यस्तो छ बालेनले भत्काउन चाहेको राप्रपा मुख्यालयको परिदृष्य (तस्बिरहरु) – Nepal Press

यस्तो छ बालेनले भत्काउन चाहेको राप्रपा मुख्यालयको परिदृष्य (तस्बिरहरु)

काठमाडौं । राप्रपाको धुम्बाराहीमा रहेको मुख्यालय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनको निशानामा परेको छ । हाइटेन्सन तारको मुनि भएकाले यो भवन खाली गराउन महानगरले आदेश दिएपछि राप्रपा नेताहरु तनावमा छन् ।

तीन दिनअघि काठमाडौं महानगरबाट गएको नगर प्रहरीले भवन खाली गराउन माइकिङ गरेको थियो । सोमबारसम्मको अल्टिमेटम दिइएको भए पनि राप्रपाले कार्यालय खाली गराएको छैन । राप्रपाका नेताहरु काठमाडौंका साहसँग संवादको प्रयासमा छन् । तर, बालेनले न भेट्न समय दिएका छन्, न कसैको फोन–म्यासेज रेस्पोन्स गरेका छन् ।

यो भवन दाताले दिएको करिब ८ आना जग्गामा बनेको हो । जग्गा दान दिए पनि राप्रपाको नाममा छैन । राप्रपाले कार्यकर्ताहरुबाट चन्दा संकलन गरेको भवन निर्माण गरेको हो । घरको परिदृष्य हेर्दा जोखिमयुक्त नै देखिन्छ । दुई तल्ले घरको छतबाट १०–१२ फिट माथि हाइटेन्सन लाइन छ ।

हाइटेन्सन लाइनले यस क्षेत्रका अन्य घरहरुलाई पनि प्रभावित बनाएको छ । तर, राप्रपाको कार्यालयजस्तो ठ्याक्कै मुन्तिर भने अन्य घरहरु छैनन् । राप्रपा कार्यालय भवनको नक्सापास पनि भएको छैन । हाइटेन्सन लाइनमुनि भएकैले नक्सा पास हुन नसकेको बुझिन्छ ।

यहाँको तार अन्डरग्राउन्ड गर्नुपर्ने स्थानीयले माग गरिरहेका छन् । तर, विद्युत प्राधिकरणले भने त्यस्तो कुनै तयारी गरेको छैन । मापदण्ड लागू गर्ने हो भने अरु घरहरु पनि आंशिक भत्काउनुपर्ने हुन सक्छ ।
महानगरले भत्काउने चेतावनी दिँदा पनि जग्गाधनी दिलविकास राजभण्डारी राप्रपाको सम्पर्कमा आएका छैनन् ।

उनी स्वयम् यो जग्गा खाली गराउने पक्षमा रहेको राप्रपा नेताहरुको अनुमान छ । राप्रपा कार्यालय धुम्बाराही चोकबाट २–३ सय मिटर उत्तरमा अवस्थित छ । २०६९ सालमा यो भवन पार्टीले बनाएर प्रयोग गर्न थालेको हो ।

नगरप्रहरी प्रमुख राजु पाण्डेसँग आज राप्रपाका निरन्जन थापाले कुरा गरेका थिए । पाण्डेले थप केही समय दिन सकिने, तर घर खाली गर्नैपर्ने अडान लिए । राप्रपाले भने काठमाडौंमा हाइटेन्सनमुनि धेरै घरहरु भएकाले राप्रपाको कार्यालयमा मात्रै टार्गेट गरिएको गुनासो गरेको छ ।


प्रतिक्रिया

One thought on “यस्तो छ बालेनले भत्काउन चाहेको राप्रपा मुख्यालयको परिदृष्य (तस्बिरहरु)

  1. प्रचारप्रसार मुखी मेयर तात्तो न छारो जनतालाई सेवा सुबिधा होइन चकलेटी प्रचारप्रसार मात्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर