सामुदायिक वनको उद्गमस्थल ठाेकर्पामा मनाइयो राष्ट्रिय दिवस – Nepal Press

सामुदायिक वनको उद्गमस्थल ठाेकर्पामा मनाइयो राष्ट्रिय दिवस

सिन्धुपाल्चोक । सामुदायिक वनको उद्गमस्थल सिन्धुपाल्चोकको ठोकर्पामा विभिन्न कार्यक्रम गरी सामुदायिक वन राष्ट्रिय दिवस मनाइएको छ । सरकारले केही वर्ष अघिदेखि सामुदायिक वन दिवस हरेक वर्ष साउन २५, २६ र २७ गते देशव्यापी मनाउँदै आएको छ ।

सामुदायिक वनको उद्गमस्थल ठोकर्पामा हरेक वर्ष वन दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना हुने गरेको छ । यस वर्ष पनि राष्ट्रिय दिवसको अवसरमा ठोकर्पामा विभिन्न चेतनामूलक कार्यक्रम र वृक्षारोपन गरिएको छ ।

सरकारले सुनकोशी- १ ठोकर्पामा अन्तर्राष्ट्रिय सामुदायिक वन अध्ययन केन्द्र निर्माण गरिरहेको छ । तत्कालीन सभामुख अग्निप्रसाद सापकोटा र वागमती प्रदेशका पूर्वमन्त्री अरुण नेपाल र सरेश नेपालको सक्रियतामा ठोकर्पामा सामुदायिक वन अध्ययन केन्द्र निर्माण भइरहेको छ ।

केन्द्र सामुदायिक वनको अध्ययन गर्न चाहने स्वदेशी र विदेशीहरुका लागि आकर्षणको केन्द्र बन्ने सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

अध्ययन केन्द्र ठोकर्पामा निर्माण भए पनि केन्द्रीय कार्यालय काठमाडौंमा राख्नु गलत भएको भन्दै अध्यक्ष तिमिल्सिनाले जुन स्थानमा अध्ययन केन्द्र बनाइएको छ, कार्यालय पनि त्यही राख्न माग गरे ।

वन दिवसको अवसरमा स्थानीय रतुवापाटी सामुदायिक वनमा वागमती प्रदेशका वन तथा वातवरणमन्त्री मसिना खडका भण्डारीलगायतले सामूहिक रुपमा वृक्षरोपन गरेका थिए ।

सामुदायिक वनका अभियन्ताको रुपमा स्वर्गीय निलप्रसाद भण्डारीलाई लिने गरिएको छ । भण्डारीको स्मृतिमा स्थापना गरिएको राष्ट्रिय पुरस्कारबाट विभिन्न सामुदायिक वन उपभोक्ता समितिहरुलाई सम्मान गरिएको थियो ।

त्यस्तै सामुदायिक वन दिवसको अवसरमा संस्थागत रुपमा सुनकोशी गाउँपालिका, गाउँपालिकाका पूर्वअध्यक्ष श्रवणकुमार जिसी, वडा नम्बर १ का पूर्वअध्यक्ष नेत्र कार्की, ठोकर्पाका शैक्षिक अभियन्ता शिवप्रसाद न्यौपानेलगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा मन्त्री भण्डारीले सामुदायिक वनको उद्गमस्थल ठोकर्पा क्षेत्रको सामुदायिक वन क्षेत्रको विकासका लागि प्रदेश सरकारले विशेष योजना अगाडि ल्याउने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *