माओवादी सांसद दाहालले सभामुखको आलोचना गरेपछि सूर्य थापाले भने- प्रधानमन्त्रीको वकिल (भिडिओ) – Nepal Press

माओवादी सांसद दाहालले सभामुखको आलोचना गरेपछि सूर्य थापाले भने- प्रधानमन्त्रीको वकिल (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद सूर्य थापाले नियमापत्ति जनाएका छन् । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सभामुख देवराज घिमिरेको आलोचना गरेकोप्रति नियमापत्ति जनाएका हुन् ।

उनले प्रतिनिधिसभाको बैठकमा सभामुखको आलोचना गरेकोप्रति रुलिङ गर्न माग गरे ।

सांसद थापाले भने, ‘उहाँ बजेटमाथिको छलफलमा भाग लिन रोस्ट्रममा जानुभएको हो । तर, उहाँ कहिले पित्तल, कहिले चाँदी र कहिले प्रधानमन्त्रीको वकिल भएर जानुहुन्छ ।’

थापाको मागलाई सभामुखले ध्यानाकर्षण भएको जानकारी गराए ।

माओवादीका सांसद दाहालले प्रधानमन्त्रीलाई रोस्ट्रममा उभ्याएर एमाले सांसदहरुले हुर्मत लिन खोजेको भन्दै आपत्ति जनाएका थिए ।

उनले भने, ‘अस्ति रोस्ट्रममा उभिएर सम्माननीय प्रधानमन्त्रीज्यूले जवाफ दिँदै जाँदा यहाँहरुको मागबमोजिम अघिल्लो दिन यहाँहरुले अवरोध गर्नुभयो । यहाँहरुको माग प्रधानमन्त्रीले जवाफ दिनुपर्छ भन्ने थियो । तपाईंहरुले प्रश्न गर्नुभयो । तर, प्रधानमन्त्री जवाफ दिन रोस्ट्रममा उभिँदाखेरी जवाफ दिन पाउनुभएन । प्रधानमन्त्रीको हुर्मत लिनुभयो, हेप्नुभयो । त्यो पनि सदन चलाउँदा हामी हरेक सांसदहरू स्वतन्त्र छैनौं । सभामुख पनि स्वतन्त्र हुनुहुन्न ।’

सांसद दाहालले संविधानको मातहतमा र प्रतिनिधिसभा नियमावलीको मातहतमा रहेरमात्र आफ्ना अभिव्यक्ति राख्न पाइने बताए ।

उनले भने, ‘सभामुखले आफैंले पनि प्रतिनिधिसभाको नियमावली उल्लंघन गर्नुभएको छ । रोस्ट्रममा तपाईंले प्रधानमन्त्रीलाई रुलिङ गर्ने कि सांसदलाई रुलिङ गर्ने ? माननीय प्रधानमन्त्रीलाई तपाईं चुप लाग्नुहोस् उहाँहरूले बोल्नुहुन्छ भन्नुभयो । हाम्रो प्रतिनिधिसभाको नियमावलीमा एकपटक प्रश्न उठाइसकेपछि एउटै विषयमा बारबार उठाउन पाइँदैन भनेर प्रस्ट लेखिएको छ ।’

सोमबारको बैठकमा प्रधानमन्त्रीले बोलिसकेपछि सभामुखले प्रमुख प्रतिपक्ष दलका नेतालाई बोल्न दिएकोप्रति पनि उनले आलोचना गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर