सहकर्मीमाथि बलात्कार प्रयासको अरोपमा स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ – Nepal Press

सहकर्मीमाथि बलात्कार प्रयासको अरोपमा स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ

रुपन्देही । कपिलवस्तुको शिवराज नगरपालिकामा महिला कर्मचारीमाथि बलात्कारको प्रयासको आरोप लागेर फरार स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ परेका छन् ।

शिवराज नगरपालिकाले संचालन गरेको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाका प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिका– ३ बस्ने भुवन पाण्डेलाई पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखरजंग मल्लले आरोपितहरु पक्राउ परेको जानकारी दिए ।

नगरपालिकाले प्रहरीमा उजुरी परेसँगै स्वास्थ्य प्रमुख पौडेललाई जिम्मेवारीबाट हटाएको थियो । नगरपालिकाले साउन २ गते मात्रै उनलाई सो जिम्मेवारी दिएको थियो ।

उनीहरुले साउन १२ गते राति डिउटीमा खटिएका महिला कर्मचारीमाथि मदिरा सेवन गरी बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा पीडित महिलाले उजुरी दिएकी थिइन् । प्रहरीमा उजुरी परेपछि आरोपित दुबै जना फरार भएका थिए ।

फरार रहेका आरोपीलाई लुकेर बसेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका आरोपितहरुलाई आजै म्याद थप गरी कानूनी प्रक्रिया आगाडि बढाइने वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक मल्लले बताए ।

शिवराजका उपमेयर शिवकुमारी चौधरीले महिला कर्मचारीले दिएको निवेदनका आधारमा आरोपितलाई तत्काल जिम्मेवारीबाट हटाइ अनुसन्धान थालिएको र अब प्रहरीले पक्राउ गरी थप अनुसन्धान हुने जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर