मानव-बाघ द्वन्द्व समाधान ‘गाउँखाने कथा’ जस्तो नबनोस् ! – Nepal Press
विश्व बाघ दिवस:

मानव-बाघ द्वन्द्व समाधान ‘गाउँखाने कथा’ जस्तो नबनोस् !

आज जुलाई २९ अर्थात् विश्व बाघ दिवस । विश्वकै प्राकृतिक सम्पदाको धनी राष्ट्र भनी उपाधि पाएको नेपालका लागि यस दिवसले विशेष महत्त्व राख्दछ । प्राकृतिक सम्पदाको रुपमा परिभाषित बाघ सांस्कृतिक र ऐतिहासिक रुपले पनि उत्तिकै महत्त्वपूर्ण छ । बाघ ‘वातावरण सन्तुलन’को संकेत चिन्ह हो, यसर्थ नेपालमा बाघको संख्या वृद्धि हुनु भनेको ‘वातावरणीय सन्तुलन’मा पनि वृद्धि देखिएको सूचाक्षर हो। नेपालमा सन् १९९५ मा ९८ वटा, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८, सन् २०१८ मा २३५ र सन् २०२२ मा ३५५ वटा बाघ रहेका छन् । सन् २०१० यता १२ वर्षमा नेपालमा २३४ वटा बाघ बढेको देखिन्छ । यसप्रकार बाघ संरक्षणमा देखिएको सफलता नेपालको उन्नति र प्रगतिको सकारात्मक सन्देश हो । तर, यो सन्देश निकुञ्जवरिपरिका बस्तीमा पनि जान जरुरी छ ।

त्यसपहिले हामी सरसर्ती दुई प्रसंगलाई चर्चा गर्नेछौँ ।

१. ‘तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा अर्थात् सन् १९११ मा बेलायती राजा जर्ज पाचौँ चितवन आए, क्याम्प लगाएर १० दिन बसे र ३९ वटा बाघ, १८ वटा गैँडा, ४ वटा भालु, कैयौँ चितुवा र दुम्सी मारेर फर्किए ।’ प्रस्तुत वाक्यले विदेशी शासकलाई रिझाउन नेपाली वन्यजीव ‘भेटी’ चढाउने तत्कालिन नेपाली राज्यव्यवस्थाको चित्रण गर्दछ । यसलाई यहाँ हामी ‘मान्छे–बाघ द्वन्द्व’ भन्नेछौँ ।

२. ‘नेपालले बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता जनाएपछिको १२ वर्षमा बाघको संख्या झन्डै तेब्बरले वृद्धि गर्यो ।” प्रस्तुत वाक्यांशले नेपालले ‘टीएक्सटू मिसन’मा हासिल गरेको अपार सफलतालाई इंकित गर्दछ, जसमा हलिउड अभिनेता लिओनार्दो डिक्याप्रियोले समेत नेपाललाई बधाई दिएपश्चात् विश्वको ध्यान अझ नेपाल नेपालतर्फ बढेको छ । यससँगै विश्वका निकुन्ज पर्यटकहरूको नेपालप्रतिको आकर्षण बढ्दो छ । यद्यपि, यति नै बेला ‘बाघ–मानव द्वन्द्व’ पनि बढेको छ, हरेक महिना तीन जना बाघको आक्रमणमा परिरहेका छन् । यसलाई यहाँ हामी ‘बाघ–मान्छे द्वन्द्व’ भन्नेछौँ ।

प्रथमतः प्रथम वाक्यलाई थोरै व्याख्या गरौँ– बेलायती शासकलाई रिझाउन वन्यजन्तु ‘भेटी’ चढाउने लहरले नेपालमा मान्छे–बाघको द्वन्द्वको इतिहास निकै पुरानो रहेको बताउँदछ । ज्ञात इतिहासअनुसार, सन् १८७६ को फेब्रुअरीमा रानी भिक्टोरियाका छोरा एवं वेल्सका तत्कालीन राजकुमार अल्बर्ट इडवार्ड (पछि गएर एडवार्ड–७ राजा) श्री ३ जंगबहादुर राणाको निम्तोमा नेपाल आई दुई सातामा २३ वटा बाघ मारेर फर्किएका थिए, यो नै ब्रिटिश राजपरिवारका सदस्यले प्रथमपटक नेपालमा गरेको सिकार हो । उसो त, राणा शासकहरूले सन् १८४६ देखि नै चितवन क्षेत्रमा सिकार गर्न थालेका थिए, अर्थात् जंगबहादुर राणाको उदयसँगै जंगली जनवारको दुर्दिन सुरु भएको थियो । ‘बिग गेम हन्टिङ’ अर्थात् ‘सिंह, बाघ, चितुवा र गैंडाको सिकार’लाई अन्य राणा शासकहरूले पनि क्रमशः ‘प्रतिष्ठा (हन्टिङ डिप्लोमेसी)’ को विषय बनाउँदै लगेको इतिहास पाइन्छ ।

‘बिग गेम हन्टिङ’का लागि तराईको जंगल उपयुक्त रहेको र जंगबहादुरको शासनकालमा एउटै सिजनमा तीन सयवटासम्म बाघ मारिएको तथ्यांक ‘किङ्स एज वार्डेन्स एन्ड वार्डेन्स एज किङ्स : पोस्ट राना टाइज विटुइन नेपाली रोयल्स एन्ड नेसनल पार्क स्टाफ’ नामक रिसर्च आर्टिकलमा अध्येता निना भट्ट उल्लेख गर्छिन् । राणा शासनमा विभिन्न समारोहमा वन्यजीवको सिकार अनिवार्य जस्तो थियो (उदाहरणः आफू श्री ३ महाराज भएको खुसियालीमा सन् १९३२ मा जुद्धशमशेरले नवलपुरको एकै सिकारमा ४१ वटा बाघ र १३ वटा गैंडा मारेका थिए ।) अझ, विभिन्न मुलुकका शाही परिवार तथा शासकलाई सिकारका लागि नेपाल बोलाइने प्रचलन पनि राणाकालमा व्यापकरूपले देख्न पाइन्छ । जस्तैः राजा एडवार्डका जेठा छोरा राजकुमार अल्बर्ट भिक्टोर, ड्युक अफ क्लारेन्सी सन् १८८९–९० को जाडो याममा वीरशमशेरको निमन्त्रणामा बिग हन्टिङका लागि नेपाल आएका थिए भने रणोद्दीप सिंहको पालामा सन् १८८४ मा द ड्युक अफ पोर्टल्यान्ड बिग गेम हन्टिङकै लागि नेपाल आइपुगेको इतिहास छ । विसं १९०३ मा राणाहरूले हालको चितवन राष्ट्रिय निकुञ्ज रहेको क्षेत्रलाई सिकार क्षेत्रका रूपमा नै घोषणा गरेका थिए ।

पछिल्लो उदाहरण राजा महेन्द्रकै छ, उनी आफ्ना दुई छोरा वीरेन्द्र र ज्ञानेन्द्रलाई लिएर सिकार गर्नका लागि तराईका जंगल जान्थे । राजा महेन्द्रले सन् १९६१ मा बेलयाती महारानी क्विन एलिजाबेथको नेपाल भ्रमणको अवसर पारेर बिग हन्टको आयोजना गरेका थिए, त्यसबेला एउटा बाघ र गैंडा मारिएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ लागू नहुँदासम्म महेन्द्र मृगकुञ्जका नाममा वन्यजन्तुहरूको सिकार र आखेटोपहार संकलन यथावत् थियो । सिकारबाट ल्याइएका आखेटोपहार बहादुरी प्रदर्शन गर्न उनीहरूले घर र कार्यकक्षमा सजाएर राख्थे । राजदरबारभित्रै सिकार अड्डा थियो । यी उदाहरणहरूले १८ औँ एवम् १९औँ शताब्दीमा नेपालका शाही परिवारको पारिवारिक, नेपालको सांस्कृतिक तथा राजनीतिक परिवेश हाम्रोसामू प्रष्टसाथ् राख्दछ । यसप्रकार, राणा शासन नेपाली जनताको लागि मात्रै नभएर जंगली जनवारका लागि दुस्खका दिनहरू थिए भनेर हामी भन्न सक्दछौँ ।

अब दोस्रो वाक्यांशमा संक्षेपमा चर्चा गरौँ । सुरु प्रजातान्त्रिक नेपालको सुरुवाती दिनहरूबाट गरौँ ।

बेलायती शासकलाई रिझाउन वन्यजन्तु ‘भेटी’ चढाउने राणा शासकहरूको सिको गर्दै प्रजातान्त्रिक मुलुकका जमिनदार, ठालूहरूले ठुला वन्यजीवको सिकारलाई शान, सौकत र प्रतिष्ठासँग जोड्ने काम गरे । बाघ मारेर मनोरञ्जन लिने प्रवृत्ति पञ्चायतकालमा अझ मौलायो । हुँदाहुँदा, राजाको सवारी हुँदा सिकार गर्ने चलन बस्यो । बिस्तारै चोरी सिकार र अंगको अवैध व्यापारले तीव्रता पायो भने अर्कोतर्फ, राणाकालको अन्त्य र तराईमा मलेरियाको उन्मूलनसँगै बसाइसराइ दर बढ्नाले वनजंगलको फँडानी तीव्र बन्यो । बस्ती बढ्न थालेपछि बाघको प्राकृतिक वासस्थान मासिँदै गयो ।

सन् ५० र ६० को दशकमै विदेशी विज्ञ टोलीले नेपालमा वन्यजन्तु सखाप हुने चेतावनी दियो । चेतावनीपश्चात् ‘फ्यागसिप स्पिसिस मोडल कन्जरभेसन’ मोडेल अर्थात् ‘ठूला जनावरलाई जोगाउने र निश्चित ठाउँहरु त्यसका लागि तय गर्ने सोच’अनुरुप नेपालमा संरक्षणका प्रयासहरू थालिए, त्यसैको एक स्वरूप थियो– राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ । राष्ट्रिय संरक्षण रणनीतिले पनि नेपालमा प्राकृतिक सम्पदाको दोहनमा रोक लगाउँदै संरक्षणमा अगाडि बढाउन मद्दत पुर्‍यायो । वन्यजन्तु संरक्षणका लागि नेपाली सेनाले पनि ठूलो भूमिका खेलेको छ । नेपालमा बाघ संरक्षण र वन्यजन्तु चोरीसिकार नियन्त्रणतर्फ नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको भूमिका पनि महत्त्वपूर्ण छ ।

राजा महेन्द्रको निधनपछि वीरेन्द्रको पालामा चितवन राष्ट्रिय निकुञ्जको स्थापना भयो । उसो त, राणाकालमै वनस्पति तथा वन्यजन्तु संरक्षणका लागि चिडियाखानाको स्थापना गरिएको थियो । सन् १९५० को दशकमा प्राकृतिक विज्ञान संग्रहालय, गोदावारी वनस्पति उद्यान स्थापना भएको इतिहास भेटिन्छ, तर यी फुजुल गए । ती संरक्षण अभियान फलदायी हुन सकेनन् । एकोहोरो ‘संरक्षण, संरक्षण’ भनियो तर आर्थिक उपार्जनसँग जोडिएन । यहिक्रममा विभिन्न ठाउँमा बाघ, हात्ती, गैंडाले विध्वंस मच्चाए । मान्छे र वन्यजन्तुबीच द्वन्द्व बढ्यो । यसक्रममा ‘जनवार कि मान्छे ?’ भन्ने प्रश्नहरू उठे । संरक्षणमा स्थानीयको अपनत्वबोध नहुँदा एवम् संरक्षणलाई आम्दानीको माध्यम बनाउन सकिन्छ भन्ने चेतनाको अभावले वन्यजन्तु पर्यटनले गति लिन सकेन ।

बाघसहित वन्यजीवलाई गौरवको विषयमा सीमित नराखी स्थानीयलाई जीविकोपार्जन र राज्यलाई राजस्वको स्रोतका रूपमा विकसित गर्दा वन्यजन्तु संरक्षण प्रतिफलमूलक र दिगो हुन्छ भन्ने चेत विकसित हुन् समय लाग्यो, तर भएरै छाड्यो । यसमा संरक्षणकर्मीहरू खुसी भए । र, वन्यजीवहरू पनि । सोही उल्लासको क्षण हो, जब नेपालले आफ्नो प्रतिबद्धाभन्दा माथि गई बाघको संख्या झन्डै तेब्बर गरेर आफ्नो संकल्प पुरा गर्यो । यसपछि ‘हिमाल र लुम्बिनी मात्रै छ’ भन्ने नेपालीले ‘हामीसँग बाघ पनि छ’ भन्न थाले । यहि माउथ पब्लिसिटीकै कारण हाल नेपाल आउने ५० प्रतिशत पर्यटकहरू निकुन्ज पर्यटनका लागि पुग्दछन् (सन् २०१९ मा ११ लाख ५२ हजार पर्यटकले नेपाल भ्रमण गरेकोमा ७ लाख पर्यटकले संरक्षण क्षेत्रको भ्रमण गरेका थिए।) यस यात्राले ‘वन्यजन्तु भगाएर होइन, जोगाएर लाभ हुने रहेछ’ भन्ने स्थानीयवासीलाई बुझायो भने ‘वन्यजन्तु नेपाली पर्यटन समृद्ध बनाउने आधारस्तम्भ रहेछन्’ भन्ने बोध सरकारलाई गरायो । यद्यपि, स्रोतसाधनको अभावका बाबजुद वन्यजन्तु सिकारको नियन्त्रण र बाघका महत्वपूर्ण वासस्थानको रक्षा गरेर बाघ संरक्षणमा ऐतिहासिक उपलब्धि हासिल गरेतापनि स्थानीय समुदायले भने ठूलो मूल्य चुकाइरहेको तितो यथार्थ विद्यमान छ । किन ? किनभने बाघ मात्रै बढेन, बाघको आक्रमण पनि बढ्यो ।

बाघ बढ्यो, बाघको आक्रमण पनि बढ्यो

बाघको संख्या बढेसँगै नेपालमा बाघले गर्ने क्षतिका घटनाहरू पनि बढ्दो अवस्थामा छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांकअनुसार, आर्थिक वर्ष ०७६/७७ निकुञ्ज तथा मध्यवर्ती क्षेत्रहरूमा बाघले गरेका क्षतिको घटनना १७५ थियो । यो दर बढेर आर्थिक वर्ष ०७७/०७८मा ३०६ पुगेको थियो भने ०७८/०७९ मा बाघबाट भएको क्षतिको घटना ३ सय ६० छ । ०७८र०७९ मा बाघको आक्रमणमा परेर १४ जनाको मृत्यु भएको थियो भने पाँच जना सामान्य घाइते र तीन जना सख्त घाइते भएका थिए । ०७६/०७९ सम्ममा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र १०४ वटा बाघको आक्रमणबाट ६२ जनाको ज्यान गएको थियो । यस अवधिमा बाघमा आक्रमणमा पर्नेमध्ये करिब ६० प्रतिशतको मृत्यु भएको र २८ प्रतिशत सख्त घाइते भएका थिए । बाघ आक्रमणको सबैभन्दा बढी घटना बर्दिया राष्ट्रिय निकुञ्जमा देखिन्छ । सो तीन वर्षमा भएको ३३ आक्रमणको घटनामा १९ जनाको मृत्यु भएको थियो । ६ जना सामान्य घाइते र ८ जना सख्त घाइते भएका थिए । यसप्रकार, घाँस र दाउरा वा अन्य कुनै वनजन्य उत्पादन लिन जङ्गल वा बफर जोनमा हुँदा हरेक महिना तीन जनालाई बाघले आक्रमण गर्ने अनुमान गरिएको छ । बाघको आक्रमणबाट विगत एक दशकमा संरक्षणकर्मी र कार्यकर्तासहित तीन सयभन्दा बढीको ज्यान गएको तथ्यांक छ ।

समुदायलाई नजोगाई वन्यजन्तुको रक्षा गर्नु आखिरकर संरक्षणको लागि पनि क्रूर मूल्य हो । संकल्पयात्राको सफलतामा सरकार मस्त भइरहँदा स्थानीय समुदायले चुकाएको मूल्य भने अझै उपेक्षित छ । उनीहरूले चुकाएको मूल्यको दस्ताबेजीकरणसमेत पर्याप्त छैन । यसकारण, बाघको संख्या बढेकोमा उत्सव मनाइरहँदा वन्यजन्तुको आक्रमणमा मारिएकाहरूको परिवारको अनादर त भइरहेको छैन भन्ने टड्कारो प्रश्नको उत्तर खोज्न अत्यावश्यक भइसकेको छ ।

अन्त्यमा, निःसन्देह वन्यजन्तुको प्राकृतिक बासस्थान संरक्षण गर्नुपर्छ  । संकटापन्न प्रजातिको भविष्यका लागि वन्यजन्तु क्षेत्रनजिकका स्थानीय बासिन्दाको चिन्ता र चासोको सम्बोधन गर्न आवश्यक छ । स्थानीय बासिन्दा वन्यजन्तु संरक्षणको महत्वपूर्ण घटक हुन् । यदि यी बासिन्दा र वन्यजन्तुबीच शत्रुतापूर्ण सम्बन्ध बन्छ भने संरक्षणमा उदासनिता देखिन सक्छ अथवा वन्यजन्तुसँग प्रतिशोधकै वातावरण सिर्जना हुन सक्छ । अतः नेपालमा मानव–बाघ द्वन्द्व समाधान गाउँखाने कथा जस्तो नबनोस् ।

(लेखकद्वय वातावरण पत्रकारिता गर्दै आइरहेका छन् ।)

तस्बिरहरु : दीपक राजवंशी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *