प्यूठानको झिमरुकका उपाध्यक्षले लगाए अध्यक्ष र कर्मचारीलाई भ्रष्टाचारको आरोप – Nepal Press

प्यूठानको झिमरुकका उपाध्यक्षले लगाए अध्यक्ष र कर्मचारीलाई भ्रष्टाचारको आरोप

कर्मचारीले अध्यक्षको गरे बचाउ, उपाध्यक्ष भन्छन्- कारबाही गराएर छाड्छु

रुपन्देही । प्यूठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले गाउँपालिका अध्यक्ष पितबहादुर एमसी र कर्मचारीहरुको मिलेमतोमा लाखौं रकम भ्रष्टाचार भएको भन्दै छानबिनका लागि सार्वजनिक आव्हान गरेका छन् ।

नेकपा माओवादी केन्द्रबाट अध्यक्ष बनेका एमसीलाई नेपाली कांग्रेसबाट उपाध्यक्ष बनेका पोखरेलले लगाएको गम्भीर आरोप पालिकामा रहेका कर्मचारीले भने विज्ञप्ति नै निकालेर बचाउ गर्न खोजेका छन् ।

उपाध्यक्ष पोखरेलले पालिकामा आवश्यक सामग्रीहरु बिना टेण्डर खरिद गरेको विषय आफूले पटक पटक उठाएपनि अध्यक्ष र कर्मचारीले अटेर गरी आफू नजिकका पसलहरुबाट खरिद गरेको र यसमा लाखौं रकम अपचलन भएको हुनसक्ने भन्दै छानबिनको माग गरेका छन् ।

उनले ४ महिनादेखि आन्तरिक रुपमा यो विषय उठाएपनि कुनै सुनुवाइ नभएको भन्दै सामाजिक सञ्जालमै पालिकामा असहमति राखेका छन् ।

प्यूठानको झिमरुक गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारी बीचको टकराव बढ्दै गएको छ । एक र अर्कोबीच आरोप र प्रत्यारोप बढ्दै जाँदा पालिकाभित्र राजनीतिक टकराव सृजना हुन पुगेको छ । सुरुवातमा झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेलले अनियमितताको आरोप लगाउनुका साथै पालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लाइभबाट सार्वजनिक गर्दै पछि विज्ञप्तिसमेत जारी गरेका थिए ।

नेपाली कांग्रेसका नेतासमेत रहेका पोखरेलले झिमरुकमा अनियमितता रहेको भन्दै छानबिन गर्न माग राखेपछि कांग्रेस, माओवादी केन्द्र र कर्मचारीबीचको दूरी बढाएको छ । उता झिमरुकमा कार्यरत कर्मचारीहरुले भने उपाध्यक्षले लगाएको आरोप पुष्टि गरेर देखाउन चुनौती दिएका छन् ।

उपाध्यक्ष पोखरेलले नेपाल प्रेससँग कुरा गर्दै पालिकामा आवश्यक पर्ने स्टेशनरी, औषधि, खाद्यान्नलगायतका सबै सामाग्री खरिद गर्दा बिनाटेण्डर गरिएकाले आफूले यो विषय उठाएको बताए ।

‘मैले धेरै पटक आन्तरिक रुपमा यो विषय उठाएँ, मेरो कुराको कुनै सुनुवाइ गरिएन, म बाध्य भएर सबै मतदाता र तपाईंहरुलाई यो विषय सार्वजनिक गर्न बाध्य भएँ, यसको निष्पक्ष छानबिन नभएसम्म मैले छाड्दिन, कर्मचारीले बिनाटेण्डर अध्यक्षको मिलेमतोमा सामान खरिद गरेको प्रमाण छ तर उनीहरुले मेराविरुद्ध विज्ञप्तिबाजी गरेका छन्’, पोखरेलले भने ।

पालिकामा उपाध्यक्ष आफैं अनुगमन समितिको संयोजक हुन्छ तपाईंले यो विषयभित्र किन नगरेको भन्ने प्रश्नमा पोखरेलले मेरो आवाज कुनै सुनुवाइ नभएकाले सार्वजनिक गरेको हुँ भने । यही जेठ २४ गते सडकको ठेक्का भुक्क्तानी नभएको भन्दै अध्यक्ष पितबहादुर एमसीका छोराले प्रमुख कार्यकारी अधिकृतलाई कार्यकक्षमै दुर्व्यवहार गरेपछि अहिलेसम्म यहाँ निमित्तले चलाएका छन् । यो विषयमा उपाध्यक्ष पोखरेलले काम पूरा नगर्दै भुक्तानी दिन नसकिने जनाएपछि अध्यक्ष र उपाध्यक्षको दुरी बढेको पालिकाका कर्मचारी बताउँछन् ।

कर्मचारीको भनाइमा अध्यक्ष र उपाध्यक्षबीचको आपसी द्वन्द्वमा कर्मचारीलाई समस्यामा पारिएको दाबी गरिएको छ । पालिकाका निमित्त प्रमुख तथा सूचना अधिकारी हरिप्रसाद पोखरेलले उपाध्यक्षले सामाजिक सन्जालमा लगाएको आरोपको खण्डन गर्दै विज्ञप्ति निकालेको र यथार्थ विषय जानकारी दिएको बताए ।

‘जेठ २४ मा यसअघिका कार्यकारीमाथि गलत व्यवहार भयो, २९ गतेपछि उहाँ जानुभयो, अहिलेसम्म नयाँ कोही आउनुभएको छैन, असार १३ देखि म निमित्त छु, अध्यक्षज्यूको सल्लाहअनुसार सार्वजनिक खरिद ऐनअनुसार आवश्यक सामान खरिद गरेका छौं, सबै सामान किन्दा टेण्डर गर्न संभव नभएर नै यो कानुन बनेको हो, सबै बिल सुरक्षित छन्, छानविनका लागि खुला छ, अनावश्यक आरोप लगाएर कसैलाई फाइदा हुँदैन’, पोखरेलले भने ।

गाउँपालिका अध्यक्ष पितबहादुर एमसीले समस्या समाधानका लागि उपाध्यक्ष र कर्मचारीसहितको बैठक बसालेर छिटै समाधान गर्ने बताए ।

‘अत्यावश्यक सामान टेण्डरबिना पनि किनिएको हो, ८ वटा वडा छन्, स्वास्थयचौकीमा औषधि सकिएपछि तत्काल किन्नुपर्ने हुन्छ, ठूलो परिणाममा होइन सानो सानो परिणाम यसरी गरिएको छ, उपाध्यक्षले आन्तरिक विषय बाहिर नलगेको भए राम्रो हुनेथियो’, एमसीले भने, ‘मैले कार्यवाहक दिएर काठमाण्डौं गएको थिएँ, आउँदा त पूरै सामाजिक सन्जालमा छरपष्ट पार्नुभएको रहेछ, उहाँले देखेको समस्या के हो ? त्यो विषयमा पनि हामी छलफल गरेर जान तयार छौं, समाधान गछौं ।’

स्थानीय तहको निर्वाचनमा केन्द्रीय गठबन्धन विपरीत माओवादीले एमालेसँग तालमेल गरेर यहाँ अध्यक्ष जितेको थियो । यहाँ कुनै पार्टीको एकल बहुमत छैन । कांग्रेस एमाले, जनमोर्चा र माओवादी सबैको उपस्थिति भएपनि माओवादी चौथो शक्ति हो ।

  


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर