माओवादीमा ‘विप्लव पराकम्प’ : वर्षमान-जनार्दनबीच आपसी सहयोग गरेर जाने समझदारी – Nepal Press

माओवादीमा ‘विप्लव पराकम्प’ : वर्षमान-जनार्दनबीच आपसी सहयोग गरेर जाने समझदारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग निकटता बढाएका छन् । पूर्वमाओवादी घटकहरूको एकताको प्रयास गरिरहेका प्रचण्ड विप्लवलाई पार्टीमा भित्र्याउने लबिङमा लागेका हुन् ।

तत्कालीन नेकपा माओवादी विभाजन हुँदा मोहन वैद्य ‘किरण’ सँगै विप्लव पनि अलग्गिएका थिए । पछि वैद्यबाट पनि फुटेका विप्लवले २०७१ साल मंसिर १३ गते आफ्नै नेतृत्वमा नयाँ पार्टी बनाए । तर, समाजवादी मोर्चा हुँदै अहिले विप्लव फेरि प्रचण्डसँग जोडिएका छन् । पार्टीमा ल्याउने प्रचण्डको प्रयासमा विप्लव सकारात्मक छन् । केही समयअघिसम्म प्रचण्डविरुद्ध आक्रोश पोख्ने विप्लवका पछिल्ला अभिव्यक्ति प्रचण्ड र माओवादीको रक्षाकबच देखिन्छन् ।

विप्लवलाई प्रचण्डसँग पुनर्मिलन गराउन माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको जोडजुलुम छ । विप्लव स्वंमले पनि अब अलग्लै बसेर समाजवादको यात्रा तय गर्न नसक्ने निष्कर्षसहित एकता प्रक्रियामा अघि बढेको बताएका छन् ।

त्यसो त महरामार्फत समाजवादी मोर्चामा विप्लवलाई प्रचण्डले भित्र्याएपछि नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई छायाँमा परे । मोर्चामा नअटेपछि अहिले प्रचण्डविरुद्ध आक्रोश पोख्दै पार्टी संगठन निर्माणको अभियानमा छन् ।

प्रचण्डले महरामार्फत विप्लवलाई भित्र्याउन लाग्दा पार्टीमा ‘पराकम्प’ आएको पनि टिप्पणी भइरहेको छ । खासगरी उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन झस्किएको भन्दै कतिपयले प्रचण्डको विप्लव कार्डले शर्मा र पुनलाई ब्यालेन्स गर्ने विश्लेषण पनि गरिरहेका छन् । यसअघि शर्मा र पुनको टकराबको कारण देव गुरुङले महासचिव हत्याएको विषय पनि उनीहरू स्मरण गर्छन् । तर, पार्टी संगठनलाई अझ सुदृढ र बलियो बनाउन दुवै नेता एकआपसमा सहकार्य गरेर जान तयार रहेको एक नेताले बताउँछन् ।

माओवादीका एक पदाधिकारी भन्छन्, ‘बाहिर हल्ला फिँजाइएकोजस्तो होइन । पहिले त पार्टी बन्नुपर्‍यो नि । पार्टी रहे न नेता । युद्धकालमा सँगै हिँड्नुभएको मान्छे । अहिले पनि सँगै जान के समस्या र ?’

प्रचण्डले पछिल्लो समय शक्ति गुम्दै गएपछि पूर्वमाओवादी एकतादेखि समाजवादी मोर्चा हुँदै नेकपासम्मको तुरुप फ्याँकिरहेका छन् । धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीलगायत नेताहरूले साथ छाडेपछि एक्लिएका विप्लव अस्तित्व रक्षाको लागि भएपनि सेफ ल्याण्डिङ गर्नुपर्ने बाध्यतामा छन् ।

विप्लव नेतृत्वको नेकपासँग पार्टी एकताको छलफल भइरहेको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘हामीले उहाँहरूसँग एकताको लागि कुरा गरिरहेका छौं । अहिलेसम्म औपचारिक सहमति भइसकेको छैन । अहिलेसम्म पदको कुनै कुरा भएको छैन । पहिला विचार र दृष्टिकोणको कुरा हुन्छ । अहिले हामी एउटै मोर्चामा भएको छौं । मोर्चाको नेतृत्व चार-चार महिनामा फेर्नेगरी सहमति भएको छ ।’

पार्टी एकताको विषयमा छलफल भएपनि विप्लवलाई महासचिव बनाउने भन्ने कुनै निर्णय नभएको उनले बताए । त्यसो त उनले जनार्दन र वर्षमानले पनि अहिले विप्लवलाई पार्टीमा नल्याऔं नभएको उनले बताए ।

पौडेलले थपे, ‘अब १७ गते केन्द्रीय समितिको बैठकको निर्णयपछि केही निर्णय हुनसक्छ । यसबारेमा बैठकमा पनि छलफल हुन्छ ।’

माओवादी केन्द्रका अर्का सचिव डिलाराम आचार्य पनि विप्लव नेतृत्वको नेकपासँग एकताको विषयमा सामान्यतया छलफल भएको बताए ।

उनले भने, ‘दुई पार्टीको दस्तावेज अध्ययन गरिसकेपछि एकताको कुरा टुंगिन्छ । अहिलेसम्म सामान्य चर्चामात्रै चलेको छ पार्टीभित्र । पार्टीको दस्तावेज हेर्न, आगामी कार्यदिशा, रणनीति र सिद्धान्तको बारेमा छलफल बहस गरेर जानेगरी अझै तयारी भएको छैन । तर, चाँडै एकता प्रक्रियामा जाने तयारी छ ।’

प्रचण्ड विप्लवलाई महासचिव बनाउन तयार हो ? भन्ने प्रश्नमा उनले भने, ‘अहिलेसम्म त्यसबारेमा औपचारिक रुपमा छलफल भएको छैन । अध्यक्षज्यूले दिन्छु भन्नुभएको पनि छैन । विप्लव कमरेडले माग्नुभएको पनि छैन ।’

गत महाधिवेशनमा नै राजनीतिक र सैद्धान्तिक विचार मिल्नेहरूसँग एकता गरेर जाने निर्णयअनुसार नै विप्लवसँग एकताको प्रयास भइरहेको केन्द्रीय सदस्य रञ्जित तामाङले बताए ।

उनले भने, ‘माओवादी घटकहरुको बीचमा एकता गर्ने भन्ने हो । सहकार्य, मोर्चा सहकार्य गर्ने भन्ने भएको थियो । महाधिवेशनको एजेण्डाअनुरुप नै अहिले पूर्वमाओवादी घटकहरूको एकता गर्ने र तत्कालीन हिसाबको समाजवादको कार्यनीतिसँग आबद्ध भएर जानुपर्छ भनेर हामीले स्वभाविक प्रक्रियाबाट लिनुपर्छ ।’

उनले विप्लवसँगको एकतालाई चाहिँ दुईवटा दृष्टिकोणबाट हेरिएको उनको बुझाइ छ ।

पहिलो, हामीले अहिले पार्टीमा स्भाविक एकता खोजेका छौं । त्यहीअनुसार स्वभाविक र प्राकृतिक एकता बनाउने हो । दोस्रो, पार्टीभित्रका अन्तरसंघर्ष, नेताहरूको व्यवस्थापनको कुरा, नेताहरूका मतभिन्नताको बाबजुद, तुरुपको रुपमा एउटाले अर्कालाई थर्काउने वा पार्टीभित्रको एकतालाई मजबुद खोजेका हौं एकताबाट । कसैले कसैलाई मनोत्रास देखाएर तयार पारिएको एकता हामीले खोजेको होइनौं । हामीले आवश्यकताअनुसार स्भाविक एकता चाहेका छैनौं ।

पार्टी महाधिवेशनबाट आएका पदाधिकारीको कार्यकाल चार वर्ष भएकाले तत्कालै महासचिव दिने भन्ने निर्णय नहुनसक्ने उनको भनाइ छ ।

उनले भने, ‘अहिले एकताको आधार बन्दै कुन पद दिने कसरी समायोजन गर्ने भन्ने कुरा छलफलको विषय बन्ला । तर, महासचिव नै दिने उहाँहरुले नै त्यही मागेको त्यो बाहेक हुँदैन भन्ने कुरा छैन । विप्लव कमरेड आउँदै गर्दा माओवादी केन्द्रमा रहनुभएको कमरेडहरूको बीचमा पनि लेवल छ। उहाँहरुको पनि सहकार्यको इतिहास छ त्यो आधारले हेर्दा पार्टीभित्र उहाँलाई सीधै महासचिव बनाउँदा असन्तुष्टि बढ्नसक्छ ।’

राजनीतिक, वैचारिक र सैद्धान्तिकरूपमा एकरूपता हुँदै जाँदाखेरी संगठात्मक व्यवस्थापन हुनुपर्ने उनले बताए । उनले थपे, ‘उहाँहरुको पनि टीम छ । त्यसैले मनोत्रास पैदा गरेर गरिएको पार्टी एकताले त गुणात्मक परिणाम ल्याउँन सक्दैन । त्यसले पार्टीमा विखण्डन निम्त्याउँछ ।’

जनार्दन र वर्षमानको टकरावलाई रोक्नको लागि अध्यक्षले विप्लवलाई पार्टीमा भित्र्याउन खोजेको चर्चा छ नि भन्ने प्रश्नमा उनले भने, ‘अहिलेको परिवेशमा उहाँहरूबीच टकराब छ भन्ने मलाई लागेको छैन । आकांक्षा दुवैको भएपनि महासचिव बनाउने बेलामा एकले अर्कालाई स्वीकार्न तयार देखिनुभएको थियो ।’

अहिले वर्षमान र जनार्दनबीच एकले अर्कालाई सहयोग गरेर जाने समझदारी भएको बताउँदै उनले कुनै समस्या नभएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर