नेतृत्व परिवर्तनको एजेण्डामा एक्लिए गगन- देउवा थप शक्तिशाली, शेखर के गर्लान् ? – Nepal Press

नेतृत्व परिवर्तनको एजेण्डामा एक्लिए गगन- देउवा थप शक्तिशाली, शेखर के गर्लान् ?

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीमा थप शक्तिशाली बनेका छन् । एक वर्षपछि बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व परिवर्तनको एजेण्डा ल्याउँदा पनि देउवा प्रचण्ड बहुमतमै कायम रहे ।

देउवाबाट पार्टी नचल्ने निष्कर्ष निकालेका गगन-विश्वले बैठकमा पनि पार्टी सभापतिलाई दबाबमा राख्न चाहन्थे । तर, परिस्थिति उल्टो बन्यो । बैठकमा आफूमाथि धेरै प्रहार हुने देखिएपछि देउवाले लाइभ गर्ने निर्णय अख्तियार गरे । बैठक लाइभ गरेपछि देउवा आलोचना एवं प्रहारबाट मात्रै जोगिएनन्, महामन्त्रीद्वयले आफू अनुकूल मिडियामा प्रचार गर्ने प्रवृत्तिसमेत अन्त्य भएको देउवा पक्षीय नेताहरुको बुझाइ छ ।

बैठकमा आफूले सोचेभन्दा कम आलोचना भएको देउवा आफैंले स्वीकारेका छन् । ‘म त धेरै आलोचना होला भन्ठानेको, कम भयो, त्यसको लागि धन्यवाद दिन चाहन्छु । कांग्रेसमा सबै एकसेएक साथीहरु हुनुहुन्छ । लाइभ पनि देखायौं, दुनियाँले हेरे । कांग्रेसमा कोहीभन्दा कोही कम छैन’, देउवाको भनाइ थियो।

बैठकमा संस्थापन पक्ष आक्रामक रुपमा प्रस्तुत हुँदा पार्टी विधिअनुसार नचलेको भन्दै नेतृत्व परिवर्तनको एजेण्डा अघि सारेका महामन्त्री थापा एक्लिए । उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मासहित केही नेताहरुको साथ थियो । तर, त्यो एजेण्डा बैठकमा स्थापित हुन सकेन ।

गगन-विश्वलक्षित संस्थापन पक्षका नेताहरु आक्रामक रुपमा प्रस्तुत भएपछि नेता चन्द्र भण्डारीले बैठक शक्ति प्रदर्शन गर्ने थलो जस्तो बनेको टिप्पणी गरे । सबै नेताहरु दुई युवा महामन्त्रीमाथि खनिएको उनको भनाइ छ ।

गगनले बैठकमा नेतृत्व परिवर्तनको मात्रै नभएर पार्टीलाई विधानअनुसार चलाउनुपर्ने, पार्टीलाई जनतासँग जोड्नेदेखि नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्नेलगायत महत्वपूर्ण प्रस्ताव अघि सारेका थिए । एक वर्षे कार्ययोजनामा अधिकांश नेताहरुको साथ पाए पनि नेतृत्व परिवर्तनदेखि खाणलाई कारबाही गर्नुपर्ने विषयमा आफूनिकट नेताहरुको खुलेर साथ नपाएपछि गगनले १३बुँदे फरक मत दर्ता गराए ।

तर, महामन्त्रीहरुविरुद्ध संस्थापन पक्ष योजनाबद्ध ढंगबाट प्रस्तुत भएको गगन निकट एक नेताको आरोप छ ।

ती नेताले भने, ‘बैठकमा सभापतिले नबोले पनि उहाँहरुले आफू निकट नेताहरुलाई तयार गराएर आउनुभएको जस्तो देखियो । उहाँहरु आक्रामक रुपमा महामन्त्रीमाथि खनिनुभयो । उहाँहरुले महामन्त्रीहरुलाई दबाबमा राख्न खोज्नुभयो । उहाँहरुमाथि नै आक्रोश पोख्नुभयो ।’

अहिले पार्टीलाई विधानअनुसार चलाउन आवश्यक भएकाले बैठकपछि केही अपेक्षा गर्न सकिने केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले बताए ।

उनले भने, ‘विधान र विधिअनुसार पार्टीलाई हामीले अगाडि बढाउनुपर्छ भनिरहेका छौं । त्यहीअनुसार सभापतिले बैठकको अन्तिममा अर्को बैठकको मिति तय गर्दा सकारात्मक सन्देश प्रवाह भएको छ ।’

महामन्त्रीहरुले प्रस्तुत गरेको वर्षिक कार्यतालिका केही संशोधन गरेर पारित भए पनि सकारात्मक सन्देश दिएको उनको भनाइ छ । उनले थपे, ‘कार्यतालिका पारित हुनु भनेको महामन्त्रीहरुको जीत हो । अब यही कार्ययोजनाअनुसार पार्टीलाई अगाडि बढाउन सके रुपान्तरणको अभियान पनि सुरु हुन्छ ।’

त्यसो त अब भदौदेखि महामन्त्री थापा तल्लो तहका नेता कार्यकर्ताको गुनासो सुन्न देश दौडाहमा लाग्दैछन् ।

यता, बैठकमा महामन्त्रीले प्रस्तुत गरेको कार्यतालिका र एजेण्डाबाहेक राखेको सबै अभिव्यक्ति व्यक्तिगत भएको कांग्रेस प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतको तर्क छ ।

उनी भन्छन्, ‘आधिकारिक प्रस्तावबाहेक राखेका धारणा व्यक्तिगत हो । त्यसैले बैठकमा सबैले राखेको कुरा समेटिन्छन् भन्ने हुँदैन । बैठकमा सबैले आआफ्नो धारणा राख्न पाउँछन् ।’

कांग्रेस सुशासनको पक्षमा दृढ रहेको बताउँदै प्रवक्ता महतले दोषी ठहर भए सबैलाई कारबाही गर्नेसमेत बताए ।

खाणबारे मौन बसेको भन्दै कांग्रेस वृत्तबाट आलोचना भइरहेको बेलामा उनले भने, ‘भ्रष्टाचारको विषयमा दोषी सावित भए कारबाही गर्छ । तर, कुनै पनि व्यक्तिलाई आरोप लाग्दैमा दोषी हुँदैन । नेपालको संविधानले पनि भनेको छ । निष्कर्ष नआइ कसैलाई दोषी करार गर्न मिल्दैन ।’

गगनको प्रयास

विधानमा व्यवस्था भए पनि अहिले दलको नेता परिवर्तन हुन सक्ने कुनै आधार नभएको देउवा निकट कांग्रेस सहमहामन्त्री महेन्द्र यादवको दाबी छ । उनले अब बैठकपछि महामन्त्रीको हैसियतले पार्टीलाई एकताबद्ध बनाएर जानुपर्ने उनको भनाइ छ ।

त्यसो त बैठकमा बोल्दै केन्द्रीय सदस्य उर्मिला नेपालले नेतृत्व परिवर्तनको एजेण्डालाई बेमौसमी बाजाको संज्ञा दिएकी थिइन् ।

‘नेतृत्व परिवर्तनको कुरा बेमौसमको बाजा हो । हामीले अधिवेशन सकेका छौं । यो सकेको धेरै समय भएको छैन । हामीले नेतृत्व जसलाई सुम्पिएका छौं । हामीले विधानअनुसार नै उहाँलाई जिम्मेवारी दिएका हौं । उहाँलाई काम गर्न दिनुपर्छ । के कारणले नेतृत्व परिवर्तनको कुरालाई उठाउनुभयो ?’ बैठकमा धारणा राख्ने क्रममा उनले भनेकी थिइन् ।

संस्थापन पक्षका नेताहरुले भने झैं नेतृत्व परिवर्तनको विषयमा गगनले इतर पक्षकै सबै नेताहरुको साथ पाएनन्। इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइराला नै १५औं महाधिवेशन कुर्न तयार छन् । उनी अहिले नेतृत्व परिवर्तनको गगनको एजेण्डामा साथ दिने पक्षमा छैनन् ।

तर, बैठकमा गगनले नेतृत्व परिवर्तनको विषयले नेपालको राजनीतिमा प्रवेश पाउनैपर्ने बताए ।

‘संसदीय दलको नेता बदल्ने प्रयास गरें, सकिएन । परिणाम त मैले मान्नैपर्छ । तर, यो प्रयास मैले फेरि गर्नै मिल्दैन त ? बकाइदा मिल्छ । पार्टीको विधानले, संसदको नियमले मिल्छ’, उनले भनाइ थियो, ‘आवश्यकता छैन त ? आवश्यकता छ भन्ने म ठान्छु । सम्भव छैन त ? म निष्काम कर्ममा विश्वास गर्छु । कर्म गर फलको चिन्ता नगर भन्ने सिद्धान्तमा हिँड्छु । मलाई थाहा छ गाह्रो छ।’

उनले देउवालाई अब प्रधानमन्त्री नबन्ने घोषणा गरेर अर्को व्यक्तिलाई अगाडि सार्न बैठकबाटै आग्रह गरे । ‘साथीहरु किन आत्तिनुभएको ? मैले पार्टी फुटाउने कुरा गरेको होइन । मैले नेता फेर्ने भनेको हो’, उनको स्पष्टोक्ति थियो ।

के गर्लान शेखर ?

त्यसो त कोइरालामात्रै नभएर उपसभापति तथा कानूनमन्त्री धनराज गुरुङले पनि अहिले नै देउवालाई सभापतिबाट हटाउन नसकिने बताए ।

मंगलबार एक कार्यक्रममा बोल्दै उनले भनेका थिए, ‘हामीले पार्टी रुपान्तरणको अभियान लिएर १४औं महाधिवेशनमा उठेका थियौं । तर, अहिले पनि विश्राम लिएका छैनौं । मैले भन्दै आएको छु, १४औं महाधिवेशनपछि नपुग्ने र नहुने कुरा गर्न चाहन्न । मैले अहिले नै खरो ढंगबाट पार्टी सभापति बदल्नुपर्छ भन्न चाहन्न, सक्दिनँ । भन्दिनँ पनि।’

उनले अब पार्टी रुपान्तरणको लागि १५औं महाधिवेशनबाट शेखर कोइरालालाई सभापति बनाइछाड्ने उद्घोष गरे । देउवाले आगामी महाधिवेशनमा नउठ्ने घोषणा गरेपछि पछिल्लो समय कोइराला संस्थापन पक्षसँग नजिकिएका छन् ।

उनले बैठकअघि गुट भेला पनि गरेनन् । पार्टीमा गुटबन्दी अन्त्य गर्न कोइरालाले महत्वपूर्ण भूमिका खेलेको भन्दै केन्द्रीय बैठकमै संस्थापन पक्षका नेताहरुले धन्यवादसमेत दिए । उनी बैठकमा पनि त्यहीअनुसार प्रस्तुत भएका थिए । तर, इतर पक्षका नेताहरुले टीमको एजेण्डाअनुसार बैठकमा प्रस्तुत नभएको गुनासो गरिरहेका छन् ।

गगन निकट एक नेता भन्छन्, ‘हामीले पनि गुटमात्रै चलाउने भनेका छैनौं । तर, शेखर दाइ परिस्थितिअनुसार टीमको एजेण्डामा प्रस्तुत नभएको साथीहरुको गुनासो छ । अब हेरौं आगामी दिनमा उहाँ कसरी प्रस्तुत हुनुुहुन्छ ।’

पछिल्लो समयको मौनताको कारण पनि इतर पक्षका नेताहरुले प्रश्न उठाइरहेका छन् । त्यसो त १४औं महाविधेशनमा सभापतिमा पराजित शेखरलाई वरिष्ठ नेता बनाउनुपर्ने माग बैठकमा नेताहरुले राखेका थिए । कांग्रेसमा वरिष्ठ नेता सभापतिपछि दोस्रो वरियताको हुन्छ । तर, बैठकमा शेखरको मात्रै नभएर संस्थापन पक्षकै नेता गोपालमान श्रेष्ठलाई पनि वरिष्ठ नेता बनाउनुपर्ने आवाज उठेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर