जी-२० सम्मेलनमा भारतले देखाएको हिन्दी र हिन्दूत्व उपस्थिति – Nepal Press

जी-२० सम्मेलनमा भारतले देखाएको हिन्दी र हिन्दूत्व उपस्थिति

काठमाडौं । विश्वका २० वटा शीर्ष अर्थतन्त्र भएको देशको क्लब हो जी-२० । यसमा १९ देश र युरोपेली युनियन पर्छन् । जी-२० को शिखर सम्मेलन पहिलोपटक भारतमा हुन लागेको छ । आगामी सेम्टेम्बर ९ र १० मा भारतको संघीय राजधानी नयाँ दिल्लीमा हुने जी-२० शिखर सम्मेलनमा भारतले हिन्दी र हिन्दूत्वको भव्य उपस्थिति देखाइरहेको छ ।

जी-२० सार्क, बिम्स्टेक, आसियान, युरोपेली युनियन आदि जस्तो सचिवालय भएको संस्था होइन । यसको स्थायी सचिवालय छैन । तर, भारतले जी-२० को आयोजक हुँदाको विज्ञापन भरपुर गरिरहेको छ । सरकारका लोगोहरुमा भारतले जी-२० सभापतित्व गरेको र भारतमा हुने सम्मेलनको लोगोको व्यापक विज्ञापन गरिरहेको छ ।

नरेन्द्र मोदी सत्तामा आउनु अगाडि सन् २०१४ सम्म भारत विश्वको दशौं ठूलो अर्थतन्त्र भएको देश थियो । अहिले विश्वको पाँचौं ठूलो अर्थतन्त्र छ । मोदी सरकार आएसँगै भारतको अर्थतन्त्रको ग्राफमात्रै होइन हिन्दी र हिन्दूत्वको प्रभावको ग्राफसमेत बढेको छ । त्यसको एक छायाँ भारतले गरेका जी-२० सम्मेलनमा समेत देखिएको छ ।

जी-२० लोगोमै हिन्दूत्व प्रभावः मोदीको बढ्दो हिन्दी लगाव

भारतले सार्वजनिक गरेको जी-२० लोगोमा अंग्रेजीमा इन्डिया लेखिएको छ । देवनागरीमा भारत लेखिएको छ । यस्तै हिन्दू ग्रन्थको लोकप्रिय लाइन बसुधैव कटुम्बकम समेटिएको छ । यतिमात्रै होइन भारतीय जनता पार्टी (बीजेपी)को चुनाव चिह्न कमलको फूलमा विश्व भएको लोगो बनाइएको छ । भारत बाहिर यसको खासै चर्चा भएको छैन । तर, भारतका विपक्षीहरुले भने मोदीको बीजेपीको चुनाव चिह्नको प्रचारको रुपमा यसलाई व्याख्या गरिरहेका छन् । जी-२० को पर्यटन विज्ञापनको सूचीमा युनेस्कोले सूचीकृत गरेको मुस्लिम सम्पदा क्षेत्र ताजमहल समावेश छैन । यसलाई पनि मुस्लिमभन्दा हिन्दू सम्पदालाई प्राथमिकता दिइएको व्याख्या गरिएको छ ।

‘दि डिप्लोम्याट’ म्यागजिनमा फेब्रुअरी ३ मा एक आलेख लेख्दै रितुम्बरा मानवी र एलिना काहेलीले भारतको जी-२० सभापतित्वमा हिन्दू राष्ट्रियता प्रदर्शन गरिएको तर्क गरेका छन् । उनीहरुले आगन्तुकहरुलाई घुमाउने गन्तव्यमा हिन्दू नेता थुनिएका जेलदेखि अरु हिन्दू गन्तव्यसम्ममा लाने भन्दै उनीहरुले यस्तो तर्क गरेका छन् ।

नरेन्द्र मोदी सत्तामा आउनु अगाडि सन् २०१४ सम्म भारत विश्वको दशौं ठूलो अर्थतन्त्र भएको देश थियो । अहिले विश्वको पाँचौं ठूलो अर्थतन्त्र छ । मोदी सरकार आएसँगै भारतको अर्थतन्त्रको ग्राफमात्रै होइन हिन्दी र हिन्दूत्वको प्रभावको ग्राफसमेत बढेको छ ।

हिन्दीमोह त मोदीको देखिने नै हो । उनले भारतलाई जोड्ने बलियो गैरअंग्रेजी भाषामा हिन्दीको अनुमोदन गरेका छन् । विश्व मञ्चहरुमा उनले प्रयोग गर्ने हिन्दी यसको प्रभाव हो । पहिलोपटक संयुक्त राष्ट्रसंघमा अंग्रेजीमा बालेका मोदीको पछिल्ला सबै विश्व मञ्चको भाषण हिन्दीमा छन् । गत अप्रिल २० र २१ मा भारतमा भएको ग्लोबल बुद्धिस्ट समिटमा पनि मोदीले हिन्दीमै सम्बोधन गरे ।

अतः अप्रिल २६ मा भएको रिपब्लिक टीभीको एक कार्यक्रममा प्राय अंग्रेजी बोल्ने अर्नव गोस्वामीले हिन्दी भाषा प्रयोग गरेर मोदीलाई मञ्चमा बोलाए । मञ्चमा आएका मोदीले गोस्वामीको प्रशंसा गरेका थिए । मोदीको हिन्दीमोह कुन तहको छ भन्ने उदाहरण यसले देखाउँछ ।

मोदीको हिन्दीमोहलाई कूटनीतिक सम्बन्धमा सदुपयोग गर्न विदेशी नेताहरु पनि खप्पिस भएका छन् । जस्तैः सन् २०२२ नोभेम्बर १६ मा बेलायती प्रधानमन्त्री ऋषि सुनाकले मोदीसँग जी-२० सवालमा भएको भेटको तस्बिर सार्वजनिक गरे । तस्बिरमा उनले क्याप्सन हिन्दीमा लेखेका थिए- ‘एक मजबुत दोस्ती ।’ भारतीय मूलका ऋषि सुनाकले मात्रै होइन हाल अपदस्थ ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारोले पनि भारतसँगको सवालमा हिन्दी र हिन्दूत्व जोडेका थिए । हनुमानले सञ्जीवनी बुटी बोकेको तस्बिर राखेर भारतबाट कोभिड भ्याक्सिन ब्राजिल पुर्‍याएको जस्तो देखाउँदै उनले सन् २०२१ जनवरी २२ को एक ट्विटमा मोदीलाई मेन्सन गरेर देवनागरीमा लेखेका थिए- ‘धन्यवाद भारत ।’

मोदी नेतृत्वको भारतलाई हिन्दी राष्ट्रवादको आरोप लाग्ने गर्छ । यसबारेमा भारतीय विदेशमन्त्री एस. जयशंकरलाई भारतमा केही समय अगाडि भएको एक छलफलमा सोधिएको थियो । त्यसमा जयशंकरले भनेका थिए- ‘भारतलाई हिन्दू राष्ट्रियता भन्ने युरोपेलीहरु आफूलाई ईसाई राष्ट्रियता भएको भन्दैनन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *