वैदेशिक रोजगारीबाट फर्किएकामार्फत् सुन तस्करी, एयरपोर्टबाहिरको होटल मालिकको खातामा ४३ करोड बढी कारोबार (भिडिओ) – Nepal Press

वैदेशिक रोजगारीबाट फर्किएकामार्फत् सुन तस्करी, एयरपोर्टबाहिरको होटल मालिकको खातामा ४३ करोड बढी कारोबार (भिडिओ)

काठमाडौं । कतारबाट स्वदेश फर्कन लागेका नेपाली कामदारलाई आर्थिक प्रलोभन देखाउँदै बोकाएर पठाएको सुन नेपालमा संकलन गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले त्यसरी भरिया बनेका कामदारलाई पनि पक्राउ गरेको छ ।

एसएसपी मनोज केसीका अनुसार गिरोहले हरेक कामदारलाई ५० ग्राम बराबरको सुनको सिक्री नेपाल ल्याई दिएबापत ५ हजार रुपैयाँसम्म दिने गरेको थियो ।

‘गिरोहले एउटै फ्लाइटमा १५/२० जना नेपाली कामदारलाई त्यसरी सुन बोकाएर पठाउने गरेको पाइएको छ’, केसीले भने । आइतबार नेपाल एयरलाइन्स र कतार एयरलाइन्सबाट आएका ५ जना नेपाली कामदारलाई विमानस्थलबाहिरबाट नियन्त्रणमा लिइएको छ । उनीहरुले जनही ५८ ग्राम बराबरको सिक्री लुकाएर नेपाल भित्र्याएका थिए । त्यसरी भित्र्याइएको सिक्री त्रिभुवन विमानस्थलबाहिर रहेको होटल हिमालयन स्पायरका सन्चालक दम्पतीलाई दिने गरेको पाइएको छ ।

प्रहरी अनुसन्धानमा कतारमा रहेको गिरोहले भरिया बनेर नेपाल आउन लागेका कामदारको तस्बिर हिमालयन स्पायरका सञ्चालक दम्पती सप्तरीको बलानबिहुल गाउँपालिका-२ का २८ वर्षीय विनोद कुमार शाह र उनकी श्रीमती सन्जु कुमारी शाह तेलीको मोबाइलमा पठाउने गरेको खुलेको छ । सोही आधारमा उक्त दम्पतीले सुन ल्याउने कामदारको पहिचान गर्ने गरेका थिए ।

प्रहरीका अनुसार विनोदको बैंक खातामा मात्र ४१ करोड ५४ लाख ७६ हजार ८६९ रुपैयाँ बराबरको कारोबार भएको पाइएको छ । यस्तै, सन्जुको बैंक खातामा २ करोड १० लाख २७ हजार ४ सय ९७ रुपैयाँ कारोबार भएको पाइएको छ । ‘यो सन् २०१९ यताको बैंक विवरण हो। तर उनिहरुले सन् २०१२ देखि नै यस्तो कारोबार गर्दै आएको भन्ने छ’, एसएसपी केसीले भने ।

प्रहरीका अनुसार शाह दम्पतीले काठमाडौंमा बिक्री भएको सुनको पैसा शिवसुन्दर राउतको खातामा पठाउने गरेको र बाँकी सुन राउतले भनेका व्यक्तिलाई पठाउने गरेका थिए । प्रहरीले सिराहाको लाहान-४ का राउतलाई पनि पक्राउ गरेको छ ।

राउतले रितेस जनरल स्टोर्स नामक कम्पनी सन्चालन गर्दै आएका छन् । उक्त कम्पनीको खातामा एक अर्ब ८१ करोड ५७ लाख १९ हजार ५७ रुपैयाँ र राउतको व्यक्तिगत खातामा १२ करोड ११ लाख ४२ हजार ४०८ रुपैयाँ कारोबार भएको देखिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर