रुपन्देहीमा महासंघमा एकपक्षीय रूपमा सदस्य कटौतीको निर्णय भएको चौतारीको आरोप – Nepal Press

रुपन्देहीमा महासंघमा एकपक्षीय रूपमा सदस्य कटौतीको निर्णय भएको चौतारीको आरोप

रुपन्देही । नेपाल पत्रकार महासंघ रुपन्देहीले सदस्यता शुद्धीकरण अभियानमा महासंघ रुपन्देहीमा अहिले रहेका दुई सल्लाहकारसहित ७७ जनाको नवीकरण नगर्ने निर्णय गरेको छ ।

३१४ जना सदस्यबाट ७७ जना मात्रै नवीकरण गर्ने निर्णय गरिएपछि महासंघ केन्द्रले बनाएको मापदण्डमा पर्ने अन्य पत्रकारलाई किन जोगाइयो भन्ने प्रश्न धेरै पत्रकारले उठाएका छन् ।

रुपन्देहीका पूर्व अध्यक्ष तथा दलित पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विनोद पहाडीसहित ७७ जनाको नवीकरण नगर्ने निर्णय महासंघको प्रदेश कमिटीलाई पठाइएको छ । पहाडी पत्रकार महासंघको पूर्वकेन्द्रीय सदस्य हुन् । पहाडीसहित सल्लाहकार इन्दिरा अर्यालसहित ७७ जना मापदण्डअनुसार नवीकरण नगर्ने निर्णय भएको हो । पत्रकारितासँगै राजनीतिमा सक्रिय रहेका पहाडी संविधानसभा सदस्य तथा मंसिर ४ मा भएको निर्वाचनमा प्रदेश सभाको उम्मेदवार हुन । अहिले माओवादीको केन्द्रीय सदस्य छन् । पहाडीको नवीकरण नगर्ने विषयमा प्रेस सेन्टरले भने असहमति जनाएको छ ।

एकै प्रकृतिका सदस्य रहेपनि गठबन्धन निकटकालाई धेरै जोगाइएको तर आफ्नो संगठनको फालिएको गुनासो प्रेस चौतारीका अध्यक्ष लक्ष्मण पौडेलले बताए ।

‘महासंघ शुद्धीकरणको विषय हाम्रो संगठनले जोड दिएको हो, हामीले पटक पटक यसका लागि दबाब दिएका हौँ तर मापदण्डमा नवीकरण हुनै नसक्ने कार्यसमितिमै रहेकालाई गठबन्धनको नाममा जोगाइएको तर आफ्नो संगठनकालाई मात्रै फालिएको छ,’ उनले भने ।

पौडेलले यस्तो त्रुटिसहितको निर्णयलाई कुनैपनि हालतमा आफूहरूले नस्वीकार्ने र मापदण्डअनुसार सबैलाई हटाउनु पर्ने नभएका चरणबद्ध आन्दोलन गर्ने बताए ।

२० सदस्य कार्यसमिति रहेको पत्रकार महासंघ रुपन्देहीमा चौतारीको तर्फबाट महिला उपाध्यक्ष र एक सदस्य मात्र छन् ।

सदस्य नवीकरणमा नपरेकाहरूले अध्यक्ष रामराज पोखरेलसहित कार्यसमिति र अन्य धेरै सदस्यहरूलाई जोगाएर नियतवश आफूहरूको नाम काटिएको आरोप लगाएका छन् ।

पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष वसन्त गिरीले रुपन्देहीबाट ३१४ जनामध्ये ७७ जनाको नवीकरण नगर्ने निर्णय प्रदेशमा आएको बताउँदै मापदण्डअनुसार काट्नुपर्ने धेरै नकाटिएको तर मापदण्डले नछोएका पूर्व अध्यक्ष विनोद पहाडीसहितका केही सदस्यको काटेको बताए ।

पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पहिलो चरण ७७ जनाका नवीकरण नगर्ने निर्णय सर्वसम्मतमा भएको र कार्यसमितिका सदस्यको हकमा के हुने भनेर लेखेर पठाएको, अन्य थप सदस्यको बारेमा कसरी अगाडि जान सकिन्छ भन्ने विषयमा छलफलकै चरणमा रहेकाले कसैलाई आस्थाका आधारमा विभेद नगरिएको बताए ।

पत्रकारिता गरेर लामो समय बिताएका र अहिले केही निष्क्रिय भएकाले हकमा केही लचिलो भएका हौँ, उहाँहरूलाई कुनै सम्बोधन गरिनुपर्छ भन्ने हो, अन्यको हकमा मापदण्डअनुसार जान सकिन्छ’ उनले भने ।


प्रतिक्रिया

One thought on “रुपन्देहीमा महासंघमा एकपक्षीय रूपमा सदस्य कटौतीको निर्णय भएको चौतारीको आरोप

  1. पत्रकारीता वाहेक अन्य पेशामा रहेका लाई के गर्ला महा सँघले र अध्यक्षकाे वाईलाईन न्युज कुन कुनामा हाेला पढन पाए हुन्थ्याे ।अहिले बिराेध गर्ने मध्ये पुर्वउपाध्यक्षले अन्य पेँशा भएकाले सदस्यता नदिने भनेका थिए, उनी कुन दुलाेमा छन।

Leave a Reply to गाेपाल बन्जाडे Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर