र्‍यापर गिरिशको क्याफेमा मासुको पैसा उठाउन गएका युवकको रहस्यमय मृत्यु, हत्या आरोपमा किटानी जाहेरी – Nepal Press

र्‍यापर गिरिशको क्याफेमा मासुको पैसा उठाउन गएका युवकको रहस्यमय मृत्यु, हत्या आरोपमा किटानी जाहेरी

काठमाडौं । चर्चित र्‍यापर गिरिश खतिवडाविरुद्ध प्रहरीमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी परेको छ ।

खतिवडाले विराटनगरमा सञ्चालन गरेको ‘जी क्याफे एण्ड विस्त्रो’ मा धनपालथान गाँउपालिका-४ का कसिद अन्सारीको रहस्यमय मृत्यु भएको भन्दै सञ्चालक खतिवडासहित ३ जनाविरुद्ध हत्या आरोपमा किटानी जाहेरी परेको हो ।

प्रहरीका अनुसार कासिदको योजनाबद्ध हत्या भएको भन्दै क्याफे सञ्चालक विराटनगर-८ का खतिवडा, क्याफेमा कार्यरत जहदा गाउँपालिका-३ का करण राजवंशी र विराटनगर-१६ का अनुराग राउतविरुद्ध जाहेरी परेको छ । मृतक कासिदको देब्रे तिघ्रामा ३ इन्च लामो र १ इन्च गहिरो चोट रहेको पीडित परिवारले बताए ।

असार ३ गते विहान ११ बजे क्याफेमा मासुको पैसा उठाउन गएका मोरङको धनपालथान गाउँपालिका- ४ का अन्सारीको रहस्यमय मृत्यु भएको थियो ।

कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालन गर्ने अन्सारीले सो क्याफेमा मासु बिक्री गर्दै आएका थिए । त्यस दिन अन्सारी ४० हजार रूपैयाँ बक्यौता उठाउन भन्दै क्याफे गएको परिवारले जनाएको छ ।

होटल सञ्चालक खतिवडाले क्याफेमै लडेर गम्भीर घाइते भएको भन्दै उनलाई त्यहाँ कार्यरत कर्मचारीहरुले विराट अस्पतालमा उपचारका लागि लगेकोमा उपचारकै क्रममा मृत्यु भएको बताएका छन् ।
मृतकका आफन्तले भने क्याफे सञ्चालक खतिवडासहित त्यहाँ कार्यरत तीनजनाले हत्या गरेको किटानी जाहेरीमा उल्लेख गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जन दाहालले खतिवडासहितमाथि किटानी जाहेरी परेको जानकारी दिए ।

‘घटनाको सबै परिस्थितिको पूर्वानुमान गर्दै अनुसन्धान भइरहेको छ । तर, अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन’, डीएसपी दाहालले भने ।

मृतकका अन्सारीका भाइ मासिदले भने मासु बिक्री गरेको पैसा माग्न जाँदा दाजुको हत्या भएको दाबी गरेका छन् । कासिदले जी क्याफेसहित विराटनगरमा एक दर्जन रेस्टुरेन्ट र क्याफेहरूमा मासु बिक्री वितरण गर्दै आएको मासिदले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर