खाण निलम्बनका लागि दबाब बढाउँदै शेखर र गगन, संस्थापन पक्ष भन्छ- अहिले त्यो पर्दैन – Nepal Press

खाण निलम्बनका लागि दबाब बढाउँदै शेखर र गगन, संस्थापन पक्ष भन्छ- अहिले त्यो पर्दैन

मीनबहादुर विश्वकर्माको आरोप- सस्तो लोकप्रियताका लागि महामन्त्रीले उत्ताउलोपन देखाए

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई निलम्बन गर्ने वा नगर्ने विषयमा पार्टीभित्र दुई गुटबीच संघर्ष चर्किएको छ । सार्वजनिक रुपमा नै संस्थापनइतर गुटले खाणमाथि निलम्बनको दबाब दिइरहँदा संस्थापन पक्षले यो आवश्यक ठानेको छैन ।

पार्टीका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाही गर्नुपर्ने अभिव्यक्ति सार्वजनिक रुपमा नै दिएका छन् । पार्टी बैठकमा भने उनीहरुले यसमा कुनै अडान लिन सकेका थिएनन् । खाण पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्रमध्येका एक हुन् । देउवा खाणलाई निलम्बन गर्ने पक्षमा छैनन् ।

खाण पक्राउ परेपछि बसेको पदाधिकारी बैठकले तत्काल निलम्बन आवश्यक नरहेको ठहर गरेको थियो । तर, यसको बाहिर आलोचना हुन थालेपछि संस्थापनइतरका नेताहरु आक्रामक बनेका हुन् ।

बुधबार प्रजातान्त्रिक विचार समाजको महाधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले शरणार्थी प्रकरणमा अहिले पार्टीभित्र देखिएको घटनालाई लज्जास्पद भएको टिप्पणी गरे ।

उनले भने, ‘अहिलेको राजनीतिक परिस्थिति अत्यन्त गम्भीर छ, कांग्रेसको परिस्थिति झनै गम्भीर छ । कांग्रेसभित्र जुन घटना भइरहेका छन्, हाम्रै साथीहरु नक्कली शरणार्थीको मुद्दामा फस्नुभएको छ, त्यसले कांग्रेसको मात्रै होइन, नेपालीकै शीर निहुरिएको छ ।’

यस्तो लज्जास्पद र राष्ट्रघाती कामलाई ढाकछोप गर्न नहुने उनको भनाइ छ । ‘ढाकछोप गर्ने कोसिस गरे कांग्रेसको अवस्था के हुन्छ भन्न सक्दिनँ । अप्ठ्यारो स्थितिमा पार्टी छ, यसले देशको अवस्था नाजुक हुन्छ, यो अन्तर्राष्ट्रियकरण भइसकेको छ, सहजै मुद्दा चलिरहेको छैन, प्रहरीलाई यत्रो तागत त्यसै आइरहेको छैन, कुनै बहानामा कसैले गलत काम गरेको भए दण्ड हुनैपर्छ’, नेता कोइरालाको भनाइ छ ।

यस्तै महामन्त्री थापाले पनि एउटा पदमा बसेको मान्छे अभियोग लागेपछि त्यो स्वतः निलम्बनमा पर्ने तर्क गरे ।

उनले भने, ‘प्रमाणित भएन भने स्वतः आउँछ । यो आग्रह, पूर्वाग्रह होइन । केही साथीहरुले परम्परा छैन भन्नुभयो । यदि यो परम्परा छैन भने परम्परा तोड्नुपर्छ । गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु हुँदैन । पार्टीका मान्छे भ्रष्टाचारी हुनसक्छ । तर, पार्टी भ्रष्टाचारी हुन सक्दैन ।’

उनले अहिले तत्कालै खाणलाई निलम्बन गरेर पार्टीबाट अलग गराउनुपर्ने बताए । ‘अनुसन्धानमा कतै पार्टी देखिनुहुँदैन । जोसुकैमाथि जरा जहाँसम्म पुगेको भए पनि त्यो ठाउँसम्म कारबाही हुनुपर्छ’, उनले भने ।

उनीहरुले मात्रै नभएर इतर पक्षका अधिकांश नेताहरुले खाणलाई तत्काल निलम्बन गर्न दबाब बढाइसकेका छन् । यो प्रकरणमा नेता गुरुराज घिमिरेसहित इतर पक्षका ३० नेताले उपप्रधानसहित गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर आफ्नो साथ रहेको बताएका थिए ।

उनीहरुले जोसुकै भए पनि दोषीलाई कारबाही गर्न खुट्टा नकमाउन आग्रह गर्दैगर्दा संस्थापन पक्ष भने खाणप्रति नरम देखिएको छ ।

देउवा निकटका नेता मीनबहादुर विश्वकर्मा तत्काल खाणलाई निलम्बन गर्न नपर्ने बताउँछन् । उनी भन्छन्, ‘उहाँविरुद्ध अभियोजन दर्ता भएकै छैन । पार्टी विधान, संसदको नियमावली र नेपालको कानूनले पनि सार्वजनिक पद धारणा गरेको व्यक्तिलाई अधिकार प्राप्त अधिकारीले अभियोजन दर्ता गरी पुर्पक्षका लागि थुनामा राख्यो भने स्वतः निलम्बन हुन्छ । अन्यथा आरोप लाग्नेबित्तिकै कारबाही गर्नुपर्दैन ।’

अब केही दिनमा प्रहरीले अनुसन्धान गरेर अदालतमा बुझाएपछि अदालतको आदेशअनुसार पार्टीले कारबाही अघि बढाइने उनले बताए ।

‘उहाँलाई थुनामा राख्ने आदेश ग¥यो भने हामीले निलम्बन गराउनुपर्छ । उहाँलाई सफाइ दियो वा धरौटीमा छाड्यो भने कारबाही गर्नै परेन’, नेता विश्वकर्माले भने ।

आरोप लाग्नेबित्तिकै निलम्बन गर्नु सस्तो लोकप्रियतामात्रै भएको उनको बुझाइ छ ।

पार्टीका महामन्त्रीसहित शीर्ष नेताहरुले त सार्वजनिक रुपमै निलम्बन गर्नुपर्छ भनेर बताइरहनुभएको छ नि भन्ने नेपाल प्रेसको प्रश्नमा उनले भने, ‘सबैको ठूलो लोकतान्त्रिक र अझै उत्ताउलो लोकतान्त्रिक पार्टी नै हाम्रो भयो । कसैलाई अभियोग लाग्यो, प्रहरीले अनुसन्धान गर्दैछ । त्योभन्दा धेरै बढ्ता हाम्रै पार्टीका सार्थीहरु न्यायाधीश बन्न थाले । कसैले थुनिहाल्नुपर्ने, कसैले के भन्ने ।’

उनले महामन्त्री जस्तो पार्टीको नेतृत्वमा पुगेको व्यक्तिले उत्ताउलो तर्क गरेको टिप्पणी गरे । नेता विश्वकर्माले भने, ‘पार्टीमा आग्रह र पूर्वाग्रह पनि झल्काउँछ । त्यसैले हामीले अनुसन्धानलाई प्रभावित गर्न हुँदैन । दोषी ठहरिए छाड्नु हुँदैन । निर्दोष रहेछन् भन्ने थुन्न हुँदैन ।’

त्यसो त कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत खाणले आफूलाई निर्दोष प्रमाणित गर्छु भनिरहेकाले निलम्बन नगरेको बताउँछन् ।

मंगलबार पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘निर्दोष रहेको उहाँले भनिरहेकाले निलम्बनको निर्णय पार्टीले नगरेको हो । अनुसन्धान परिपक्व र स्वतन्त्र हुनुपर्छ । त्यसमा कांग्रेसले सहयोग गर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर