माओवादीमा विशेष महाधिवेशनको प्रस्ताव- आलोचना गर्नेले प्रचण्डको विकल्प खोज्लान् ? – Nepal Press

माओवादीमा विशेष महाधिवेशनको प्रस्ताव- आलोचना गर्नेले प्रचण्डको विकल्प खोज्लान् ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको बैठकमा पार्टी नेतृत्वको चर्को आलोचना भइरहेको छ । पार्टीलाई विधि र विधानअनुसार नचलाएको भन्दै नेताहरुले पार्टी नेतृत्वप्रति चर्को असन्तुष्टि पोखेका हुन् ।

नेताहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले चालेका भ्रष्टाचारविरोधी कदमलाई समर्थन जनाए पनि पार्टीमा भइरहेको नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि पोखेका छन् । अध्यक्ष प्रचण्डको मात्रै नभएर सिंगो पार्टी पदाधिकारीकै कार्यशैलीप्रति नेताहरुले प्रश्न उठाए ।

बैठकमा पार्टी संगठनलाई प्रभावकारी ढंगले चलायमान बनाउन ‘जनतासँग पार्टी’ अभियान चलाउनेदेखि विधान सम्मेलन, विशेष महाधिवेशनलगायतको विषयमा छलफल केन्द्रित छ । २०७८ पुसमा भएको आठौं महाधिवेशनमा प्रचण्डको प्रस्तावमै सबै पदाधिकारी चयन भएको थियो ।

महाधिवेशनको डेढ वर्षमै माओवादीले फेरि विशेष महाधिवेशन गर्ने प्रस्ताव बैठकमा गरेको छ । केन्द्रीय बैठकमा मंसिरमा विधान सम्मेलन गरेर फागुनसम्ममा विशेष महाधिवेशन गर्नेबारे छलफल भइरहेको छ ।

पार्टी कमिटीहरु भद्दा भएकाले अहिले घटाउनुपर्ने माओवादीमा दबाब छ । तर, केही नेताहरुले अहिले विधान सम्मेलनभन्दा पनि विशेष महाविधेशनमा गएर नयाँ टीम ल्याएर पार्टी पुनर्निर्माण थाल्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

अहिले पार्टीको आवश्यकता विशेष महाधिवेशन भएको स्थायी समिति सदस्य जयपुरी घर्तीले बताइन् । उनले भनिन्, ‘विधान संशोधन गरे केन्द्रीय समितिको संख्या घटाउनुपर्छ । विधान सम्मेलनभन्दा विशेष महाधिवेशनमा जानु उपयुक्त हुन्छ ।’

त्यसो त बैठकमा पार्टी कमिटीहरु भद्दा भएको कारणले घटाउनुपर्ने अधिकांश नेताहरुले सुझाव दिएको पोलिटव्युरो सदस्य माधव सापकोटा सुवोधले बताए ।

उनले भने, ‘नेताहरुलाई कार्यकर्ता र जनतातिर फर्काउन वडा तहबाट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नुपर्छ भन्ने कुरा साथीहरुले राख्नुभएको छ । पहिले विधान सम्मेलन गरेर विशेष महाधिवेशन गर्ने पार्टीको तयारी छ । तर, कतिपयले सम्मेलन नगरी महाधिवेशनतिर जाऔं भनिराख्नुभएको छ ।’

तर, विधान सम्मेलनमा सांसददेखि पार्टी अध्यक्षसम्म कति पटक बन्ने भन्ने ठोस निर्णय गर्नुपर्ने केन्द्रीय सदस्य लेखनाथ दाहालले बताए । उनले भने, ‘पार्टीको जिम्मेवारीमा को कति पटक रहने हो भन्ने विषयवस्तु किटानी गर्नुपर्छ । त्यसमा पार्टीबाट सांसद, मन्त्री र प्रधानमन्त्रीको पनि कुरा टुंग्याउनुपर्छ ।’

उनले पनि सबै कमिटीहरुलाई निर्वाचनको प्रक्रियाबाट लिएर जानुपर्नेमा जोड दिए ।

अहिलेको तरिकाले कुनै पनि हालतमा समाजवाद नआउने केन्द्रीय सदस्य नरबहादुर बिष्टले बताए । ‘प्रचण्ड हुँदा यो पार्टी चल्छ । त्यसपछि कसको हिम्मत छ ?’, उनले प्रश्न गरे।

त्यसो त लामो समयदेखि माओवादीको नेतृत्वमा प्रचण्ड निर्विकल्प छन् । विशेष महाधिवेशनको तयारी भइरहेको बेलामा नेताहरुले अब पार्टीको नेतृत्वका लागि प्रचण्ड पनि बाकस थाप्न तयार हुनुपर्ने भन्दै नेताहरुले दबाब बढाउँदै आएका छन् । तर, माओवादीमा प्रचण्डको उत्तराधिकारी को बन्ला ? अहिल्यै भन्न सकिने अवस्था छैन ।

पार्टीको विशेष महाधिवेशन मागेको पार्टीका अध्यक्ष प्रचण्ड भने समाजवादी मोर्चा हुँदै नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, डा. बाबुराम भट्टराई नेतृत्वको नेसपासँग पार्टी एकता गर्ने जमर्को गरिरहेका छन् ।

त्यहाँबाट माधव नेपाल, नेत्रविक्रम चन्द ‘विप्लव’, बाबुराम भट्टराईसहितका नेताहरुसँग एकताको पनि सम्भावना छ । त्यसो त विप्लवलाई अहिले प्रचण्डले महासचिव दिएर पार्टीमा भित्र्याउन खोजेको पनि चर्चा छ । तर, नेताहरुले पदभन्दा पनि विधि र पार्टी निर्माणमा जोड दिनुपर्ने भन्दै प्रचण्डमाथि दबाब बढाइरहेका छन् ।

अध्यक्षको उत्तराधिकारीमा महासचिवलाई हेर्ने प्रचलन छ । त्यसो गत महाधिवेशनमा महासचिवको लागि वर्षमान पुन र जनार्दन शर्माबीच चर्को टकराब भएपछि प्रचण्डले देव गुरुङलाई अघि सारेको थिए । तर, गुरुङले पार्टीको नेतृत्व गर्न नसक्ने माओवादी नेताहरु नै बताउँछन् ।

अहिले प्रचण्ड विप्लवसँग नजिकिएपछि पार्टीभित्र फरक गुट चलाइरहेका पुन र शर्मा एकै ठाउँमा उभिएका छन् । उनीहरुलाई अर्का उपमहासचिव शक्ति बस्नेतले पनि साथ दिएका छन् । उनीहरुमात्रै होइन, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको पनि पार्टीभित्र छुट्टै समूह छ । जसकारण प्रचण्डमाथि अहिले पार्टीभित्रबाटै आन्तरिक दबाब बढाइरहेका छन् ।

अहिले सरकारको नेतृत्व गरिरहेका प्रचण्ड कहिलेकाहीं पार्टीको आन्तरिक बैठकहरुमा आफू पार्टी नेतृत्व हस्तान्तरण गर्न तयार भएको बताउँदै आइरहेका छन् । जारी बैठकमा पनि प्रचण्डले पार्टीलाई विधिबमोजिम चलाउन सके आफू नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएको एक नेताले बताए ।

ती नेताले भने, ‘उहाँले नेतृत्व हस्तान्तरण गर्छु भने पनि अहिलेको अवस्थामा त्यो सहज छैन । बाह्य परिस्थितिको कारणले पनि अहिले पार्टीभित्र उहाँको विकल्प खोज्ने बेला भएको छैन ।’

त्यसो त बैठकमा ६८ वर्षे उमेरहदको पनि प्रस्ताव आएको छ । केन्द्रीय सदस्य सचिन रोकाले सरकारले बुधबारको बैठकमा ज्येष्ठ नागरिक भत्ता पाउने उमेरलाई मापदण्ड बनाएर पार्टीमा उमेरहद लगाउन माग गरे ।

उनले भने, ‘यो कम भयो भन्ने हो भने ७० वा ७५ गर्न पनि सकिएला । तर, उमेर हदको व्यवस्था हुनैपर्छ । नत्र युवाहरुले पार्टीमा भविष्य देख्दैनन् । पुस्तान्तरणको माग नारामै सीमित हुन्छ ।’

उनले पार्टी कमिटीलाई निर्वाचनबाट सानो बनाएर नातावाद, कृपावाद, परिवारवादबाट माथि उठ्नसमेत नेतृत्वलाई सुझाव दिए । त्यसो त बैठकमा अध्यक्ष प्रचण्डमाथि परिवारवादमा रमाएको भन्दै चर्को आलोचनासमेत गरिएको छ ।

तर, प्रचण्डले अहिलेको परिस्थितिमा विशेष महाविधेशनबाट पनि नेतृत्व छाड्ने नदेखिएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

नेतृत्वको आलोचना हुनु भनेकै विकल्पको खोजी भएको बुझ्नुपर्ने राजनीतिक विश्लेषक हरि रोक्का बताउँछन् ।

उनी भन्छन्, ‘कोही पनि मान्छे र पद सधैं निर्विकल्प हुँदैन । वामपन्थी आन्दोलनमा अहिले जुनखालको विचलन भइरहेको छ । त्यो विचलनलाई हेर्दा नेतृत्व सफल हुन सकेको छैन । कसैले अहिलेको परिवेशमा नेतृत्व परिवर्तनको एजेण्डा अघि सार्छ भने उपयुक्त नै हुन्छ ।’

तर, माओवादीले विशेष महाधिवेशन जाने तयारी गर्दैगर्दा प्रचण्डको विकल्प यो यो हुनसक्छ भन्न वा प्रचण्डले नेतृत्व छाड्छन् भन्ने कुरा अहिले नै भन्न सक्ने अवस्था नभएको उनको भनाइ छ ।


प्रतिक्रिया

One thought on “माओवादीमा विशेष महाधिवेशनको प्रस्ताव- आलोचना गर्नेले प्रचण्डको विकल्प खोज्लान् ?

  1. माओवादी आम जनताको पार्टी नै रहेन । यो त प्रचण्ड र उनका पुच्छरहरूको मात्र पार्टी हो । यो पार्टीमा पुच्छरले टाउको हटाउने दुस्साहस् नगर्लान किनकी टाउको सकिए पछि पुच्छर मात्रको अस्तित्व नै बाँकी रहदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर