मुख्यमन्त्री शाहले सार्वजनिक गरे आफ्नो १०० दिनको प्रगति विवरण, के-के छन् उपलब्धि ? – Nepal Press

मुख्यमन्त्री शाहले सार्वजनिक गरे आफ्नो १०० दिनको प्रगति विवरण, के-के छन् उपलब्धि ?

निवर्तमान मुख्यमन्त्रीले भने- मगन्ते सरकार

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले १०० दिनेमा गरेको प्रगति विवरण सार्वजनिक गरेको छ । प्रदेश सरकारले राजनीतिक सहमति र स्थायित्वको नेतृत्व गर्दै वर्तमान सरकार बनेको भन्दै आफ्नो मुख्य उपलब्धि यसैलाई मानेको छ ।

त्यस्तै, भौतिक पूर्वाधार विकासमा बढोत्तरी, वन पैदावार उत्पादन वितरण एवं वन क्षेत्र अतिक्रमण नियन्त्रण, वार्षिक विकास कार्यक्रम पहिचान छनोट र प्राथमिकरण, अनुशासित र जवाफदेही प्रणालीको सुरुवात, वार्षिक बजेट तर्जुमामा स्थानीय तहसँगको उच्चतम समन्वय र सहकार्य संस्कृतिको बीजारोपणलाई प्रदेश सरकारले उपलब्धि ठानेको छ ।

सरकारले यो अवधिमा २२ किलोमिटर पक्की र ७५ किलोमिटर ग्राभेल सडक बनाएको, ३६ वटा खानेपानी आयोजना, ३ वटा सडक पुल र १ झोलुंगे पुल, १२२६ हेक्टरमा थप सिँचाइ सुविधा, १५० केजी खोटो, ५ लाख केजी जडिबुटी संकलन र ४५ हजार बिरुवा रोपेको प्रगति विवरण तयार पारेको छ ।

१८ किलो मिटर नहर निर्माण, १६.८८ किलोमिटर तटबन्ध निर्माण, ७ सार्वजनिक निर्माण सम्पन्न गरेको सरकारको भनाइ छ । सरकारले आफ्नो प्रगतिमा बाख्रामा कृत्रिम गर्भाधान सेवा दिएको सम्मका विषयहरू उल्लेख गरेको छ ।

गत माघ २७ गते नियुक्त भएका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रवार पत्रकार सम्मेलन गरी १०० दिने उपलब्धि सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री शाहले सय दिनमा गरेका कामहरूलाई १४ बुँदामा समेट्दै उपलब्धिका रूपमा सार्वजनिक गरेका छन् ।

उनले अपर कर्णाली हाइड्रो पावरको निरीक्षण, शिक्षा र स्वास्थ्य क्षेत्रको समग्र सुधारको विशेष पहल, उद्यमशीलता प्रवर्द्धन क्षमता विकास र खेलाडी सम्मान, सुरक्षा निकायलाई सहयोग र समन्वय, लगायतलाई प्रगतिको रुपमा प्रस्तुत गरेका थिए ।
मुख्यमन्त्री शाहले सरकारको १०० दिनको उपलब्ध सार्वजनिक गरे लगत्तै निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले हालको सरकारलाई मगन्ते सरकारको संज्ञा दिएका छन् ।

एमाले संसदीय दलका नेता समेत रहेको निवर्तमान मुख्यमन्त्री रावलले दलको कार्यालयमा उनले वर्तमान सरकारलाई मगन्ते र पर्यटकका रुपमा टिप्पणी गरेका थिए ।

‘टाउको कनाएर, टोपी समातेर प्रदेश सरकारले केन्द्रसँग माग्ने मात्रै काम ग¥यो । आफ्नै स्रोत साधन पहिचान र राजश्व संकलनमा चासो दिएन ’ संसदीय दलको कार्यालयमा पत्रकारहरूसँग उनले भने ‘यो मगन्ते सरकार भएको छ ।

उनले जनताको समस्या समाधान गर्नुपर्ने सरकार भ्रमण र घुमघाममा केन्द्रित भएको आरोप पानी लगाएका थिए ।
‘यो टुरिस्ट सरकार हो तीन जना मन्त्रीहरू तीन तिर मुख फर्काएर हिँडेका छन् । सदन लाई काम दिन छोडेर घुमघाममा केन्द्रित छन्, उनले भने

‘सरकारले पूर्णता पाएको छैन । संसदीय समितिको गठन हुन सकेको छैन । भागबन्डा र सत्ता केन्द्रितमा सरकार व्यस्त छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर