विश्वमा ‘सभ्यता शक्ति’ प्रवर्द्धन गर्दै सी र मोदी: नेपालले आफ्नो पहिचान कसरी गर्ने ? – Nepal Press

विश्वमा ‘सभ्यता शक्ति’ प्रवर्द्धन गर्दै सी र मोदी: नेपालले आफ्नो पहिचान कसरी गर्ने ?

गत मार्च १७ मा सुदूरपश्चिम विश्वविद्यालयको आयोजनामा भएको मानसखण्ड अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्न आएका विभिन्न वक्ताहरुमा एक थिए भारतीय जनता पार्टी (बीजेपी)का विदेश विभाग प्रमुख डाक्टर विजय चौथाइवाले । सुदूरपश्चिम र भारतको उत्तराखण्डको कुमाउ क्षेत्रहरुको साझा मानसखण्ड सभ्यताको कार्यक्रम थियो त्यो । सभ्यताकै कारणमा आएका चौथाइवालेसँग यो पंक्तिकारलगायतका पत्रकारले विश्व मञ्चमा प्रस्तुत गरिरहेको भारतको सभ्यता शक्तिको मोहबारेमा जिज्ञासा राख्दा चौथाइवाले खुशी भएका थिए । यो खुशी चौथाइवालेको मात्रै होइन । भारतीय सत्ताधारीको हो ।

अहिले भारत आफूलाई विश्वको दक्षिणी भेगको शक्तिको रुपमा चित्रण गर्न खोजिरहेको छ । भारत त पूर्वीय सभ्यताको केन्द्र भनेर भन्दै आइरहेको देश हो । अहिले चीन पनि आफूलाई सभ्यता मुलुकको रुपमा देखाउन चाहिरहेको छ । भारत र चीनको सभ्यता शक्तिको मोहले विश्व बजारमा राम्रो बहस पनि चलाएको छ । सन् २०१९ मार्च ४ मा फाइनान्सियल टाइम्समा गिदोन र्‍याचम्यानले एक आलेख लेखेका थिए । त्यसमा उनले भनेका थिए, ‘१९औं शताब्दीले नेसन स्टेटको आइडिया लोकप्रिय बनायो । २१औं शताब्दी सिभिलाइजेसनल स्टेटको शताब्दी बन्नसक्छ ।’

चिनियाँ ‘यूटर्न’ : माओको सांस्कृतिक क्रान्तिदेखि सीको सभ्यता प्रवर्द्धनसम्म

नेपालका मानवशास्त्रका पिता भनेर परिचित डोरबहादुर विष्ट सन् १९७२ मा चीनको स्वशासित क्षेत्र तिब्बतमा महावाणिज्य दूतको रुपमा पुगेका थिए । तीन वर्षको बसाइ उनले सन् १९७९ मा साझा प्रकाशनबाट आफ्नो तिब्बती बसाइको बारेमा लेखिएको पुस्तक ‘रिपोर्ट फ्रम ल्हासा’ बजारमा ल्याए । पुस्तकमा उनले माओको सांस्कृतिक क्रान्तिका तिब्बती धर्म र खासगरी दलाई लामामा परेको बाछिटाका बारेमा लेखेका छन् । सन् १९७२ को जुलाई २५ मा चार दिन लगाएर नेपालबाट स्थल मार्ग हुँदै ल्हासा पुगेका थिए विष्ट ।

विष्टले सांस्कृतिक क्रान्तिताका ल्हासा पुग्नु केही किलोमिटर अगाडिको एक रोचक घटना सुनाएका छन् । पहिले पहिले ‘ओम माने पद्मे हुँ’ भनेर लेखिएको विशाल पत्थरको बुद्ध मूर्तिमा ती अक्षर हटाइएका थिए । त्यसको सट्टामा माओका सांस्कृतिक क्रान्तिका प्रवचनहरु लेखिएका छन् । विष्टले सोही प्रसंगमा सन् १९६८ नोभेम्बर १९ को ‘पिपुल्स डेल्ली’को एक समाचार साभार गरेर पहिले पहिले बोधिसत्वको मुर्ति राख्ने तिब्बतीका घरमा आजकाल माओका मूर्ति भएको लेखेको उल्लेख गरेका छन् ।

अहिले चीन आफूलाई नेसन स्टेटको रुपमा भन्दा बढी सिभिलाइजेसनल स्टेटको रुपमा देखाउँछ । चीन विश्वको राज्यको इकाइ नभएर सभ्यताकै इकाइ हो भन्ने बुझाउन यस्तो व्याख्या सुरु गरिएको छ । चीनलाई सभ्यता राज्यको रुपमा चिनाउन पश्चिमादेखि चिनियाँ बौद्धिकहरु लागेका छन् ।

डोरबहादुर विष्ट तिब्बत पुगेको समय माओकालीन थियो । माओको मृत्युभन्दा चार वर्ष अगाडि उनी तिब्बत पुगेका थिए । अहिलेको समय भने सी चिनफिङको हो । अहिले माओकालमा जस्तो तिब्बती धर्ममा राज्यको बेवास्ता छैन । बरु ताओइजम, कन्फ्युसिअसिजमदेखि तिब्बती बुद्ध धर्मको प्रवर्द्धनका लागि चीन दत्तचित्त भएर लागेको छ । हो, चीन दलाई लामालाई राजनीतिक कारणले मान्दैन । तर, तिब्बती बुद्ध धर्ममा पाञ्चेन लामामार्फत् चीनले तिब्ब्ती बुद्ध धर्मको प्रवर्द्धनमा आफ्नो सक्रियता देखाइरहेको छ । चिनियाँ भाषा सिकाउन विश्वभर छरिएर रहेका कन्फ्युसिएस सेन्टर छन् । ताओइजमको प्रवर्द्धन पनि चिनियाँ राज्यसत्तादेखि प्राज्ञिक व्यक्तित्वहरुले उत्तिकै गरिरहेका छन् ।

अहिले चीन आफूलाई नेसन स्टेटको रुपमा भन्दा बढी सिभिलाइजेसनल स्टेटको रुपमा देखाउँछ । चीन विश्वको राज्यको इकाइ नभएर सभ्यताकै इकाइ हो भन्ने बुझाउन यस्तो व्याख्या सुरु गरिएको छ । चीनलाई सभ्यता राज्यको रुपमा चिनाउन पश्चिमादेखि चिनियाँ बौद्धिकहरु लागेका छन् । बेलायतका विश्व प्रसिद्ध बौद्धिक मार्टिन जेकले ‘ह्वेन चाइना रुल्स दि वर्ल्ड’मा चीन नेसन स्टेट हुनुभन्दा सिभिलाइजेसनल स्टेट भएको तर्क गरेका छन् ।

सन् २००९ मा आएको आफ्नो पुस्तकमा उनले भनेका छन्, ‘चीनको नेसन स्टेट इतिहास १२० वर्षमात्रै पुरानो हो । तर, सभ्यताको इतिहास हजारौं वर्ष पुरानो हो ।’ बेलायती बौद्धिक मार्टिन जेकमात्रै होइन, चीनको फुदान विश्वविद्यालयसँग जोडिएका प्रख्यात बौद्धिक झाङ वैवैले पनि चीन सभ्यता शक्ति भएको तर्क गरेका छन् । सन् २०११ मा प्रकाशित वैवैको पुस्तक ‘दि चाइना वेभः राइज अफ सिभिलाइजेसनल स्टेट’ले यो भाष्य थप बलियो बनाएको छ ।

मार्टिन जेकको तर्कदेखि झाङ वैवैको पुस्तकसम्ममा मात्रै सीमित छैन चीनको सभ्यता मोह । सी चिनफिङले हालसालै सभ्यता प्रवर्द्धनको नयाँ प्याकेज ल्याएका छन् । ग्लोबल सिभिलाइजेसनल इनिसिएटिभ । ग्लोबल सेक्युरिटी इनिसिएटिभ, ग्लोबल डिभेलपमेन्ट इनिसिइटिभपछि सभ्यता प्रवर्द्धन गर्न सीले यो तेस्रो वैश्विक कार्यक्रम ल्याएका हुन् । गत मार्च १५ मा विश्वका राजनीतिक दलहरुसँगको संवादका क्रममा सीले यस्तो प्रस्ताव ल्याएका हुन् । ‘सभ्यताको विविधीकरणको सम्मान गर्न’ आग्रह गर्दै सीले यस्तो प्रस्ताव ल्याएको बताएका थिए ।

सीको सिभिलाइजेसनल इनिसिएटिभको प्रस्तावमा क्युवादेखि भेनेजुयला जस्ता देशका वामपन्थी सत्ताले समेत स्वीकार गरेका छन् । धर्म-संस्कृतिमा अनुदार मानिने वामपन्थीहरुले सभ्यताको कार्यक्रममा समर्थन गर्नु सकारात्मक कदम हो । नेपालका कम्युनिष्ट दलहरुलाई यो एक सिकाइ पनि हुनसक्छ ।

यसरी माओ युगमा सांस्कृतिक क्रान्तिको नाममा धर्म संस्कृतिमा अनुदार देखिएको चीन सी युगमा आएर सभ्यता शक्ति प्रवर्द्धनको लाइनमा आएको छ । अझ रोचक कुरा सीको सिभिलाइजेसनल इनिसिएटिभको प्रस्तावमा क्युवादेखि भेनेजुयला जस्ता देशका वामपन्थी सत्ताले समेत स्वीकार गरेका छन् । धर्म-संस्कृतिमा अनुदार मानिने वामपन्थीहरुले सभ्यताको कार्यक्रममा समर्थन गर्नु सकारात्मक कदम हो । नेपालका कम्युनिष्ट दलहरुलाई यो एक सिकाइ पनि हुनसक्छ ।

भारतको सभ्यता शक्ति देखाउने अन्तर्राष्ट्रिय योग दिवसको झिल्को

भारत अहिले आफूलाई सभ्यता शक्ति प्रमाणीकरण गर्न मेहनत गरिरहेको छ । भारतको विश्व मञ्चको उपस्थितिका कदमहरुमा भारतीय सभ्यता प्रदर्शन गर्न भारतीय सत्ता सक्रिय छ । जस्तैः भारतले आगामी सेप्टेम्बर ९ र १० मा आयोजना गर्न लागेको जी-२० शिखर सम्मेलनको नारामा ‘बशुधैव कटुम्बकम’ लेखिएको छ । यो पूर्वीय सभ्यताको एक मन्त्र हो । सम्मेलनमा भारत भन्ने शब्द देवनागरी लिपिमा लेखिएको छ । यसले अर्को सन्देश दिन खोजेको छ ।

पछिल्लो समयमा भारतले गरेका केही विश्व मञ्चका लविङ सभ्यताकै पक्षपाती छन् । जस्तैः सन् २०१४ डिसेम्बर ११ मा संयुक्त राष्ट्रसंघले हरेक जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने निर्णय गर्‍यो । सन् २०१५ जुन २१ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले योग दिवसको उद्घाटन गरे । ‘भ्रातृत्व र शान्तिको लागि योग’ नारा दिइएको योग दिवसको उद्घाटनका दिन दुई रेकर्ड बने । एक, योगले अन्तर्राष्ट्रिय मान्यता पाउनु । दुई, ३५ हजार ९८५ सहभागी भएको विशाल योग समारोहले गिनिज बुक अफ वर्ल्ड रेकर्डसमेत बनायो । योग दिवसमा विश्वलाई कन्भिन्स गर्न सक्नु भारतको सभ्यता शक्ति प्रवर्द्धनको जीत हो । हालसालै प्रकाशन भएको विजय चौथाइवालेलगायतका सम्पादक भएको पुस्तक ‘मोदी सेपिङ ग्लोबल अर्डर’ नामक पुस्तकको भूमिकामा भारतीय विदेशमन्त्री एस. जयशंकरले योग दिवस भारतको लागि सफ्ट पावर भएको तथा यसले विश्व सभ्यता शक्तिको चरणमा आएको सन्देश सम्प्रेषण गरेको तर्क गरेका छन् ।

आफ्नो पुस्तक ‘दि इन्डिया वे’मा एस. जयशंकरले भारत विश्वको दक्षिणी गोलार्द्धको सभ्यता शक्ति भएको उल्लेख गरेका छन् । महाभारत, रामायण र कृष्णका बारेमा पटकपटक चर्चा गरेर भारतीय कूटनीतिमा उनीहरुको सकारात्मक प्रभाव भएको भनेका छन् । भारतको सत्ताधारी दलको प्रमुख कूटनीतिक कमान्डरदेखि भारतीय सत्ताधारी दलका विदेश विभाग प्रमुखसम्मको सम्पादकका पुस्तकहरु सबैमा भारतलाई विश्वको सभ्यता शक्ति भनेर चित्रण गरिएको छ । भारतीय प्रधानमन्त्री मोदीले सभ्यतालाई प्रवर्द्धन गरेको त उनको नेपाल भ्रमण कहिले पशुपतिनाथ, कहिले मुक्तिनाथ, कहिले जनकपुरधाम त कहिले लुम्बिनीमा गरेकोबाट पनि प्रस्ट छ । भारतले वैदिक तथा बुद्ध धर्मसँग जोडिएका सभ्यतामा आफू शक्ति भएको देखाउन प्रयास गरिरहेको छ । गत अप्रिल २० र २१ मा भारत सरकारले ग्लोबल बुद्धिस्ट समिट आयोजना गर्‍यो । कार्यक्रममा प्रधानमन्त्री मोदीले सम्बोधन गरेका थिए ।

भारतले आगामी सेप्टेम्बर ९ र १० मा आयोजना गर्न लागेको जी-२० शिखर सम्मेलनको नारामा ‘बशुधैव कटुम्बकम’ लेखिएको छ । यो पूर्वीय सभ्यताको एक मन्त्र हो । सम्मेलनमा भारत भन्ने शब्द देवनागरी लिपिमा लेखिएको छ । यसले अर्को सन्देश दिन खोजेको छ ।

सी र मोदीको सभ्यता शक्तिको लाइनमा नेपालको पहिचान के हो ?

चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश हो । विश्वको एक नम्बर शक्ति हुने लाइनमा चीन छ । भारत विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको देश हो । चीन विश्व शक्ति हो । भारत एसियाली शक्ति हो । यी दुवै शक्ति आगामी वर्षहरुमा अझ शक्तिशाली हुँदै जानेछन् । शक्ति बढेसँगै उनीहरुको मुद्दा विश्व मञ्चमा स्थापित हुनेछ । जब यी दुवै शक्तिले आफूलाई सभ्यता शक्तिको रुपमा चिनाउँछन्, त्यसको फाइदा नेपाललाई पनि छ । किनभने यी दुवै देशको सभ्यताको ब्राण्डमा आउने कन्टेन्टमा कुनै न कुनै रुपमा नेपाल पनिा उल्लेख हुनेछ । उदाहरणका लागि भारतले ब्रान्ड गर्ने वैदिक सभ्यतामा नेपाल अनिवार्य जोडिन्छ । नेपालको अनुपस्थितिमा वैदिक सभ्यताका धेरै धाम र धरोहर गयल हुन्छन् ।

चीनले प्रवर्द्धन गरेको तिब्बती बुद्धिजममा पनि नेपाल जोडिन्छ । बुद्ध जन्मथलो लुम्बिनी भएकोले मात्रै होइन, तिब्बती बुद्ध धर्मका सभ्यताका धेरै अवशेषहरु नेपालका हिमाली जिल्लाहरुमा छन्, काठमाडौं उपत्यकामा छन् । वैदिक, हिन्दी तथा बुद्ध धर्ममात्रै होइन, नेपालका किराँत तथा युमा सभ्यताका सम्पदाहरु पनि भारत र चीनको सभ्यता शक्तिको ब्रान्डमा उठ्न सक्छन् । जसरी बेलायत, फ्रान्स जस्ता युरोपेली देशले आफ्नो आर्थिक तथा सैन्य शक्ति प्रवर्द्धनमा आसापासका देशहरुको पनि सोही मोर्चाको सामर्थ्य बढ्यो, ठीक त्यसैगरी भारत र चीनको सभ्यता शक्तिको सवारीमा नेपालका सभ्यता शक्तिहरु पनि विश्व मञ्चमा जान्छन् । तर, त्यो यात्रा तय गर्न नेपालले राम्रो तयारी गर्नुपर्छ । नेपाली संस्कार, संस्कृति तथा सभ्यताका सकारात्मक सम्पदाहरुलाई उत्खनन्, प्रवर्द्धन र विज्ञापन गर्न नेपाली राज्यसत्ता तयार हुनुपर्छ । नेपाली प्राज्ञिक दस्ता तयार हुनुपर्छ ।

सन् २०१६ अक्टोबर १६ मा ब्रिक्स् समिटको साइडलाइनमा नेपाली प्रधानमन्त्री प्रचण्ड, भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीको लिडर्स लाउन्जमा बीस मिनेट भेटघाट भयो । गोवाको ताज एक्जोटिकामा भएको भेटलाई नेपाली मिडियाहरुमा त्रिपक्षीय भेटघाट भएको जस्तो प्रचार गरियो । पछि त्यो अनौपचारिक भेट भएको भन्ने पुष्टि भयो । यसरी सी र मोदीसँग नेपाली प्रधानमन्त्रीले औपचारिक त्रिपक्षीय बैठक गर्न नसके पनि एक्लाएक्लैको भेटमा सभ्यता शक्तिका साझा मुद्दामा मिलेर काम गर्ने कुरा गर्न सकिन्छ । त्यसको लागि राज्यका तर्क बलियो हुनुपर्छ । तर्क बलियो बनाउन आवश्यक अध्ययन, अनुसन्धान र नजिरहरु बलियोसँग राख्न आवश्यक छ ।

अबका नेपाली सत्ताधारीले चाहेर पनि वा नचाहेर पनि भारतीय र चिनियाँ पक्षसँगको भेट हुँदा सभ्यताको कुरा नगरे उनीहरुको मूल मुद्दामा प्रवेशै नभएको ठहरिनेछ । तर, सभ्यताको बारेमा सामान्य जानकारी लिएर भारतीय वा चिनियाँ पक्षसँग बस्दा उनीहरुसँगको अन्तरक्रियामा त्यस्तो सहजता आउँछ जस्तो सहजता मार्च १७ को मानसखण्ड सम्मेलनमा आएका डाक्टर विजय चौगाइवालेसँग यो पंक्तिकार र अन्य नेपाली पत्रकारहरुको भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *