राप्रपामा कचमच : वरिष्ठ उपाध्यक्षलाई बाइपास गर्दै उपाध्यक्षलाई कार्यवाहक दिए लिङ्देनले – Nepal Press

राप्रपामा कचमच : वरिष्ठ उपाध्यक्षलाई बाइपास गर्दै उपाध्यक्षलाई कार्यवाहक दिए लिङ्देनले

सत्तामा जानुपर्ने र जानु नहुने विषयमा नेतृत्वभित्र दुई धार

काठमाडौं । सत्ता कि सडक भन्ने वैचारिक अन्तरद्वन्द्वले राप्रपाको नेतृत्वभित्र खटपटका संकेतहरु देखिएका छन् । नेतृत्वको एउटा पङ्क्ति संघदेखि प्रदेशसम्म सत्तामा जान आतुर छ भने अर्को समूह सडक संघर्षको पक्षमा छ ।

हिजो मात्रै पार्टी संस्थापनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग समझदारी गरेर एउटा संसदीय समितिको नेतृत्व हात पार्न सफल भयो । कोशीमा कांग्रेस नेतृत्वको सरकार जोगाइदिने शर्तमा सत्ता गठबन्धनले राप्रपासँग लेनदेन गरेको चर्चा भइरहेका छन् । यद्यपि, यस विषयमा कुनै आधिकारिक सहमति नभएको राप्रपा स्रोतको दाबी छ ।

अर्कोतर्फ संघीय सरकारमा पनि पार्टी फेरि सहभागी हुनुपर्ने पक्षमा केही नेताहरू छन् । वरिष्ठ नेता पशुपति शमशेरलाई जसरी पनि एक पटक उपप्रधानमन्त्री बन्ने मृगतृष्णा छ । उपाध्यक्ष बुद्धिमान तामाङ, विक्रम पाण्डे, महामन्त्री डा. धवलशमशेर राणा लगायत नेताहरू सदाबहार सत्ताकांक्षी हुन् ।

आमनिर्वाचनमा पराजित भएका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने कुनै पनि हालतमा राप्रपाले यतिबेला सरकारतिर आँखा लगाउनु नहुने पक्षमा छन् । यसअघि राप्रपा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुँदा पनि उनी सन्तुष्ट थिएनन् । अहिले पार्टीको एजेन्डाका लागि उत्कृष्ट माहोल रहेको भन्दै सडक संघर्षमार्फत शक्ति सञ्चय गर्नुपर्ने उनको मान्यता छ ।

अध्यक्ष लिङ्देन भने यो विषयमा नेताहरूसँग खुलिसकेका छैनन् । तर, उनले भित्रभित्र प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग केही समयदेखि नेगोसिएसन गरिरहेको चर्चा पार्टीभित्र मात्र नभएर बाहिर पनि बढ्दो छ । यसअघि उपप्रधानमन्त्री तथा ऊर्जा मन्त्री बनेका उनले राप्रपा सरकारबाट बाहिरिने निर्णयसँगै ४० दिनभित्रै राजीनामा दिएका थिए । ऊर्जा मन्त्रालयमा आफूले छोटो समयमा राम्रो काम गरेको विश्वास गर्ने लिङ्देन फेरि त्यही मन्त्रालयमा कमब्याक गर्न इच्छुक रहेको बताइन्छ ।

हिजो भएको ‘लेनदेन’ ले राप्रपाको पुनः सत्ता यात्रा खोल्न सक्ने पनि सम्भावना छ ।

लिङ्देन भने यतिबेला विदेश भ्रमणमा छन् । उनी गत ५ भदौमा पार्टीसम्बद्ध प्रवासी नेपाली एकता समाज साउदी अरब र युएईको निमन्त्रणामा साताव्यापी भ्रमणका क्रममा दुबई पुगेका हुन् । उनी भोलि फर्किने कार्यक्रम छ ।

युएएई जानुअघि लिङदेनले राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक दिए । यसलाई पनि पार्टी नेतृत्वभित्र नयाँ गुटबन्दी अभ्यास सुरु भएको अर्थमा लिइएको छ । सेकेन्ड म्यानका रूपमा रहेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पन्छाएर लिङ्देनले तामाङलाई वरिष्ठ उपाध्यक्ष दिएका हुन् । पार्टीभित्र केही नेताले विधि मिचिएको टीकाटिप्पणी गरे पनि मिश्र स्वयम् भने मौन छन् । उनले कार्यवाहकको विषयलाई इस्यू बनाउन नचाहेको बुझिएको छ ।

राप्रपामा अध्यक्षपछि एक वरिष्ठ उपाध्यक्ष र चार उपाध्यक्ष छन् । चार उपाध्यक्षहरू महाधिवेशनबाट निर्वाचित भएर आएका हुन् । मिश्र भने एकीकरण प्रक्रियाबाट सिधै वरिष्ठ उपाध्यक्ष बनेका हुन् ।

तामाङलाई कार्यवाहक दिनुले लिङ्देन र मिश्रबीच सम्बन्ध चिसिन थालेको संकेत मिल्छ ।

अध्यक्ष लिङ्देन निकट एक नेताले भने मिश्र दोस्रो वरियताको उपाध्यक्ष नभएको जिकिर गरे । उनले भने, ‘उहाँ पार्टीको सेकेन्ड म्यान होइन । राप्रपामा पाँच वरिष्ठ उपाध्यक्ष छन् र मिश्र जी पाँचौँ वरियतामा हुनुहुन्छ ।’

ती नेताको दाबीअनुसार एकदेखि पाँचौँ वरियताका वरिष्ठ उपाध्यक्षमा क्रमशः बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की र रवीन्द्र मिश्र छन् ।

तटस्थ स्रोतले भने अहिलेसम्म घोषित रूपमा मिश्र मात्रै वरिष्ठ उपाध्यक्ष भएको बतायो । ‘वरिष्ठ उपाध्यक्ष भनेर तोकेर दिएको उहाँ मात्रै हो । अरू उपाध्यक्षहरूलाई वरिष्ठ नेता भनिएको छ, तर वरिष्ठ उपाध्यक्ष भन्ने कतै पनि छैन,’ स्रोतले भन्यो ।

केही दिनअघि राप्रपाका वयोवृद्ध नेता लोकेन्द्र बहादुर चन्दले अध्यक्ष राजेन्द्र लिङ्देनलाई बाइपास गर्दै आफ्नो निवासमा एउटा छलफल डाकेका थिए । निर्देशक समितिका सदस्यहरूलाई बोलाएर गरिएको छलफलमा केही नेताले पार्टी अध्यक्षको कार्यशैलीमाथि प्रश्न उठाइएको थियो ।

उक्त बैठकमा मिश्र पनि सहभागी थिए । यसलाई लिएर पनि मिश्रसँग लिङ्देन रुष्ट बनेको हुन सक्ने अनुमान छ । यद्यपि, सो बैठकले अध्यक्षको खिलाफमा कुनै पनि निर्णय भने लिएको थिएन ।


प्रतिक्रिया

One thought on “राप्रपामा कचमच : वरिष्ठ उपाध्यक्षलाई बाइपास गर्दै उपाध्यक्षलाई कार्यवाहक दिए लिङ्देनले

  1. राप्रपा जोगीको भाडो हो यसले जुनसुकै भिच्छा लिन्छ यसको साइनो कतै नभएको शक्ति भूतप्रेत र आत्माहरूको मा छ त्यसकारण २३७ बर्ष अगाडि देखिका दमीत आत्माहरू रहेका होलान् र त सधैं जनताको रगत पसिना यसलाई मनपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर