तामाङ जातिको विवाह संस्कारमा भगवती पाण्डेको दृष्टिदोष – Nepal Press

तामाङ जातिको विवाह संस्कारमा भगवती पाण्डेको दृष्टिदोष

विगत केही दिनअघि प्राइम टेलिभिजनमा प्रसारित चिया गफ टक शोमा ‘शीतल’ भनिने अधिवक्ता भगवती पाण्डेले तामाङ, मगरलगायत आदिवासी जनजाति समुदायको प्रथाजनित विवाह संस्कार वा पद्धतिको अभ्यासप्रति गलत ढंगले व्याख्या गर्नुको साथै आनुवंशिक रुपमा नै समस्त समुदायलाई अपराधीकरण गर्ने र मान्छेलाई जनावरसँग तुलना गर्नेगरी दिएको कपोलकल्पित, भ्रामक र तथ्यहीन अभिव्यक्तिपश्चात तामाङ जातिमा विशेष त फुपूचेला-मामाचेली विवाह संस्कार वा पद्धतिबारे बहस र विवाद भइरहेका छन् । यसैको प्रभावस्वरुप मुलुकमा यस विषयले राजनीतिक तथा सामाजिक माहोल तातिरहेको छ, अशान्ति हुँदै गइरहेको छ । त्यतापट्टिको चर्चा अर्को आलेखमा पछि गरौंला । अहिले भने विषयवस्तुतिर जाऔं ।

अधिवक्ता पाण्डेनले ‘तामाङ तथा मगर समुदायमा दाजुबहिनी विवाह हुँदो रैछ…..’ भनेर जुन अभिव्यक्ति दिनुभयो, त्यो त सरासर शतप्रतिशत गलत छ नै । यदि उनले ‘फुपूचेला-मामाचेलीको बीचमा विवाह गर्दोरहेछ’ भनेर भनेको भए पनि शतप्रतिशत गलत नै हुन्थ्यो । किनकि तामाङ समुदायको परम्परागत प्रथाजनित विवाह संस्कार वा पद्धति आजसम्म पनि वैज्ञानिक र आनुवंशिक रुपमा सही सावित हुन्छ र भएको छ । फेरि कुनै पनि समुदायको परम्परागत प्रथाजनित चलिआएको संस्कारलाई अर्को समुदायले गलत भन्न पनि मिल्दैन र तामाङ जातिमा आमाबाट दूध र बुबाबाट ‘ह्रुई वा थर वा हाड वा वंश’ छोराछोरीमा सरेर जान्छन् भन्ने विश्वास छ । जसलाई तामाङ जातिको परम्परागत वंशको सिद्घान्त नै भन्ने गरिन्छ । त्यसलाई ‘ह्रुई प्रथा’ पनि भनिन्छ । सर्वप्रथम त विवाहको अर्थबाट यस प्रथाको पुष्टि गर्दै चर्चा गर्ने कोसिस यस आलेखमा गरिएको छ ।

विवाहको अर्थ

विवाह संस्कारको उत्पत्ति र विकासबारे मानवशास्त्री ‘मोर्गान’ ले मानव समाजको उद्विकासको व्याख्या गर्ने क्रममा समाज विकासका विभिन्न तहहरु बताएका छन् । त्यही तहहरुअनुसार विवाहको सुरुवात एवं विकास पनि विभिन्न चरणहरु पार गर्दै आजको अवस्थामा आइपुगेको कुरा बताएका छन् । विवाहको सुरुवातको प्रथम चरण ‘रक्त सम्बन्धमा आधारित विवाह’ लाई मान्ने गरिन्थ्यो । यस व्यवस्थामा एउटै रक्त सम्बन्धभित्र अर्थात हाड नाता सम्बन्धभित्रका सदस्यहरु बीचमा नै यौन सम्बन्ध कायम हुने गर्थ्यो । यस अवस्थामा मानिसहरु भावनात्मक एवं कुनै संगठनात्मक एकतामा बाँधिन सक्ने भइसकेका थिएनन् । त्यसैले त्यो बेला विवाहका लागि कुनै नाता वा कुटुम्ब, थर/ह्रुई/हाड/वंश, गोत्र आदि पहिचान गरिँदैन थियो । अर्थात त्यस व्यवस्थाको विकास भएको थिएनन् । मानिसहरु जङ्गली अवस्थामा नै थिए । जङ्गली अवस्थाबाट घरव्यवहारमा आएपछि मान्छेले आफ्ना पाशविक व्यवहारमा परिमार्जन गर्दै लगेको आजको स्थिति हो । उबेला एउटै महिलामा धेरै जना पुरुषको तानातान वा एउटै पुरुषमा धेरै जना महिलाको आशक्ति हुन्थ्यो । त्यस्तो बेला समाज विकृत, अराजक र अशान्ति बन्यो ।

आजभोलि विवाहलाई परम्पराले भन्दा पनि आर्थिक, सामाजिक एवं राजनीतिक स्वार्थले समेत निर्देशित गरेको पाइन्छ । जस्तोसुकै पद्धति अवलम्बन गरे तापनि विवाह सम्पन्न भएपछि त्यसको प्रतिष्ठा र मान्यतामा कमी/वेसी मानिँदैन ।

त्यसैले समाजलाई अराजक हुनबाट जोगाउन निश्चित पुरुष र स्त्रीका लागि निश्चित पुरुष र स्त्री तोक्न आवश्यक देखापर्‍यो । यसरी तोक्ने कार्य नै पछि गएर एउटा संस्कारमा परिणत भयो र त्यसैलाई नै ‘विवाह’ भनियो । यसरी विकसित विवाह संस्कारले समूह विवाह, अस्थायी प्रकृतिको विवाह, पितृप्रधान विवाह हुँदै एकलगामी विवाह अथवा निजी लोग्ने र निजी स्वास्नीको अवधारणा ल्यायो र समाजलाई विकृत हुनबाट जोगायो । सैद्धान्तिक हिसाबमा विवाह संस्कार यसरी नै विकास भयो । खासमा विवाह पूर्व पनि यौन सम्बन्ध त हुने गर्थ्यो नै । तर, विवाहभित्र यौन सम्बन्ध, सन्तान उत्पादन र सृष्टि वा वंशलाई निरन्तरता दिने कार्यलाई नै अत्यावश्यक चिजमा स्वीकारेको पाइयो । यसलाई व्यवस्थित गर्न भने अनेक परम्परा, प्रचलन, रीतिथिति, संस्कार, संस्कृति र नीति नियम कानून विकसित बन्न पुगे । यस्ता परम्पराहरू जाति, धर्म, क्षेत्र, स्थानअनुसार पनि फरक फरक ढङ्गले विकास हुन पुगेका छन् ।

त्यसो त विवाह समाज निर्माण र मानव जीवन तथा मानव सभ्यताको सामाजिकीकरण हुँदै जाने प्रक्रियाको एउटा रुप पनि हो । सामाजिक प्राणी मानिसहरुले विवाहलाई सामाजिक संस्कारहरुमध्येको एक महत्वपूर्ण संस्कारको रुपमा लिइन्छ । साथसाथै विवाहलाई समाजको एउटा महत्वपूर्ण संस्था पनि । विवाहलाई परापूर्वकालदेखि नै मानव जीवन र सृष्टि वा वंशलाई निरन्तरता दिने, वंश परम्परा कायम राख्ने पद्धतिको रुपमा मान्दै आएको पाइन्छ । सामान्यतया महिला र पुरुषलाई पतिपत्नीको रुपमा समाजले मान्यता दिनुलाई नै विवाह भनिन्छ । त्यसो हुँदा वैवाहिक सम्बन्धबाट महिलाले पुरुषमाथि र पुरुषले महिलामाथि वैधानिक तथा सामाजिक अधिकार प्राप्त गर्नुको साथै यौन सम्बन्ध राख्ने तथा सन्तानोत्पत्तिका लागि सामाजिक मान्यता पनि प्राप्त गर्छ । अर्को विवाहलाई सामाजिक बन्धनका रुपमा पनि लिइन्छ । किनकि यसले दुई थर/ह्रुई (हाड)/वंशका सदस्यहरुलाई एक सूत्रमा बाँध्ने काम पनि गर्छ भने यसबाट नयाँ जीवन र नयाँ घरपरिवार तथा नाता सम्बन्धको निर्माण एवं परिवारहरुको बीचमा सदस्यको साटफेर र भावनात्मक ऐक्यबद्धताको सिर्जना गरी अनुमोदनको प्रतिनिधित्व गर्दै आएको हुन्छ । त्यसो त मनुस्मृतिले विवाहलाई ‘दुई आत्माबीचको पवित्र मिलन’ पनि भनेको छ ।

फुपूचेला-मामाचेली विवाह संस्कार वा पद्धति

विभिन्न समुदाय वा जातिअनुसार विवाहको स्वरुप र विवाह गर्ने तरिका फरक फरक पाउन सकिन्छ । तामाङ समुदायले पनि विवाहका विभिन्न संस्कार तथा पद्धतिहरु मान्दै आएका छन् । विशेषतः तामाङ समाजमा प्रचलित विवाहलाई विभिन्न किसिमका विवाह पद्धतिहरुमा विभाजन गरिएका हुन्छन् । फुपूचेला-मामाचेली/फुपूचेली-मामाचेला विवाह, भागी विवाह, मागी विवाह, प्रेम विवाह, चोरी विवाह, जारी विवाह, विधुवा विवाह आदि आदि । तर, यी विवाहरुमध्ये कुन विवाह पद्धतिलाई अपनाउने भन्ने कुरा सामान्यतया पारिवारिक परम्परा (रीतिथिति, धर्म, संस्कार-संस्कृति) परिवारको सामाजिक, राजनीतिक प्रतिष्ठा, आर्थिक सम्पन्नता आदिमा भर पर्छ । आजभोलि विवाहलाई परम्पराले भन्दा पनि आर्थिक, सामाजिक एवं राजनीतिक स्वार्थले समेत निर्देशित गरेको पाइन्छ । जस्तोसुकै पद्धति अवलम्बन गरे तापनि विवाह सम्पन्न भएपछि त्यसको प्रतिष्ठा र मान्यतामा कमी/वेसी मानिँदैन ।

आफ्नै फुपूमामाभन्दा अरु फुपू-मामा नाता पर्ने कुटुम्बका छोराछोरीहरुसँग विवाह गर्नुपरेमा आफ्नो मामा-फुपूको छोराछोरीको आदेश वा मञ्जुरी नै चाहिन्थ्यो । यदि आदेश वा मञ्जुरीबेगर अन्यसँग विवाह गरेको खण्डमा जारी समेत तिराउने, तिर्नुपर्ने चलन थियो । तर, आजकल भने त्यस्तो कडा नियम पाइँदैन तामाङ समुदायमा ।

यहाँ हामी नेपालका आदिवासी जनजाति तामाङ समुदायमा फुपूचेला-मामाचेली विवाह सम्बन्धमा चर्चा गर्दैछौं । तामाङ जातिमा इतिहासदेखि नै आफ्नो दिदीबहिनीको छोरीलाई आफ्नो दाजुभाइको छोरासँग र दाजुभाइको छोरीलाई दिदीबहिनीको छोरासँग विवाह गरिदिन्छन् । यसैलाई मामाचेला-फुपूचेली वा फुपूचेला-मामाचेली विवाह पद्धति वा संस्कार वा रीतिथिति भनिन्छ । यस पद्धतिमा मामाका छोराछोरी फुपूका छोराछोरी एक-अर्कामा विवाहयोग्य साथी वा जोडी मानिन्छन् । उनीहरुको विवाह हुनुभन्दा अघिको साइनो ‘सोल्टी र सोल्टिनी’को हुन्छ ।कतिसम्म भने फुपूचेला-मामाचेलीका छोराछोरीबीचमा विवाह गर्ने पहिलो हक वा अधिकार नै फुपूमामा चेलाचेलीको लाग्ने गर्थ्यो पहिला पहिला । आफ्नै फुपूमामाभन्दा अरु फुपू-मामा नाता पर्ने कुटुम्बका छोराछोरीहरुसँग विवाह गर्नुपरेमा आफ्नो मामा-फुपूको छोराछोरीको आदेश वा मञ्जुरी नै चाहिन्थ्यो । यदि आदेश वा मञ्जुरीबेगर अन्यसँग विवाह गरेको खण्डमा जारी समेत तिराउने, तिर्नुपर्ने चलन थियो । तर, आजकल भने त्यस्तो कडा नियम पाइँदैन तामाङ समुदायमा । त्यस्तै चलन आदिवासी जनजातिभित्रका गुरुङ, थकाली, मगर जातिमा पनि पाइन्छ र अझै छ ।

तामाङ जातिमा विवाहको लागि पहिलो प्राथमिकता आफ्नो साखै मामा-फुपूका छोराछोरीलाई दिने गरिन्छ । हाल मामा-फुपू चेलाचेली नाता सम्बन्धभन्दा बाहिरका अर्थात फुपू पुगेको फुपाजुको दाजुभाइका छोराछोरी या मामाका थरका अन्य दाजुभाइका छोराछोरीबीच पनि विवाह गर्ने प्रचलन चलिरहेको छ । अर्को कुरा तामाङ जातिमा आफ्नै फुपूमामाको छोराछोरी विवाह भएमा साँच्चिकै ‘आनी र आसेङ’ होइन्छ । तर, आफ्नोभन्दा अन्य फुपूमामाका छोराछोरीबीचमा विवाह भएमा पनि सासूससुरालाई ‘आसेङ र आनी’ साइनो नै लगाइन्छ । किनभने फुपू र माइजू दुबै नातालाई तामाङ भाषामा ‘आनी वा आङी’ भनिन्छ भने मामा र फुपाजु दुबै नातालाई ‘आसेङ’ भनिन्छ । समाजशास्त्रअनुसार विवाह संस्थालाई निरन्तरता दिन विवाह गर्न योग्य नाता भनेको तामाङ समाजमा ‘आनी र आसेङ’का छोराछोरी नै हुन् । अन्य जातीय समुदायमा त्यस्तो विवाह गर्न योग्य नाता किटान गरिएको पाइँदैन ।

तामाङ जातिमा ‘ह्रुई परम्परा’ हुन्छ । जुन परम्पराअनुसार तामाङ जातिका छोराछोरीमा आमाबाट विशेषतः दूध र बाबुबाट ‘ह्रुई’/थार/हाड/वंश सर्छ भन्ने विश्वास छ । यसलाई तामाङ जातिको परम्परागत वंशको सिद्घान्त पनि भन्ने गरिन्छ । स्मरणर होस्- तामाङ जातिमा ‘थर’लाई ‘ह्रुई वा वंश’ भनिन्छ भने मान्छेको शरीरमा भएको ‘हाड’लाई चाहिँ ‘थर वा ह्रुई वा वंश’को प्रतीकको रुपमा लिन्छन् । त्यसो हुँदा तामाङ जातिमा थर, ह्रुई, हाड, वंशलाई एकै अर्थको रुपमा लिइन्छ ।

तामाङ समाजमा हाड नाता भनेको बुबाको थरलाई भनिन्छ भने दूध नाता भनेको आमाको थर हो । तामाङ जातिमा हाड नातामा विवाह निषेध वा वर्जित छ । त्यस्तैगरी बुबाको थर अर्कै भए पनि विवाह गर्न लागेका केटा वा र केटीकी आमाको थर एउटै भएमा विवाह वर्जित हुन्छ । त्यस्तो नातालाई आमाथेत्माई भनिन्छ र आमाथेत्माईला कोला (बच्चा) एउटै ङ्हे (दूध) तोइबा/थुङ्बा (खाने) भनिन्छ । एउटै थरको दूध खाएको कारणले तामाङ जातिमा दूधको बारन गर्छ । त्यसकारण तामाङ समुदायमा फुपूचेला मामाचेली अथवा मामाचेला फुपूचेली विवाह भनेको परापूर्वकालदेखि चलिआएको ओरिजिनल असली कुटुबरी विवाह गर्ने नाता हो । यसलाई विवाह गर्न हुने अधिकारिक नाता सम्बन्ध अर्थात कुटुब्बा पनि मानिन्छ । यो नाता सबैभन्दा शुद्ध अनि पवित्र विवाह सम्बन्ध चल्ने नाता कुटुब्बारी हो । किनभने यसमा न बुबाको ह्रुई वा थर वा हाड वा वंश एउटै हुन्छ न त विवाह गर्न आटेको केटा र केटीको आमाको दूध एउटै हुन्छ ।

तामाङ समुदायमा फुपूचेला मामाचेली अथवा मामाचेला फुपूचेली विवाह भनेको परापूर्वकालदेखि चलिआएको ओरिजिनल असली कुटुबरी विवाह गर्ने नाता हो । यसलाई विवाह गर्न हुने अधिकारिक नाता सम्बन्ध अर्थात कुटुब्बा पनि मानिन्छ ।

तामाङ जातिको विवाह गर्ने नाताको केटी वा केटाले आमाको दूध एउटै थरको खाएको हुनुभएन, बुबाको थर एउटै हुनुभएन र स्वहाँगे थरहरु हुनुभएन । बाँकी सबै तामाङ थर नातासँग विवाह गर्न पाइन्छ । त्यसो हुँदा तामाङ जातिमा तीन नातामा विवाह निषेध वा वर्जित छ । जुन नाताको वर्णन यसप्रकार छन्ः
१. हाड नाता
२. आमाथेत्माई/दूध नाता
३. स्वहाँगे थर नाता

१. हाड नाता : बुबाको थरलाई हाड नाता भनिन्छ । जस्तो बुबा मोक्तान थर भए मोक्तान थरको छोराछोरीले संसारको जुनसुकै ठाउँको मोक्तान थरसँग विवाह गर्नुहुन्न र जति नै पुस्तान्तर भए पनि विवाह गर्न बन्देज वा मनाही हुन्छ र छ । तिनीहरुबीचमा दाजुभाइ दिदीबहिनीको नाता पर्छ ।

२. आमाथेत्माई/दूध नाता : त्यस्तै बुवाको थर अर्काअर्कै भए पनि विवाह गर्न आटेको केटीको आमा र केटाको आमाको थर एउटै भएमा त्यसलाई आमाथेत्माई/दूध नाता भनिन्छ । अर्थात आमाको थर एउटैलाई आमाथेत्माई/दूध नाता भनिन्छ । जस्तो केटाको थर मोक्तान तर उसको आमाको थर स्याङबो भएमा संसारको जुनसुकै ठाउँको मोक्तान थरभन्दा फरक बुवा भए तापनि स्याङबो थरको आमाको कोखबाट जन्मेको केटीमान्छेहरुसँग उसको विवाह हुन्न । आमाथेत्माइ दाजुभाइ दिदीबहिनी नाता पर्छ ।

३. स्वहाँगे थर नाता : त्यस्तै गरी स्वहाँगे थरहरु नातामा पनि विवाह निषेध वा वर्जित छ । तामाङ जातिमा प्रायः सबै थरहरुको दुई वा दुईभन्दा धेरै स्वहाँगे थरहरु हुन्छन् । त्यस्ता स्वहाँगे थरहरुमा विवाह हुन्न । उदाहरणको लागि गोले थरले गोले, तितुङ, दोङ, बल, बज्यु, डिम्दुङ, गाङतान, स्योङतान, गोपो, माम्बालगायत १२ थरबीचमा विवाह गर्दैनन्, गर्नुहुन्न ।

अन्तमा, तामाङ समुदायलगायत माथि उल्लेखित समुदायहरुले दाजुबहिनी/दिदीभाइबीच विवाह गर्ने चलनचल्ती त कहींकतै छँदैछैन । फुपूचेला-मामाचेली विवाह संस्कार वा पद्धति पनि वैज्ञानिक, अनुवांशिक हिसाबले सही देखिन्छ ।

[email protected]

(लेखक तामाङहरुको साझा संस्था नेपाल तामाङ घेदुङका संघीय सचिव हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *