आर्यन फिल्मस् ११औं नेफ्टा फिल्म अवार्डबाट भयो ब्याक – Nepal Press

आर्यन फिल्मस् ११औं नेफ्टा फिल्म अवार्डबाट भयो ब्याक

काठमाडौं । अनधिकृत व्यक्तिहरुलाई अमेरिका लैजान खोजेको भन्दै ‘११औं नेफ्टा फिल्म अवार्ड’ को आयोजकमध्येको एक आर्यन फिल्मस्ले हात झिकेको छ । अवार्ड कार्यक्रमको आवरणमा अनधिकृत व्यक्तिहरुको प्रवेश भएको र भिसा प्रक्रियामा ‘अनधिकृत मान्छेको नाम थपिएको’ आरोप लगाउँदै आर्यन फिल्म्स् नेफ्टा अर्वाडबाट ब्याक भएको हो ।

चलचित्र विकास बोर्डको सहयोगमा यही साउन ६ गते नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)ले अवार्ड आयोजना गर्दैछ । जसमा आर्यन स्थानीय आयोजकमध्ये एक कम्पनी हो । अनधिकृत व्यक्तिहरुको प्रवेश भएपछि आर्यन फिल्म्स्ले एक विज्ञप्ति सार्वजनिक गर्दै अवार्डबाट हात झिकेको हो ।

संस्थाका महाप्रबन्धक तथा मार्केटिङ प्रमुख गोपाल कटुवालले जारी गरेको विज्ञप्तिमा नेफ्टालाई अमेरिका-नेपालको राउण्ड ट्रिप, सोल्टी होटलमा कार्यक्रम र अन्य मसलन्दका लागि १५ हजार अमेरिकी डलर दिइएको उल्लेख छ । महाप्रवन्धक कटुवालले भिसा प्रक्रियाका लागि निवेदन दिएका ४१ जनामा केही अनधिकृत मान्छेको निवेदन रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘हामीलाई वास्ता गरिएन । जो जो पायो त्यही आफ्नो मान्छे हाल्न थाले । हामी त एक आयोजक हौं नि ! अहिलेसम्म हामी कसैको भिसा प्रक्रिया नै भएको छैन । अरुको के कुरा गर्नु ? मेरो आफ्नै भिसा प्रक्रिया भएको छैन’, उनले नेपाल प्रेससँग भने ।

अवार्ड गर्ने क्रममा आफूहरुले गरेको खर्च फिर्ता हुनुपर्ने उनको माग छ । ‘कार्यक्रमहरु सबैमा हामीले नै खर्च गर्दै आएका थियौं । सोल्टीमा हाम्रो नौ लाख खर्च भएको छ । हामीले त्यहाँ सबै क्रेडिट कार्डबाट पैसा तिरेका छौं । त्यहाँदेखि बाहेक यताउता गर्दा हाम्रो जम्मा १५ लाख खर्च भएको छ । अहिलेसम्म एक कप चिया नेफ्टाले खुवाएको छैन । हाम्रो खर्च भएको सबै पैसा हामीलाई फिर्ता चाहियो । अरु कुराको हामीलाई सरोकार छैन’, उनले भने ।

अवार्डका आयोजकसमेत सम्पर्कविहीन भएर बसेको महाप्रवन्धक कटुवालको भनाइ छ। ‘उनीहरु सम्पर्कविहीन छन् । पुष्कर लामा मोबाइल अफ गरेर बसेका छन् । अरुसँग मेरो सम्पर्क भएको छैन । सबैतिर पैसा तिर्नुपर्दा मैले मेरै नम्बर प्रयोग गरेको थिएँ । त्यतिबेला मेरो मेसेन्जरदेखि नम्बरसम्म थाहा थियो । अहिले रिप्लाइ गर्ने बेलामा भने मेरो नम्बर थाहा छैन अरे’, उनले आक्रोश पोखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *