बुटवलमा रगत अभाव, रेडक्रसको भूमिका खोज्दै नियमित रक्तदाता – Nepal Press

बुटवलमा रगत अभाव, रेडक्रसको भूमिका खोज्दै नियमित रक्तदाता

रुपन्देही । नियमित रगत संकलन नभएपछि बुटवलमा पछिल्लो समय रगत अभाव भएको छ । बिरामीको चाप बढेसँगै रगतको अभाव देखिन थालेको हो । केही दिनयता नियमित रगत दान गर्नेहरू कम भएकाले यस्तो समस्या आएको हो ।

‘ओ’ समूहबाहेकका सबै रगत अभाव भएपछि विभिन्न संघसंस्थाले रक्तदान कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । मौसममा परिवर्तन आएसँगै बिरामीहरूको चाप बढ्दा रगतको अभाव सृजना भएको स्वास्थ्यकर्मीको भनाइ छ ।

नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार सेवा केन्द्र बुटवलकी सदस्यसचिव राधा शर्माले ब्लड बैंकमा ‘ओ’ समूहबाहेक अन्य सबै रगतको अभाव रहेको बताइन् । ‘जाडो स्टकले ‘ओ’ ग्रुप धानेको छ उनको भनाइ छ ।

‘तीन दिन नियमित रक्तदान नभएकाले समस्या भयो, अहिले मागभन्दा आधा कम मात्रै रगत संकलन हुन्छ, गर्मी भएकाले पनि यस्तो भएको हो, बिरामीको पनि उस्तै चाप छ, सबै सामाजिक संघसंस्थालाई हामीले अनुरोध गरेका छौं, सबैको समन्वयमा केही दिनमा सहज होला’, उनले भनिन् ।

दैनिक ९० युनिट बढी रगत खपत हुने बुटवलमा शाखामा बिरामीका आफन्तको भिड लाग्ने गरेको छ । ब्लड क्यान्सर, सुत्केरी, डायलाइसिस गर्ने बिरामीलगायतमा बढी रगतको खपत हुने गरेको छ । नेपाल नियमित रक्तदाता संघ केन्द्रीय समितिले बुटवलमा ४ दिनदेखि आकस्मिक रक्तदान कार्यक्रम गरिरहेको छ । नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको समितिका उपाध्यक्ष लेखनाथ भण्डारीले बताउँछन् । रगतको माग धेरै तर दाता कम हुदा रगत अभाव अवस्था आएको उनले बताए । रगत अभावलाई रोक्न आफूहरूले थप सक्रियता बढाउनुपरेको संयोजक प्रेम सुनारले बताए । फोन गरेरै दातालाई बोलाएर रगतको सहज उपलब्धता हुने वातावरण गराएको उनले बताए ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चौहान क्षेत्रीले रेडक्रसले रगत व्यवस्थापनमा चासो नदिँदा यस्तो समस्या आएका बताउँछन् ।

‘हामी दिनहुँ यसकै व्यवस्थानिमा खटिएका छौं तर रेडक्रले यसको व्यवस्थापन नै गर्न सकेन,योजना बनाउन पनि सकेन, रगत माग्न आएका बिरामीका आफन्तलाई त्यहाँबाट जुन व्यवहार गरिनन्छ त्यो न्यायोचित छैन, अब रगतको व्यवस्थापन रेडक्रसबाट हुन सक्दैन भन्ने सन्देश यसले दिएको छ’, चौहानले भने ।

बिरामीको मागअनुसार ब्लड झिक्न मिल्ने विश्वमा नयाँ प्रविधिहरू भित्रिए पनि नोपलमा यसलाई ल्याउन नसकिएको उनले बताए । ब्लड बैंकमा दैनिक ३ सिफ्टमा रक्तदान हुने गरी पहल थाल्न सके धेरै राम्रो हुने उनी बताउँछन् । बढीभन्दा बढी युवा रक्तदाताहरूलाई रक्तदानमा प्रोत्साहन गर्दै कार्यक्रम चलाउनुपर्ने उनले बताए ।

पहिले ५/६ हजार यु्निट रगतले पुग्थ्यो, अहिले ३५/३६ हजार युनिट चाहिन्छ, तर यसमा रेडक्रसको कुनै योजना छैन, हामीले निःशुल्क जम्मा गरेको रगत बिरामीलाई शुल्क लिएर दिएर पनि चलाउन नसक्ने ? यस्तो पनि व्यवस्थापन हुन्छ ? , उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर