन्दै नेकपा एसको भविष्य रहेको दाबी गरिरहेका छन् ।

व्यापार व्यवसायमा समेत रहेका बुढाथोकी मुलुकको पछिल्लो आर्थिक अवस्थाबाट भने निराश छन् । व्यवसायीलाई सरकारले धरपकड गर्ने र कर तिर्नेको सम्मान नगर्ने अवस्थाले काठमाडौंमा धमाधम सटरहरु समेत बन्द हुन थालेको र आर्थिक संकट निकट रहेको उनले बताए ।

प्रस्तुत छ, नेकपा एसका पोलिटव्युरो सदस्य होमबहादुर बुढाथोकीसँग नेपाल प्रेसले गरेको कुराकानी  नेपाल टकमा:

– नेकपा एसको बैठकबाट के आयो निष्कर्ष ?

नेकपा एसको बैठक भर्खरै समाप्त भएको छ । अहिलेको यस बैठकपछि केन्द्रीय कमिटी उत्साहित छ । अब यही असोजदेखि देशैभर (मेची–महाकाली) जनताका घरघर, टोलटोल र बस्तीबस्तीमा सबै नेताहरु जानेछौं । जसरी हामीले हाम्रा कुरा भन्न नसकेर अलिकति कमजोरी भएकै हो, अब त्यो कमजोरी रहँदैन ।

केही मानिसहरु छोडेर जाने, लोभीपापी मान्छेहरु जानेआउने सधैं भइरहन्छ । आउने जाने मान्छेहरु भनेको आफ्नो स्वार्थको लागि आउनुहुन्छ । फेरि स्वार्थ मिल्दैन, त्यो जानेआउने कुरा भइरहेको छ । तर, पार्टीका हामी नेताहरु, केन्द्रीय कमिटीका साथीहरु सबै उत्साहित नै छौं । हामी अलि फरक रुपमा जान्छौं भन्ने लाग्छ । यो बैठकपछि अलिकति वैचारिक तथा राजनीतिक हिसाबले तिखारिएको हो भन्ने लाग्छ ।

– झलनाथ खनालको फरक मत पनि आएको छ । नेकपा एसमा दुईधार प्रस्ट देखिएको हो ?

हरेक मानिसको फरक मत हुन्छ । एउटै मत हुन्छ भन्ने हुँदैन । त्यसमाथि कम्युनिष्ट पार्टीमा यस्ता विचारको बहस आवश्यक छ । उहाँहरु अलि वरिष्ठ वैचारिक नेता भएको हुनाले फरक मत नआइदिए हुन्थ्यो भन्ने आममानिसको सोच हो । तर, फरक मत पार्टीको सम्पत्ति हो । पार्टीलाई त्यसले झन एकताबद्ध गरेर लान्छ । पार्टीलाई राम्रै गरेको छ उहाँको फरक मतले । उहाँले गरेका धेरै कुराहरु राम्रा पनि छन् । हामीहरु उत्साहित छौं । उहाँका नसमेटिएका कुराहरु समेट्नुपर्छ भनेका छौं । वैचारिक हिसाबले सबैले सबैलाई सल्लाह दिनु राम्रो हो ।

– झलनाथ र माधव नेपाल दुई जना आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार हुने देखियो, होइन त ?

यस्तो कुरा म अहिले त ठ्याक्कै भन्दिनँ । उहाँहरु उम्मेदवारभन्दा पनि मिलेर जानुहुन्छ । कहीं न कहीं समझदारी भएर मिलेर जानुहुन्छ । माधव र झलनाथभन्दा पनि पार्टीमा को अगाडि बढ्दा पार्टी राम्रो हुनसक्छ ? त्यसरी नै अगाडि बढ्छ । अरु कोही नयाँ नेतृत्व नयाँ ढंगले आउन पनि सक्नुहुन्छ । यो कुरा आजै भन्न सकिँदैन ।

– माधव नेपाललाई यति ठूलो ललिता निवास काण्ड लाग्यो, सरकार आफ्नो भएकाले उन्मुक्ति दिइए पनि नैतिक रुपमा नेतृत्व गर्नलाई समस्या देखियो नि ?

म नेपाल प्रेस जस्तो लोकप्रिय सञ्चारमाध्यममार्फत के भन्न चाहन्छु भने समकालीन राजनीतिमा माधव नेपाल जतिको इमानको नेता अरु कोही पनि छ जस्तो लाग्दैन । माधव नेपालको योगदानलाई कसैले बिर्सिन्छ भने साँच्चिकै पाप लाग्छ अथवा नराम्रो हुन्छ ।

माधव र झलनाथभन्दा पनि पार्टीमा को अगाडि बढ्दा पार्टी राम्रो हुनसक्छ ? त्यसरी नै अगाडि बढ्छ । अरु कोही नयाँ नेतृत्व नयाँ ढंगले आउन पनि सक्नुहुन्छ । यो कुरा आजै भन्न सकिँदैन ।

माधव नेपालले शान्ति प्रक्रियामा देखाउनुभएको भूमिका सबैलाई थाहा नै छ । माधव नेपालले रोल्पाका जंगल, भारतका गल्लीगल्लीमा गएर माओवादीसँग नभेटेको भए गिरिजाप्रसादले मात्रै त्यो सम्भव थिएन ।

माधव नेपाल एउटा मैनबत्ती जस्तै आफू सकिएर पनि अरुलाई उज्यालो प्रकाश दिने मान्छे हो । माधव नेपाल आर्थिक, सामाजिक र राजनीतिक कुरामा विवादित मान्छे होइन । यत्तिको चोखो र स्वच्छ मान्छेमाथि आरोप लगाउनेहरु अपराधी हुन् ।

माधव नेपालको विरोध गर्ने, खेदो खन्ने तथा माधव नेपाललाई सक्छु भन्ने मानिसहरु केही छन् । माधव नेपाललाई छुनेबित्तिकै खत्तम हुन्छ भन्ने मानिसहरु पनि छन् । जुन मानिसको विचार र सिद्धान्त हुँदैन, तिनै मानिसहरु सकिन्छन् । हिजो एमाले सत्तामा थियो । तर, आज एमाले सकिँदैछ । विचार छैन भने के हुन्छ ? एमाले सत्तामा थियो । तर, सत्ताबाट झर्‍यो । एमाले ठूलो पार्टी थियो, सानो हुँदै गएको छ । एमालेको अवस्था हेर्नुस्, कस्तो छ ? हो, तिनीहरुले माधव नेपाललाई आरोप लगाएका छन् ।

माधव नेपाललाई सक्ने हिसाबले हामीलाई छाडेर गएका केही मानिसहरु पनि छन् । आज ओलीको प्यारो देखिन दश हात माथि उफ्रेर माधव नेपालको विरोध गरे पनि उनीहरुको विरोधको ‘तुक’ लाग्दैन । आमनागरिकलाई माधव नेपाल जति चोखो र असल मान्छे कोही छैन नेपाली राजनीतिमा भन्ने थाहा छ ।

– तर सत्ता प्रयोग गरेर बाबुराम र माधवले उन्मुक्ति पाएको त तपाईंले भनेका आममानिसले नै भनिरहेका छन् नि ?

बाबुरामको बारेमा म भन्न सक्दिनँ । तर, माधव नेपालमाथिका आरोप मिथ्या हुन् । माधव नेपालले भनेअनुसार उहाँ यो मुद्दामा फस्नुहुन्न । विरोध गर्नेहरुले धेरै विरोध गरिरहेकै छन् । फस्ने भए माधव नेपाल उहिले नै फसिसक्थे । केपी ओलीले माधव नेपाललाई बाँकी राख्थे ? माधव नेपालले जसलाई नेता बनाएका थिए, उनीहरु नै आज विरोधी भएका छन् ।

जस्तै केपी ओलीलाई माधव नेपालले नै बनाएका हुन् । विद्या भण्डारीलाई पनि माधव नेपालले बनाएका हुन् । जसलाई माधव नेपालले बनाए, उनैले माधवको खेदो खन्ने काम गरिरहेका छन् । आमजनताले माधव नेपाल खराब हुन भन्दैनन् । माधव नेपालका हरेक क्रियाकलाप नैतिकवान छन् । आर्थिक मामिलामा घुस नखाने तथा चारित्रिक कुराहरु माधव नेपालले देश बिगार्ने काम गरेका छैनन्, जुन अरुले गरेका छन् ।

केपी ओलीलाई माधव नेपालले नै बनाएका हुन् । विद्या भण्डारीलाई पनि माधव नेपालले बनाएका हुन् । जसलाई माधव नेपालले बनाए, उनैले माधवको खेदो खन्ने काम गरिरहेका छन् । आमजनताले माधव नेपाल खराब हुन भन्दैनन् ।

अहिले ठूल्ठूला नेताहरु विभिन्न मुद्दामा फसिरहेका छन् । नेताहरु जेलमा छन् । अरु पनि धेरै कुरा आउँदैछ । काण्डैकाण्ड छन् । उहाँहरु आफू फस्ने हिसाबले माधव नेपाललाई पनि फसाइदिऊँ भनेर लाग्नुभएको हो । यसमा सफल हुँदैनन् ।

– यसपटक पार्टी बैठकले माधव नेपालको एक स्वरमा प्रतिरक्षा गर्ने निर्णय गरेको हो कि के हो ?

मलाई त्यस्तो लाग्दैन । एक स्वरमा भन्ने कुरा हाम्रो बैठकमा उठेन । तर, माधव नेपालको बारेमा कसैले नराम्रो कुरा गर्छ भने डटेर प्रतिवाद गर्ने भन्ने हो । कसैले नेतृत्वलाई फसाउन खोज्छ भने त्यसको प्रतिवाद गर्नु हाम्रो दायित्व हो ।

– तर, निर्वाचनको परिणाम हेर्ने हो भने तपाईंहरुको अवस्था दयनीय छ, गठबन्धनको दयाले १० सीट पाए पनि आफ्नै पार्टीको जनमतको हालत एउटा जिल्लामा १५ सय पनि छैन, अब के आत्मबलले पार्टी बनाउन लाग्नुहुन्छ ?

हामी निराश छैनौं । केही मानिसहरु आउँछन्, जान्छन् । त्यो राजनीतिमा हुन्छ । हामीसँग विचार छ । हामीले स्टन्टबाजी गर्न सकेनौं । अरुको जस्तो केरुङबाट रेल ल्याएर कुस्मातिर स्टेसन बनाउँछौं भनेनौं । घरघरमा ग्यास पाइप लान्छौं पनि भन्न सकेनौं । त्यस्तो नगरे पनि हामीसँग विचार छ । विचार भएका नेता छन् । घनश्याम भुसाल जस्ता वैचारिक नेताहरु हामीसँगै हुनुहुन्छ । माधव, झलनाथ जस्ता दिग्गज नेताहरु -जसले देशको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याएर यो अवस्थामा ल्याए- उनीहरु हामीसँगै छन् । हामीसँग तलदेखि माथिसम्म इमानदार मानिसहरु छन् । त्यसैकारण आत्तिहाल्नुपर्ने छैन ।

हिजो ३-४ जनाबाट सुरु गरेको पार्टी हो । पछि ७ जना हुनुभएको थियो नेताहरु । ७ जनामा तीनजनाले छोड्नुभयो । त्यस्तो हुँदै हुँदै फेरि बनेको पार्टी हो यो । अलिकति समय लाग्नसक्छ । तर, सत्यको विजय हुन्छ । हिजो गठबन्धन बनाउने काम भयो । तर, देशैभरि गठबन्धन राम्रो हुन सकेन । हामीले सोचे जस्तो मत पाएनौं । तर, राम्रोसँग लागेपछि राम्रै हुन्छ र यो पार्टी बन्छ ।

– अध्यक्ष र महासचिवका भाषण सुन्नभयो भने केपी ओलीको विरोधबाहेक अरु के विचार छ र तपाईंहरुसँग ?

केपी ओलीको व्यक्तिगत विरोध होइन । उहाँहरुले गलत काम गर्नुभयो भन्ने भनाइ हो । उहाँहरुसँग वैचारिक नेताहरु छन् जस्तो लाग्दैन । एमालेका धेरै नेताहरु जेलमा हुनुहुन्छ । देश बनाउन भिजन भएका व्यक्तिहरु छन् जस्तो लाग्दैन । व्यक्तिगत रुपमा केही विरोध छैन । देश यहाँसम्म पुर्‍याउन केपी ओलीको महत्वपूर्ण भूमिका छ । ओलीले संविधानविपरीत काम नगर्नुभएको भए वाम आन्दोलन टुक्रा टुक्रा हुने थिएन । वामपन्थीहरु टुक्रा नभएको भए देश अर्कैतिर जाने थियो । यो कुराहरु ओलीले जिम्मा लिनुपर्छ । इतिहासमा यो प्रश्न उठ्छ ।

देशको आर्थिक अवस्था गम्भीर छ । पैसाको अभाव छ । सीमित मान्छेसँग पैसा जम्मा भएको छ । आर्थिक गतिविधि कमजोर भयो । सयौं नागरिकहरु झुन्डिएर मर्ने अवस्थामा छन् । सरकारले उचित समयमा ठोस योजना लिएर अघि बढ्न नसक्ने हो भने सकिने अवस्थामा छ ।

– अझै पनि नेकपा एसको भविष्य देख्नुहुन्छ तपाईंहरु ?

नेपालको कम्युनिष्ट आन्दोलनको मूलधार हौं हामी । हामी ‘स्टन्टबाजी’ गरेर अगाडि बढ्न सकेनौं । अहिले गलत प्रचार गरेरमात्रै अगाडि बढ्नेहरुको जमात छ । तर, साँच्चिकै इमानदार मानिसहरु नेकपा एसमा नै छन् । हामीसँग वैचारिक मानिसहरु छन्, इमानका मानिसहरु छन् । हाम्रो केन्द्रीय कमिटीमा हुने मानिसहरु हेर्दा आजसम्म कुनै गलत काममा नफसेका, असल मानिसहरु छन् । यो पार्टी वैचारिक हिसाबले चल्ने भएकाले भविष्य छ ।

उदाहरणका लागि आज देशमा आर्थिक मन्दी, सामाजिक अराजकता र धार्मिक तथा जातीय विद्वेष सिर्जना गर्न खोजिँदैछ । यस्तो विषयमा हाम्रो पार्टी सबैभन्दा प्रस्ट छ ।

जहाँ मानिसले धर्मलाई प्रयोग गरेर अर्को धर्मप्रतिको आस्थाप्रति, अर्काको धर्मप्रति ठेस लगाउन खोज्छ, त्यो सकिन्छ । संसारमा यस्ता युद्ध भए, जसले देश नै कंगाल भए । यस्ता जातीय र धार्मिक कारणले देश नै समाप्त भए । जरा नभएका मानिसहरुले यस्ता कामहरु गरिरहेका छन् यहाँ नेपालमा पनि । जरा नभएपछि जसरी मानिस फुत्त आयो, त्यसरी नै अन्त हुँदोरहेछ । केही मानिसहरु त्यसरी फुत्त राजनीतिमा आएका छन् अनेक चटक देखाएर र समाजलाई विभाजित गर्न खोजेर । तर, छोटो समयमै आए, छोटो समयमै जाने अवस्थामा छन् ।

जहाँसम्म आर्थिक पक्षलाई हेर्दा देशको आर्थिक अवस्था गम्भीर छ । पैसाको अभाव छ । सीमित मान्छेसँग पैसा जम्मा भएको छ । आर्थिक गतिविधि कमजोर भयो । सयौं नागरिकहरु झुन्डिएर मर्ने अवस्थामा छन् । सरकारले उचित समयमा ठोस योजना लिएर अघि बढ्न नसक्ने हो भने सकिने अवस्थामा छ । जसले कर तिर्छ, त्यसलाई राज्यले जोगाउन सकेन भने राज्य पनि समाप्त हुन्छ । अहिले बैंकका ब्याजदरहरु कम गराउनुका साथै आवश्यक कामहरु परिचालन गरेर छिटोभन्दा छिटो ध्यान दिन सकेन भने देश डाँवाडोल अवस्थामा पुग्ने म देखिरहेको छु ।

न्युरोडका घरहरु खाली हुन थालेका छन् । रिङरोडका घरहरु खाली छन् । सटरहरु जताजतै बिक्रीमा लेखिएका छन् । म आफैं पनि व्यवसायी हुँ । तर, व्यवसायको अवस्था बर्बादीपूर्ण छ । सरकारले छिटो ‘पिकअफ’ गर्न सकेन भने देश जर्जर अवस्थामा जान्छ । करदातालाई धरपकड गर्ने, दबाबमा राख्ने जस्ता कुराले व्यवसायिक वातावरण बिग्रिएको छ ।


प्रतिक्रिया

2 thoughts on “‘माधव नेपाल समकालीन नेतामध्ये सबैभन्दा चोखो छन्, आरोप लाउनेहरुलाई पाप लाग्छ’ (भिडिओ)

  1. लोभी सानो चित्तको मनै सानो भएको र आफुलाई केन्द्रमा राखेर हिड्ने मानिस २०५४मा सानो चित्त गर्दा नेकपा माले वामदेव सिपी अशोक राई लगायतका नेताकाले विद्रोह ३५ जना केन्द्रीय सदस्य नदिएको माधवकुमारका कारण तत्कालीन समयमा पनि र २०७८ मा पनि पार्टी फुट्नु सधै आफू मात्र ठुलो हुने भुत चढ्नु अरू कसैले सेवासुविधा पाउन नहुने किन कि महासचिवमा हुदा वामदेव उपमहासचिव दिएर परराष्ट्र मन्त्री खानजानु लगायतका कमजोर छ माधवकुमार नेपाल सग त्यसकारण कम्युनिस्ट आन्दोलनका गद्द्दार भन्दा फरक नपर्ला रायमाझी पथका अनुयायी माधवकुमार झलनाथ मोहन बिक्रम प्रचण्ड बाबुराम पुजीवादी दलाल नोकरशाही का चाकरी बाज शेरबहादुर र भारत अमेरिकी एजेन्डालाई सघाउने हुन यीनीहरू।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर