दीपकराज गिरी भन्छन्- दीपाको विहे होस् भन्ने पहिले लाग्थ्यो अहिले लाग्दैन – Nepal Press

दीपकराज गिरी भन्छन्- दीपाको विहे होस् भन्ने पहिले लाग्थ्यो अहिले लाग्दैन

आज ‘छक्का पञ्जा’ फेम्ड निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाको जन्मदिन । बिहानदेखि रातिसम्म उनलाई शुभकामना ग्रहण गर्दै फुर्सद छैन ।

दिपका अनस्क्रिन जोडी अभिनेता दिपकराज गिरीले भने उनलाई अलि विशेष किसिमको शुभकामना दिए । उनले सामाजिक सञ्जालमा काव्यात्मक शैलीमा दीपाप्रति आफ्ना भावहरु पोखेका छन् । तीन दशकअघि पहिलोपटक भेट्दाखेरिको क्षण स्मरण गर्दै दिपकले आफ्नो स्टाट्समा दीपाको प्रशंसासँगै उनको कमीकमजोरी पनि औल्याएका छन् ।

दीपक र दीपा महजोडीजस्तै एक-अर्कासँग नछुट्ने नाम हुन् । कतिपयले उनीहरुलाई रियल कपलका रुपमा समेत लिने गर्छन् । तर दिपक विवाहित हुन् भने दीपा अविवाहित । विवाह गर्ने उमेर नाघेर पनि दीपाले कुमारी रहनुमा दिपकमाथि प्रश्न उठ्ने गरेको छ ।

तर, जे भए पनि यी दुईको जोडी उदाहरणीय छ । एकअर्कालाई दुवैले निरन्तर साथ दिएका छन् । भन्नैपर्दा, एकअर्काबिना अधुरा छन् उनीहरु ।

दीपाको जन्मदिनमा दीपकसँग गरिएको संक्षिप्त संवादः

-जन्मदिनको शुभकामना राती नै दिनुभयो या बिहान ?

मैले उहाँलाई बिहान उठेर शुभकामना दिएको हो ।

-जन्मदिनको उपहार के दिनुभयो त ?

म उपहारमा भने त्यति विश्वास गर्दिनँ । मलाई हरेक दिन नै एउटा उपहार हो जस्तो लाग्छ ।

तपाईंलाई व्यक्तिगत हिसावमा उहाँ र उहाँको बानीव्यहोराहरु कस्तो लाग्छ ?

सबै व्यक्तिको बाहिरी रुप र भित्री रुप फरक-फरक हुन्छन् । एउटा व्यक्ति सबैसँग एउटै हिसावले प्रस्तुत हुँदैन । व्यक्तिअनुसार उसको चालचलन, व्यक्तित्व र व्यवहार फरक पर्न जान्छ । मान्छे बाहिर देखेजस्तो भित्र नहुन सक्छ । बाहिरबाट झट्ट हेर्दा हँसिलो र मिठो बोल्ने व्यक्ति भित्र कठोर प्रवृतिको पनि हुन सक्छन् । कतिपय व्यक्तिहरु बाहिरबाट हेर्दा रिस उठ्दो, कडा र घमण्डी देखिन्छन्, तर भित्रीरुपमा भने कमलो हुन्छन् ।

मेरो भनाइको आशय के हो भने किताबको कभर मात्र हेरेर त्यस भित्रको गँदी र विषयवस्तुबारे बुझ्न सकिन्न । दिपाजी पनि त्यस्तै हो । पुर्वेली हो, सिधा बोल्नुहुन्छ । त्यही भएर पनि होला, उहाँले बोल्दा खरो र ठाडो बोलेजस्तो लाग्छ । खासमा दह्रो हुनु पनि पर्छ । एउटा महिलाले संघर्ष गरेर यत्रो यात्रा जो पार गर्नुभएको छ ।

तर उहाँ देखिएभन्दा बिल्कुलै फरक हुनुहुन्छ । कसैलाई दुख वा गाह्रो पर्यो भने मद्दत गर्न अघि बढिहाल्नुहुन्छ । उहाँ आफ्नो वरिपरि कसैले खाएको छैनन् वा भोकै छन् भने आफूले खान आँटेको खानेकुरासमेत अरुलाई दिने मान्छे हो । आफ्नो वरिपरि अरुले नखाईन्जेल आफूले समेत खानु हुन्न उहाँ ।

दीपाजीसँगको सुरुको भेटघाटमा तपाईलाई उहाँ कस्तो लागेको थियो ?

सुरुमा त मलाई घमण्डीजस्तो लाग्थ्यो । अलि एटिट्युड भएको । आँखा पनि नजुधाउने । सहकर्मी भए पनि नबोल्ने । आफ्नो काम सकिएपछि हिँडिहाल्ने । हामीसँग बसेर चिया खान पनि नरुचाउने । आफ्नै सुर गर्ने खालको हुनुहुन्थ्यो ।

-तपाईंहरुको सुरुको भेट कहाँ भएको थियो ?

हाम्रो सुरुको भेट रेडियो नेपालमा भएको हो । उहाँ नाटक रेकर्ड गर्न आउनुभएको थियो । स्टुडीयोमा पहिलो भेट भएको थियो ।

-सुरुमा उहाँसँग भेट्दा यो मित्रता यहाँसम्म पुग्छ जस्तो लागेको थियो ?

सुरुको भेटमा यस्तो सोच आउनु त के कल्पना पनि गरिएको थिएन । सुरुसुरुमा उहाँसँग काम गर्दा यो सहकार्य यति लामो हुन्छ जस्तै लाग्दैन थियो । उहाँ र मेरो व्यक्तित्व र व्यवहार नै मिल्दैन भन्ने लाग्थ्यो । बिस्तारै काम गर्दै गइयो । सहकार्यसँगसँगै विचार मिल्दै गयो ।

घनिष्टताकै कुरा गर्नुहुन्छ भने, हामीले रेडियो नेपालमा ‘रामविलास धनिँया’ भन्ने कार्यक्रम गर्थ्यौँ । त्यहाँ कहिले झगडा गर्दै, कुरा मिल्दै, फेरि कहिल्यै झगडा गर्दै कुरा मिल्दै गर्दागर्दै गाइजात्रा कार्यक्रमतिर जोडिन थाल्यौँ । त्यो समय उहाँले मलाई हिरो बनाउन सक्नुहुन्न थियो, त्यसैले हामीले उहाँलाई कमेडियन बनाइदियाँै ।

-अहिले तपाईंको जिन्दगीमा उहाँको उपस्थितिले कति महत्व राख्छ ?

यति नै भन्न त म सक्दिनँ । तर मेरो व्यवसायिक जीवनमा यदि उहाँ नहुनुभएको भए आज म जुन स्थानमा छु, त्यो स्थानमा म कदापी हुदैन थिएँ । त्यसमा चाहीँ म १०० प्रतिशत सहमत छु ।

-स्टाटसमा फाइदा-बेफाइदा र जाेर-बिजोरको शहरमा तिमी मनको कुरा गर्छौ भन्नुभएको छ । यसको आशय के हो ?

उहाँ अलि झट्ट बोल्नुहुन्छ । महानायक केसमा नै हेर्नुस न । कति धेरै विवादित बनाइयो । उहाँले कति धेरै गाली खानुभयो । साँच्चै भन्ने हो भने उहाँले त्यति धेरै गाली खाने कुरा बोल्नुभएको थिएन । सामान्य आफ्नो एउटा मत राख्नुभएको थियो । त्यही कुरालाई घुमाएर मान्छेहरु मतर्फसमेत खनिए । मान्छेले सफलता हासिल गरिरहँदा एउटा सतर्कता पनि अपनाउनुपर्छ भन्ने कुरालाई उहाँले बुझ्नुभएन । क्यामरा अगाडी घरमा बसेर कुराकानी गरेजस्तो गरी कुरा गर्नुभयो ।

उहाँ साथीभाइसँग पनि मनमा केही कुरा नराखी भएभरको सबै कुरा खोल्दिनुहुन्छ । उहाँ सबैको कार्यक्रममा जानुहुन्छ । सबैलाई खुसी पार्न खोज्नुहुन्छ । सफा मनको हुनुहुन्छ । तर कहिलेकाहीँ यस्ता कुराहरुले उहाँलाई नै असर गर्न सक्छ । हुन त उहाँले मनमा केही पाप नराखी आफ्नो ठानेर आफ्ना मनका कुरा गर्नुभएको हो ।

तर सबै आफैजस्तो हुँदैनन् । सबैको आफ्नैजस्तो सोच हुँदैन । यहाँ मान्छेहरु अहिले सम्बन्ध सपार्नेभन्दा कसरी बिगार्ने भन्ने भागदौडमा छन् । मान्छेहरु सफलता रहिन्जेल साथ हुने अनि अलिकति अफ्ठ्यारो पर्यो भने छाडेर जान्छन् ।

जमानाअनुसार भिज्नुपर्छ । जिन्दगीमा अलिकति गणनात्मक हुनुपर्छ । रितअनुसार चल्ने भन्दा पनि आफ्नो मनमा लागेको कुरा गर्ने भएकाले त्यो अभिव्यक्ति दिएको हो । हुन त उहाँको विचार हो । त्यही कुरा उहाँको पहिचान पनि हो।

-दीपाजीको तपाईलाई विशेष के कुरा मनपर्छ ?

मलाई उहाँ पुरा प्याकेज नै मनपर्छ ।

-जिन्दगीमा कुनै दिन त्यस्तो परिस्थिति आइपर्यो भने दीपासँग टाढा हुन सक्नुहुन्छ ?

जिन्दगीमा हामी सबै एक्लै आउने हो, अनि एक्लै जाने । यति थाहा हुँदाहुँदै पनि ‘म तिमीबिना बाँच्न सक्दिनँ’ भनिरहेका हुन्छौं । तर तितो-सत्य, अन्तिममा जाने त एक्लै हो । जिन्दगीमा कति सम्बन्धहरु हुन्छन्, जुन सम्बन्ध भएन भने म बाँच्दिन होला जस्तो महसुस हुन्छ । त्यस्तो महसुस हुन सम्बन्धहरु एउटा मात्र हैन, धेरै हुन्छन् । त्यो पात्रहरुमा दीपाजी पनि पर्नुहुन्छ मेरो ।

तपाईंकै कारण दीपाले बिहे नगरेको हो भन्ने भन्छन् नि कतिपयले ?

केही भएन, भन्न पाइन्छ । हाम्रो समाज पुरुषप्रधान समाज हो । अहिले उहाँ र म पुरुष-पुरुष भएको भए हामीले कोठाभित्र जेसुकै गरेपनि शंका हुँदैन थियो । तर हामी विपरितलिंगी भयौं । जसका कारण यहाँ केही नभएता पनि हजारौं दोषहरु लाग्छन् । उहाँको ठाउँमा अहिले कोही पुरुष भएको भए र उहाँले जसरी नै म विवाह गर्दिन भनेको भए त्यो पुरुषलाई महान व्यक्तिको लिस्टमा राखिसकिन्थ्यो ।

एउटा महिलाले म विवाह नगरी काम मात्र गर्छु भन्दा चाहीँ विभिन्न आक्षेप लगाउँछन् । मेरो कारणले उहाँले किन विवाह नगर्ने हो र ? आफ्नो जिन्दगीको फैसला व्यक्ति स्वयम् आफैंले लिने हो । आफ्नो जिन्दगीको मालिक हामी आफैं हौं । मैले विवाह गर वा नगर भन्दैमा उहाँले त्यो निर्णय पछ्याउने हैन ।

त्यो नितान्त उहाँको फैसला हो । ठीकै छ । सफलतातर्फ लम्किदै गर्दा नामसँगसँगै बदनामी पनि आउँछ भन्छन् । अब मलाई नै आरोप लगाउनुहुन्छ भने त म के नै भन्न सक्छु र । मान्छेहरु यहाँ गर्दै नगरेको कुरालाई लिएर त हजारवटा आक्षेप लगाउँछन् । म त बानी परिसकेँ ।

-तपाईंलाई चाहीँ उहाँको विवाह भएको अथवा उहाँको घरजम बसेको हेर्न मन छ या छैन ?

मलाई उहाँको विवाह होस र उहाँको घरजम बसोस् भन्ने आजभन्दा १०,१५ वर्ष अगाडीदेखि नै लाग्थ्यो । मैले उहाँलाई धेरैपटक भनेँ पनि । तर अहिले चाहिँ मलाई उहाँको विवाह होस् जस्तो लाग्दैन ।

किनभने उहाँ सधैँ म कामको लागि जन्मेको हो र मसँग गुहिणी भएर बस्ने गुण नै छैन भन्नुहुन्छ । उहाँलाई आफु पारिवारिकभन्दा पनि व्यवसायीक गुण भएको प्राणी जस्तो लाग्छ । विवाह भनेको मनबाट गर्ने हो, कसैको जबरजस्तिले गर्ने हैन । अहिले त मलाई उहाँ जे गर्नुहुन्छ त्यसमा नै खुसी हुनुहोस् जस्तो लाग्छ । त्यही पनि उहाँलाई विवाह गर्नु भन्ने म को नै हो र ।

-जन्मदिनको छोटो-मिठो शुभकामना के दिन चाहनुहुन्छ ?

मैले बिहान मेरो स्टाट्समा जे लेखेको थिए, त्यही नै सापटी लिन चाहन्छु । उनले यस क्षेत्रको लागी गरेको त्याग, समर्पण र तपस्या धेरै छ । उनी चलचित्र क्षेत्रलाई दिमागमा नभई मनमा राखेर आफ्नो सय प्रतिशत दिई कला क्षेत्रलाई नै आफ्नो घर र परिवार ठानेर हिँडेकी व्यक्ति हुन् । उनलाई लाखौँ, करौँडौ शुभकामना ।

 


प्रतिक्रिया

One thought on “दीपकराज गिरी भन्छन्- दीपाको विहे होस् भन्ने पहिले लाग्थ्यो अहिले लाग्दैन

  1. नगरेकै राम्रो…
    बेकारको खर्च.. तामझाम र झमेला..!
    उसै त ८ अरब पुगिसक्यो जनसंख्या…!!
    save the nature….

Leave a Reply

Your email address will not be published. Required fields are marked *