‘देउवाले रुपान्तरण नस्वीकारे विशेष महाधिवेशनमा जान्छौं, परम्परा देखाएर भ्रष्टाचारी जोगाउन मिल्दैन’ – Nepal Press
नेपाल टक

‘देउवाले रुपान्तरण नस्वीकारे विशेष महाधिवेशनमा जान्छौं, परम्परा देखाएर भ्रष्टाचारी जोगाउन मिल्दैन’

कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य भन्छन्- शेखर दाइ वरिष्ठ नेताका लागि जायज हुनुहुन्छ, चकलेटी राजनीतिमा फस्नुहुन्न

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक एक वर्षपछि मंगलबार बस्दैछ । पार्टीभित्रको विवादको कारणले सभापति शेरबहादुर देउवाले अहिलेसम्म बैठकको एजेण्डा टुंग्याएका छैनन् । देउवाबाट पार्टी अघि बढ्न नसक्ने निष्कर्षसहित महामन्त्री गगन थापाले नेतृत्व परिवर्तनसम्मको एजेण्डा आक्रामक रुपमा प्रस्तुत गर्दै आएका छन् ।

देउवाको कारणले नीति महाधिवेशन हुन नसकेको निष्कर्षसहित महामन्त्री थापाले विशेष महाविधेशनको माग गर्न थालेका छन् । महामन्त्री थापा देउवालाई संसदीय दलको नेताबाट समेत हटाउनेगरी गृहकार्य गरिरहेका छन् ।

बैठकमा देउवाले गत वर्ष भएको निर्वाचनको समीक्षा, गठबन्धन बन्ने र भत्कने परिदृश्यलगायतका धेरै विषयमा देउवाले केन्द्रीय समितिको बैठकमा जवाफ दिनुपर्नेछ । त्यसैले देउवालाई सहज छैन । बैठकमा उठ्ने एजेण्डा, बैठक बस्न नसक्नुको कारण, नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण खाणमाथि कारबाही, शेखर कोइरालाको भूमिकालगायतको विषयमा केन्द्रित रहेर इतर पक्षका नेता एवं कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यसँग गरिएको कुराकानीः

– झण्डै एक वर्षपछि कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ । बैठकमा के कस्ता विषयले प्रवेश पाउँछन् ?

लामो समयपछि पार्टीको बैठक बस्न लागेको भएकाले यो बीचका सबै राजनीतिक घटनाक्रमहरु छलफलको विषय बन्छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन गरेर हामीले पीडादायी अनुभव फेस गर्‍यौं । त्यसको समीक्षा हुन्छ ।

निर्वाचनलगत्तै गठबन्धन जोगाउन सकेनौं । केही संसदीय मर्यादाको उल्लंघन गरेर बनिरहेको सरकारभित्र हामी धुस्न पुग्यौं । उपनिर्वाचनको नतिजा कांग्रेसका लागि अप्रत्याशित बन्न पुगेको छ । यो बीचमा भ्रष्टाचारका अनुसन्धानमा हामीले नै आदर गरेका नेताहरु पनि संलग्न देखिनुभयो । कति मुछिराख्नुभएको छ ।

अहिले हामी सरकारमा गइसकेपछि सरकारले गरेका कामबारे समीक्षा हुन्छ । यस्तै पार्टीले अब महासमिति बैठक बोलाउने हो कि नीति महाधिवेशन बोलाउने हो, त्यसबारे पनि निर्णय हुन्छ ।

– पार्टीको बैठक त दुई दुई महिनामा बस्नुपर्ने विधानमै व्यवस्था गरिएको छ । तर, एक वर्षसम्म नबसेपछि तपाईंले त निवेदन नै दर्ता गराउनुपर्ने परिस्थिति बन्यो । त्यसको जिम्मेवार को देख्नुहुन्छ ?

कुनै पनि तहको बैठक राख्ने अधिकार सभापतिकै हुन्छ । त्यसैले केन्द्रीय समितिको बैठक अहिलेसम्म नबोलाउनुको नैतिक जिम्मेवारी पार्टी सभापतिले नै लिनुपर्छ । र, अब राजनीतिक घटनाक्रम स्वाभाविक हुँदै जान्छन् । त्यसमा पार्टीले आफ्नो धारणा बनाएर कार्यान्वयन गर्दै जान्नुपर्छ ।

तर, कुनै प्रिय र अप्रिय भयो भन्दैमा बैठक नै नराख्ने भन्ने स्वीकार्य हुँदैन । जेजे कारण देखाएर बैठक सार्दै गइएको भए पनि त्यो उचित भएको छैन । मैले त सातै प्रदेशमा पार्टी रुपान्तरणको मुद्दालाई लिएर बहस गर्दै हिँडेको हुँ । त्यस क्रममा बैठक नबसेको विषयमा धेरैतिरबाट गुनासो आएपछि मैले बाध्य भएर बैठक राख्न पत्र समेत दर्ता गराएको थिएँ । त्यसैले कुनै बहाना देखाएर बैठक पन्छाउन पाइँदैन ।

– पार्टी रुपान्तरणको अभियान लिएर तल्लो तहसम्म जानुभयो । त्यहाँबाट तपाईंले पार्टी नेतृत्वप्रति कस्तो गुनासो पाउनुभयो ?

साथीहरुले धेरै विषयमा राख्नुभएको छ । तर, मुख्यगरी उहाँहरुले विधानको विषयमा कुरा उठाउनुभएको छ । विधान कार्यान्वयन पनि हुन सकेको छैन । त्यसलाई संशोधन गर्नको लागि जुट्न ध्यानाकर्षण गराउनुभएको छ ।

सरकार परिवर्तन गर्न आवश्यक पर्दा गर्नुपनि पर्छ, हुन्छ पनि । तर, केका लागि सरकार परिवर्तन गर्ने ? परिवर्तनपछि कस्तो सरकार दिन्छौं ? त्यसले जनताको कस्तो काम प्राथमिकता दिन्छ ? त्यसको एजेण्डाहरु के हुन्छन् ? त्यसको ठोस नीति र कार्यक्रम महत्वपूर्ण हुनुपर्छ । अहिले यो सरकार परिवर्तन गर्नु उपयुक्त हुन्छ जस्तो मलाई लाग्दैन । अस्थिर राजनीति गर्नुहुन्न ।

अर्कोतर्फ वैचारिक र सांगठनिक रुपले अहिले जस्तो पार्टीमा विचलन कहिले आएको थिएन । आफू प्रजातान्त्रिक समाजवादको आदर्शमा उभिएको पार्टीले मुलुकभर सबै क्षेत्रलाई गठबन्धनको नाममा बाँडफाँट गरियो । यसले सैद्धान्तिक र वैचारिक राजनीतिलाई भुत्ते बनायो । समान विचारधारा भएकाहरुसँग केही सीटमा हुनसक्थ्यो । तर, मान्छेहरुको मनौवैचानिक दुष्प्रभाव छाड्यो । पार्टी पार्टीबीचको भिन्नता, खास पार्टीले अवलम्बन गर्नुपर्ने वैचारिक आधार हुन्छन् । त्यसलाई यो पटकको चुनावी तालमेलले घाइते बनायो ।

अर्कोतर्फ सरकारमा गइसकेपछि घोषणापत्रबाहेक अरुमा जान मिल्दैन । जनताको बीचमा जे कबुल लिएर गएका छौं, त्यहीअनुसार अघि बढ्ने हो । तर, सरकारमा पुगिसकेपछि घोषणापत्र नपल्टाउने बरु अरु कुरामा प्रभावित भएको देखियो । जनतालाई उपेक्षा गरेर जान खोज्दाखेरी कतै व्यवस्थामाथि नै रोस व्यक्त हुन्छ ।

यो सबै जोगाउने जिम्मेवारी हुन्छ त्यसमा पनि सरकारमा बसेकाहरुकाे । त्यसैले कांग्रेस पनि सरकारमा भएको हुँदा किसानलाई महत्व दिनुपर्छ । गरिबीका रेखामुनि रहेकाहरुलाई प्राथमिकता दिनुपर्नेमा यो बजेटले पनि त्यो सम्बोधन गर्न सकेको छैन । त्यसप्रति पनि असन्तुष्टि तल्लो तहसम्म देखिएको छ ।

– असन्तुष्टि हुँदै गर्दा तत्लो तहबाट पनि सरकार परिवर्तनकै दबाब पनि बढेको हो ?

हामीले एजेण्डा हेरेर अघि बढ्दा नेताभन्दा पनि नीतिमा जोड दिनुपर्छ । सरकार परिवर्तन गर्न आवश्यक पर्दा गर्नुपनि पर्छ, हुन्छ पनि । तर, केका लागि सरकार परिवर्तन गर्ने ? परिवर्तनपछि कस्तो सरकार दिन्छौं ? त्यसले जनताको कस्तो काम प्राथमिकता दिन्छ ? त्यसको एजेण्डाहरु के हुन्छन् ? त्यसको ठोस नीति र कार्यक्रम महत्वपूर्ण हुनुपर्छ । अहिले यो सरकार परिवर्तन गर्नु उपयुक्त हुन्छ जस्तो मलाई लाग्दैन । अस्थिर राजनीति गर्नुहुन्न ।

– त्यसो त महामन्त्री गगन थापाले सभापति देउवाबाट पार्टी नचल्ने भन्दै नेतृत्व परिवर्तनको कुरा उठाइराख्नुभएको छ । त्यसलाई कसरी लिनुहुन्छ ?

पार्टी नेतृत्वको कुरा चाहिँ धेरै ठाउँबाट अहिले उठिरहेको छ । अहिलेको पार्टी नेतृत्वप्रति आक्रोशले होइन, उहाँहरुले अब डेलिभरी नै गर्न सक्नुहुन्न । अहिले समयको नयाँ आश छ, चुनौती छ । अहिलेको आवश्यकताअनुसार पार्टी नेतृत्व (देउवा)बाट अब हुँदैन ।

अहिले नेतृत्वमा भएकाहरुको सहमतिमा नै सहज किसिमले नेतृत्व परिवर्तन हुनुपर्छ । त्यो प्रयत्न भए राम्रो हुन्छ । भइरहेको नेतृत्वले सुधारको एजेण्डा पनि ग्रहण गर्न चाहँदैन । जनताले भनेअनुसार पार्टी पनि चलाउने दिशामा गइँदैन भने यस्तो अवस्थामा ठाउँ पनि छाड्न तयार नभएको अवस्थामा भने पार्टी विधि र प्रक्रियाबाट नेतृत्व परिवर्तनको बाटो समात्नुपर्छ।

– महामन्त्री थापाबाट त नीति अधिवेशन नभए विशेष अधिवेशनसम्म गएर भए पनि नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने अडानका साथ प्रस्तुत भइराख्नुभएको छ नि ?

अहिले पार्टी र सरकारको काम चित्तबुझ्दो छ भनेर डेलिभरी दिन सक्नु नै मुख्य कुरा हो । त्यो कुरा केन्द्रीय समितिले समाधान गर्न सक्ने भए केन्द्रीय समितिबाटै गर्नुपर्छ ।

पार्टी नेतृत्वको कुरा चाहिँ धेरै ठाउँबाट अहिले उठिरहेको छ । अहिलेको पार्टी नेतृत्वप्रति आक्रोशले होइन, उहाँहरुले अब डेलिभरी नै गर्न सक्नुहुन्न । अहिले समयको नयाँ आश छ, चुनौती छ । अहिलेको आवश्यकताअनुसार पार्टी नेतृत्व (देउवा)बाट अब हुँदैन ।

केन्द्रीय नीति अधिवेशनले गर्नुपर्ने काम त्यही महाधिवेशनले गर्नुपर्छ । त्यसले पनि नसक्ने कुरा महासमितिले सम्बोधन गर्नुपर्‍यो । होइन यी संरचनाबाट समस्या समाधान गर्न गम्भीरतापूर्वक काम हुँदैन भने विशेष महाधिवेशन बाध्यता बन्न जान्छ ।

– अहिले कांग्रेस विशेष महाधिवेशनमा जाने सम्भावना छ र ?

सम्भावना भन्ने कुरा परिस्थितिजन्य भएकाले आवश्यकताले निर्धारण गर्छ । जुन सवालहरुलाई लिएर अहिले साथीहरुले प्रश्न उठाइराख्नुभएको छ । ती सवालको जवाफ अरु प्रक्रियाबाट प्राप्त भयो भने त भइहाल्यो । होइन पाइएन भने त विशेष महाधिवेशनसम्म पुग्नपर्ने बाध्यता हुनुपर्छ ।

– गगन थापाले नेतृत्व परिवर्तनको कुरा उठाउँदा इतर पक्षको नेतृत्व गरिराख्नुभएको शेखर कोइराला मौन बस्नुलाई कसरी हेर्नुभएको छ ?

उहाँसँग कुरा हुँदा हामीले अघि सारेको रुपान्तरणको साथमा छु भन्ने प्रतिबद्धता पनि देखाउनुभएको छ । अहिले हाम्रो बाटोमा हुनुहुन्न भने वातावरण धमिल्याउन हुन्न । मलाई लाग्छ, अहिले कांग्रेसभित्र एजेण्डाको राजनीति सशक्त रुपमा अहिले उठिरहेको छ । त्यसको विषयमा उपसभापति, महामन्त्रीद्वय, सहमहामन्त्रीहरु पनि हुनुहुन्छ भने शेखर दाइ पनि यसको साथमा हुनुहुन्छ ।

– तर, १५औं महाधिवेशनमा सभापति देउवाले फेरि नलड्ने घोषणा गरिसकेपछि निर्विकल्प सभापति हुन संस्थापनतिर नजिकिएको भन्ने आरोप छ नि ?

यहाँभन्दा अगाडि १४औं महाधिवेशनको अनुभव उहाँसँग छ । घटना र दृश्यहरुबारे उहाँ जानकार नै हुुनुहुन्छ । कसलाई कसरी छक्याइयो, अलमल्याइयो भन्ने कुराहरु उहाँले देख्नुभएको छ । अर्को उहाँ चकलेटी राजनीतिमा फस्नुहुन्छ भन्ने मलाई लाग्दैन ।

– उहाँलाई वरिष्ठ नेता बनाउने भन्ने चर्चा पनि छ ?

वरिष्ठ नेता पहिला रामचन्द्र दाइ हुनुहुन्थ्यो । उहाँ अब राष्ट्रपति भएर पार्टी छाडेपछि अर्को कसलाई वरिष्ठ नेता बनाउने भन्ने कुरा नेतृत्व तहमा चलेको हुनसक्छ । त्यो सहमति बने हामी स्वागत गर्छौं । त्यो जिम्मेवारीका लागि उहाँ जायज पात्र पनि हो ।

– तपाईंले पनि भ्रष्टाचार प्रकरणको कुरा उठाउनुभयो । भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण थुनामा हुनुहुन्छ । यो विषय बैठकको एजेण्डा बन्छ कि बन्दैन ?

औपचारिक रुपमा एजेण्डा बनेर आउँछन् कि आउँदैनन् भन्ने चाहिँ अहिल्यै भन्न सक्ने अवस्था छैन । एजेण्डा बैठकभित्र छिरेपछि मात्रै थाहा पाउने हो । औपचारिक एजेण्डाको रुपमा आए पनि नआए पनि यो अहिले जनताको सरोकारको एजेण्डा हो ।

केन्द्रीय सदस्यले आफैंमा एउटा सार्वभौम हैसियत बैठकभित्र राख्छन् । समसामयिक जनताले नै उठाएको विषयमा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफल नगर्ने भन्ने हुनै सक्दैन । यो विषयमा राम्रोसँग छलफल हुन्छ । र, निर्णय पनि सोहीअनुसार हुन्छ ।

कांग्रेसभित्रका ८ लाख ५२ हजार सदस्य साथीहरुको पनि चासो एजेण्डा हो । त्यो एजेण्डाभित्र छलफल हुन्छ । छलफलमात्रै नभएर एउटा निर्णय नै दिनुपर्छ भन्ने कुरामा म चाहिँ प्रस्ट छु।

– सभापतिले एजेण्डाको रुपमा ल्याउन शीर्ष तहबाटै सहमतिको प्रयास गरिराख्नुभएको छ भन्ने चर्चा छ नि ?

केन्द्रीय कार्यसमितिमा एजेण्डा आउनसक्छ । तर, ह्वीप आउँदैन । केन्द्रीय सदस्यले आफैंमा एउटा सार्वभौम हैसियत बैठकभित्र राख्छन् । समसामयिक जनताले नै उठाएको विषयमा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफल नगर्ने भन्ने हुनै सक्दैन । यो विषयमा राम्रोसँग छलफल हुन्छ । र, निर्णय पनि सोहीअनुसार हुन्छ ।

– विगतलाई हेर्दा पनि कांग्रेसले परम्परालाई देखाएर भ्रष्टाचारमा दोषी ठहर भएका नेताहरुलाई पनि कारबाही गरेको छैन । अहिले चाहिँ पराम्परा तोड्ला त ?

हाम्रो सबैभन्दा ठूलो कुरा चाहिँ कांग्रेस पराम्परा र यथास्थितिकै बाटोबाट मात्रै चलेर हुँदैन । कांग्रेस नेपाली राजनीतिको प्रगतिशील र क्रान्तिकारी तागत पनि हो । त्यसैले समय सापेक्ष आवश्यक नवीन कोर्स र अभ्यासहरुमा पनि कांग्रेस जानुपर्छ ।

राम्रा कुराहरुलाई अहिले पनि निरन्तरता देऔं, बोकौं । सुधार गर्नुपर्ने कुरालाई पनि परम्पराको नाम लिएर गलत कुराको शिकासमा कांग्रेस बस्नु हुँदैन । त्यसैले विगतका असल कर्महरुको गौरव गरेर अब राम्रो गर्न कांग्रेसको नयाँ जीवन आवश्यक छ ।

संविधान जारी गर्दासम्म कांग्रेसको एउटा अवतार थियो । अब त्यो संविधान कार्यान्वयन गरेर अगाडि बढ्नुपर्छ । नयाँ पार्टी र नयाँ नारा कहाँ गएर टुंगिन्छन् भन्ने टुंगो हुँदैन । तर, कांग्रेसलाई नै नयाँ ढंगले रुपान्तरण गर्न सक्याैं भने जनताको भरपर्दो तागत कांग्रेस नै हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर