तेस्रो अन्नपूर्ण म्याराथन जेठ २० गते, विजेतालाई एक लाख ५० हजार पुरस्कार – Nepal Press

तेस्रो अन्नपूर्ण म्याराथन जेठ २० गते, विजेतालाई एक लाख ५० हजार पुरस्कार

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका- १०, घान्द्रुकमा जेठ २० गते तेस्रो अन्नपूर्ण म्याराथन हुने भएको छ ।

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा घान्द्रुक पर्यटन व्यवस्थापन समितिको व्यवस्थापनमा तेस्रो अन्नपूर्ण म्याराथन हुने भएको हो । समितिकै आयोजनामा जेठ १७ देखि २० गतेसम्म अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव हुँदैछ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले सन् १९५० जुन ३ का दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमान राखेको सम्झनामा म्याराथन गर्न लागिएको जनाएको छ ।

म्याराथन अन्नपूर्ण आधार शिविरबाट माछापुच्छ्रे आधार शिविर, वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला उरी हुँदै घान्द्रुकमा आएर सकिनेछ ।

म्याराथन महिला र पुरुष दुवैतर्फ हुनेछ । पुरुषतर्फको विजेताले १ लाख ५० हजारसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेतालाई १ लाख र तेस्रो हुनेलाई ७५ हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

महिलातर्फको विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजारसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरुषतर्फ दर्ता शुल्क ७ हजार र महिलातर्फ ५ हजार राखिएको छ ।

सोही अवसरमा गाउँस्तरीय पुरुष भलिबल र खुला पुरुष बास्केटबल प्रतियोगिता आयोजना गरिएको छ । दुवैतर्फ विजेतालाई ८० हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिने महोत्सवको संयोजक ललित गुरुङले जानकारी दिए । उपविजेता हुने टीमले ५० हजारसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । दुवैको दर्ता शुल्क ६ हजार राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *