चामलमा भारतको प्रतिबन्ध- नेपाललाई ४० वर्ष पहिले जस्तै आत्मनिर्भर बन्ने मौका बन्नसक्छ – Nepal Press

चामलमा भारतको प्रतिबन्ध- नेपाललाई ४० वर्ष पहिले जस्तै आत्मनिर्भर बन्ने मौका बन्नसक्छ

६५ वर्षअघि ३ लाख मेट्रिक टन चामल निर्यात गर्ने नेपाल आज रक्सी बनाउने मोटो चामलदेखि कनिकासम्म भारतबाट आयात गर्छ

काठमाडौं । नेपालमा धान उत्पादनको प्रमुख जिल्ला झापा हो । जहाँ गतवर्ष ४.८९ मेट्रिक टन प्रतिहेक्टर धानको उत्पादन रहेको थियो । प्लटिङ गर्ने, अन्य व्यवसाय अपनाउनेलगायत कार्यले उत्पादन बढ्ने घट्ने भए पनि झापा सबैभन्दा बढी धान उत्पादन हुने जिल्ला पर्छ । कृषियोग्य भूमि धेरै भएको जिल्ला भने मोरङ हो ।

झापामा धानका लागि आवश्यक तापक्रम, माटोको बनोट, प्रकृति एवम् धानका उन्नत बीउबिजनहरु पाइन्छ । त्यहाँ ३६ भन्दा बढी प्रजातिका धान रोप्ने गरिन्छ । केही दशक अगाडिको परिस्थिति केलाउने हो भने रोपाइँ गर्न आकाशे पानीमा मात्रै भर गर्नुपर्ने अवस्था थियो । जसका कारण आफ्नै जग्गा भएर पनि किसानलाई खान पुग्न धौ धौ हुन्थ्यो । त्यस्तै विभिन्न विषादी, रासायनिक मलको प्रयोग, अत्याधुनिक मेसिनहरुको उपयोग नहुँदा धानको उत्पादन उति उल्लेखनीय हुन्नथियो ।

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार नेपालमा २६ लाख ५० हजार हेक्टर जमिन खेतीयाेग्य रहेकाे छ । जुन कूल भूभागको करिब १८ प्रतिशत हो । यसरी हेर्दा भौगोलिक रुपमा पनि कृषियोग्य भूमि निकै कम रहेको छ जसमा धान खेतीयाेग्य भूमि करिब १५ लाख हेक्टर मात्रै छ । जसमा पनि बाह्रैमास सिंचाइको सुविधा पनि अझै पुगेको छैन ।

धान चामल निर्यात गर्ने त्यो बेलाको नेपाल

कृषिमा आत्मनिर्भर देशको रुपमा रहेको गर्विलो विगत हामीमाझ छ । तर, आजको अवस्था भने निकै फरक बनिसकेको छ । नेपाल धान र चामलमा आत्मनिर्भरमात्रै होइन, निर्यात गर्ने हैसियतमा थियो । करिब चार दशक अघिसम्म नेपालले विदेशमा धान र चामल निर्यात गरेको थियो । हुन त त्यसबेला नेपालको जनसंख्या निकै कम थियो । यद्यपि नेपालमा निरपेक्ष गरिबी भने व्याप्त थियो ।

वि.सं. २०४८ को नवौं राष्ट्रिय जनगणनाअनुसार नेपालको कूल जनसंख्या १ करोड ८४ लाख थियो । सन् १९९५ को तथ्यांकमा नेपालको निरपेक्ष गरिबी ४२ प्रतिशत थियो । जबकि अहिले यो संख्या १५.१ प्रतिशतमा झरेको छ भने बहुआयामिक गरिबी १७.४ प्रतिशत छ ।

गरिबीको दर घटे पनि नेपालको परनिर्भरता भने झनै बढ्दै गइरहेको देखिन्छ । यसरी ३८ वर्ष अघिसम्म धान चामल निर्यात गर्ने सबल नेपाल आज अन्य वस्तुमात्र नभएर चामलमा पनि आयात गर्नुपर्ने अवस्थामा पुगेको छ ।

सन् १९६० को दशकमा नेपालले भारतमा धान र चामल निर्यात गर्थ्याे । सन् १९६१ मा भारतले ७ लाख ३६ हजार मेट्रिक टन धान र चामल आयात गर्दा नेपालले २ लाख ८९ हजार मेट्रिक टन चामल निर्यात गरेको कृषिविज्ञ डा. राजेन्द्र उप्रेतीले जनाएका छन् । जसको मूल्य ४ करोड ३० लाख अमेरिकी डलर थियो ।

यो क्रम भने सन् १९८५ मा घट्दै गएको उनको भनाइ छ । सन् १९८५ मा नेपालले १ करोड ३० लाख अमेरिकी डलर बराबरको ५९ हजार मेट्रिक टन चामल निर्यात गरेको उप्रेतीले बताए ।

सन् १९९० को दशकबाट आयातको परिमाण उकालो लाग्न थालेपछि नेपाल निर्यातकर्ताबाट धान चामल आयात गर्ने देशमा परिणत भएको डा.उप्रेतीको भनाइ छ ।

कस्ताे छ अहिलेको अवस्था ?

पछिल्लो समय भने नेपालमा धान र चामलको आयात बढिरहेको देखिएको छ । आर्थिक वर्ष २०७९/०८० को जेठसम्म नेपालले ३३ अर्ब ६३ करोड ४७ लाख रुपैयाँको ७२ करोड ४५ लाख किलो धान, चामल र कनिका आयात गरेको कृषि तथा पशुपछी विकास मन्त्रालयका कृषि विकास सचिव डा. गोविन्दप्रसाद शर्माले बताए ।

उनका अनुसार खेतीयोग्य जमिनमध्ये १५ लाख ७० हजार हेक्टर क्षेत्रफलमा मात्रै धान खेती हुन्छ । जसबाट ५५ देखि ६० लाख मेट्रिक टन धान उत्पादन हुने शर्मा बताउँछन् । यो उत्पादनले ८० प्रतिशत माग धान्ने र २० प्रतिशत धान आयात गर्नुपर्ने उनी बताउँछन् ।

तथ्यांकमा खेतीयोग्य जमिनको ५८ प्रतिशतमा सिंचाइको सुविधा रहेको तथ्यांकमा देखिए पनि व्यवहारिक रुपमा भने त्यत्रो नभएको सचिव शर्माले बताए । उनका अनुसार धान खेती हुने जमिनमध्ये ३० प्रतिशतमा मात्रै बाह्रैमास सिंचाइ सुविधा छ । तर, ७० प्रतिशतमा भने आकाशे पानीकै भर पर्नुपर्ने अवस्था छ ।

नेपालमा औसतमा प्रतिहेक्टर ३.८ टन धान उत्पादन हुने शर्माले बताए ।

नेपालमा अझै पनि ठूलो जनसंख्या कृषिमा आधारित छ । सन् २०२१ को श्रमशक्ति सर्वेक्षणअनुसार नेपालमा अझै ५०.४ प्रतिशत जनसंख्या कृषिमा आधारित रहेको छ ।

१२औं राष्ट्रिय जनगणना २०७८ अनुसार १० वर्षभन्दा माथिका ५०.१ प्रतिशत जनसंख्या कृषिमा आधारित छ । यो तथ्यांक २०४८ को जनगणनामा ८१.२३ प्रतिशत थियो ।

धान चामलको आयातको कुरा गर्दा मंसिरदेखि माघको समयमा नै बढी आयात हुने गरेको कृषिविज्ञ डा. उप्रेती बताउँछन् । उनले हालको अवस्था पनि त्यस्तै रहेको बताए । जुन समय नेपालमा धान थन्क्याउने बेला हो । कनिकाको आयात पनि बढ्दो रहेको उनी बताउँछन् ।

नेपालमा उत्पादन हुने मोटो चामल अधिक मदिरा बनाउन प्रयोग हुने तर खान मसिनो चामल रुचाइएकाले पनि यस्तो अवस्था सिर्जित भएको उनको बुझाइ छ । हाल मुख्य गरेर जिरा मसिनु चामल आयात हुने गरेको छ ।

यो तथ्यले नेपालमा कृषि निर्भरता घटेको र अन्य पेशा अपनाउन थालिएको बुझिन्छ । हाल कृषि क्षेत्रले देशको कुल गार्हस्थ उत्पादनमा २४.१ प्रतिशतले योगदान गरेको छ । कृषिमा विशेषगरी धान, गहुँ, मकै, जौ, कोदो, फापर मुख्य मानिन्छ ।

कसरी आयाे आयात गर्नुपर्ने अवस्था ?

कृषि विकास सचिव डा. शर्माले पहाडी क्षेत्रमा धान खेतीको जमिन कम भएको बताउँछन् । देशभर करिब १ लाख हेक्टर खेतीयोग्य जमिन घटेको शर्माको भनाइ छ । जसमा पहाडी क्षेत्रबाट तराईमा बसाइसराइ तथा अन्य पेशा व्यवसाय अँगालेको र तराईमा भने बसोबास वृद्धि, प्लटिङ, सडक निर्माणलगायतका पूर्वाधार विकासले पनि धान खेती गर्ने जमिन घटेको उनले बताए । यसले पनि उत्पादनमा कमी आएको र आयात गर्नुपर्ने अवस्था रहेको शर्माको बुझाइ छ ।

‘सिंचाइको सुविधा पर्याप्त नभएकाले पनि उत्पादनमा उल्लेख्य सुधार आएको छैन । जसले आयात गर्नुपर्ने स्थिति आएको छ । नेपालीहरुले मसिनो चामल उपभोगमा रुचि देखाएका छन् । तर, हाम्रोमा मोटो धानको उत्पादनमात्रै बढेकाले आयात गर्नुपर्ने बाध्यता भएको हो’, सचिव शर्माले नेपाल प्रेससँग भने, ‘उर्बर जमिन बाँझै छोडिएका छन् । आवश्यकताअनुसारको धानका बीउहरु छैनन् । सिंचाइ सुविधाको अभाव, बजारीकरणको कमी, अत्याधुनिक प्रविधिको प्रयोग गर्न नसक्नु जस्ता कारणले पनि धान चामलको आयात बढ्न गएको छ ।’

त्यस्तै, कृषिविज्ञ उप्रेतीका अनुसार जनताको चाहनाअनुरुपको धानको बीउ उत्पादन नगरिनु, मसिनो चामल मन पराउनु, शहरीकरणले कृषियोग्य भूमि घट्नु, कोशी प्रदेशमा करिब ३० हजार हेक्टर खेती गर्ने जमिन घट्नुलगायत कारण पनि नेपाल धान चामल आयात गर्नुपर्ने अवस्थामा पुगेको हो ।

पहाडमा पहिले मकैको बढी उपभोग हुन्थ्यो । अहिले भने चामल नै खाने गरिएको उनको भनाइ छ । यसले पनि चामलको खपत बढेको उनी बताउँछन् ।

तर, पोल्ट्री इण्डस्ट्रीहरु धेरै बढेकाले मकैको आयात पनि अर्बौंमा रहेको उनले बताए । त्यस्तै रेडिमेड चामल नै घरघर आउने अवस्था बनेकाले मेहनत गरेर खेतीपाती गर्ने अवस्था पनि कम भएको हुनसक्ने उप्रेती बताउँछन् ।

पछिल्लो समय मोटा धान भने गाईवस्तुलाई सोझै दानाको रुपमा प्रयोग गर्ने चलन बढेको र यसले पनि चामलको खपत बढाएर किन्नुपर्ने अवस्था ल्याएको उप्रेतीको तर्क छ ।

अवसर बन्नसक्छ भारतको प्रतिबन्ध

हाल नेपाल कृषि प्रधान मुलुक नै मानिए पनि धान चामल आयातको परिमाण दिनानुदिन बढिरहेको छ । हिजो धान चामल निर्यात गर्ने नेपाल आज आयातमा भर पर्नुपर्ने अवस्थाले देशको कृषि उत्पादनको स्थिति छर्लङ्ग पार्छ ।

यसैबीच भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । जसको प्रत्यक्ष असर नेपालमा पर्ने निश्चित छ । नेपाल भित्रिने धान चामलको अधिकांश भाग भारतकै पर्छ । जसले गर्दा नेपालमा खाद्यान्न अभावको समस्या थप चुलिने सम्भावना बढाएको छ ।

यो समस्याबाट जोगिन नेपालले पुनः आफूलाई धान चामलमा आत्मनिर्भर बनाउने बाटोमा लान ढिलो भइसक्यो । यसको लागि कृषिमा अत्याधुनिक प्रविधिको विकास, अव्यवस्थित शहरीकरणमा नियन्त्रण, उन्नत जातका बीउबिजन, गुणस्तरीय मलको सहज व्यवस्थापन गर्नुपर्नेमा कृषिविज्ञहरु जोड दिन्छन् ।

कृषि विकास सचिव डा. शर्मा आगामी दिनमा चैते धानलाई प्रोत्साहन गर्न सकिने बताउँछन् । उनले बायो टेक्नोलोजिस्ट जस्ता प्राविधिक पदको सिर्जनाका लागि सरकार र लोकसेवा आयोगलाई ऐन बनाउन सुझाव दिइएको बताए ।

नेपाललाई पुनः धान चामलमा आत्मनिर्भर बनाउन तपाईंहरुले के के गरिरहनु भएको छ भन्ने प्रश्नमा सचिव शर्मा भन्छन्, ‘अत्याधुनिक कृषि उत्पादनलाई अघि बढाउन हाम्रो पहल छ । जसका लागि मन्त्रीलगायतलाई आवश्यक कानून चाहिने जानकारी गराइएको छ । तर, कानून बनाउने हामीले होइन । संसदले हो । अहिले विभिन्न विषय कार्यान्वयनमा कानून नै अभाव छ । मन्त्रालयले बायो टेक्नोलोजिस्ट राखेको छ । तर, यो पोस्टलाई लोकसेवा, सामान्य प्रशासन मन्त्रालयले चिन्दैनन् ।’

उनले कानून बनाएर कृषिको आधुनिकीकरणमा जोड दिनुपर्ने सुझाए ।

‘स्थानीय बीउबिजनलाई ठिमाहा जातिको बनाएर नेपालमा आवश्यक बीउ उत्पादन गर्नुपर्छ’, उनले भने, ‘चैते धानको उत्पादनलाई प्रोत्साहन गर्ने हो भने करिब १ देखि २ लाख मेट्रिक टन उत्पादन बढाउन सकिन्छ ।’

कृषिविज्ञ उप्रेतीले जिरा मसिनु जस्ता धान नेपालमै उत्पादन गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने, ‘पहिले नेपालको तराई, झापा र मोरङमा मन्सुली, सानो मन्सुली चामलको उत्पादन हुन्थ्यो । त्यसैलाई व्यवस्थित र उन्नत जातको बनाउँदै लैजानुपर्छ ।’


प्रतिक्रिया

One thought on “चामलमा भारतको प्रतिबन्ध- नेपाललाई ४० वर्ष पहिले जस्तै आत्मनिर्भर बन्ने मौका बन्नसक्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर