चितवन र तनहुँ चुनावी म्यान्डेटः असफल गगन थापाको ‘हरि शरणम्’ – Nepal Press
टिप्पणी

चितवन र तनहुँ चुनावी म्यान्डेटः असफल गगन थापाको ‘हरि शरणम्’

काठमाडौं । चितवनको उपचुनावीय सरगर्मी धेरै कोणमा फरक थियो । तनहुँ १ का सांसद राष्ट्रपति भएपछि सीट खाली थियो । बारा २ का सांसद उपराष्ट्रपति हुँदा खाली भयो । चितवनको चैं रवि लामिछानेको नागरिकता मुद्दामा प्राविधिक पक्ष नमिलाउँदा उनले सांसद पदै गुमाउनु परेको थियो ।

गत चुनावमा रविको क्षेत्रका कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको चुनावीसभामा भाषण गर्न गएनन् गगन थापा । उसो त काठमाडौंका १० चुनावी क्षेत्रमा चार जितेको र अरु क्षेत्रमा दोस्रो वा तेस्रो भएको घण्टीले गगन थापाको काठमाडौं क्षेत्र नम्बर ४ मा कुनै उम्मेदवारी दिएन । घण्टीका उम्मेदवार अरुण श्रेष्ठले मनोनयन फिर्ता लिएर गगनलाई समर्थन गरे । गगनको क्षेमा घण्टी गयल हुनु र घण्टीका नेतृत्वकर्ता रवि लामिछानेसँग चुनावी प्रतिस्पर्धामा उठेका कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले गगन समूहले असहयोग गरेको आरोप लगाउनुको संयोग थियो मंसिरको चुनावमा ।

मंसिर १६ गते प्राइम टीभीमा ऋषि धमलासँग बोल्दै कांग्रेस उम्मेदवार श्रेष्ठले गगनले घण्टीलाई समर्थन गरेर आफूलाई हराएको आरोप लगाएका थिए । मंसिरको चुनावमा घण्टी क्षेत्रमा गयल गगन थापालाई देउवाले घण्टीको दबदबा भएको चितवन तथा तनहुँमा उपचुनावी कमाण्डको लागि पठाए । चितवन पुगेर चुनावीसभाहरुमा बोलेका गगनले मतदातालाई हरि शरण लिएर भावनात्मक ब्ल्याकमेलिङ गरे । बाहिर रुखमा कुद्ने तर भित्रभित्रै घण्टीलाई भोट हाल्नेतर्फ संकेत गर्दै गगन थापाले भगवान कार्ड फालेर मतदातालाई भावनात्मक ब्ल्याकमेल गरे ।

मास मिडिया र सोसल मिडियामा भाइरल भएको भिडियोमा गगन थापाले कांग्रेसी मतदातालाई भगवान कार्ड प्रयोग गर्दै भनेका छन्, ‘म भगवानमा विश्वास गर्ने मान्छे हुँ । मलाई विश्वास छ, तपाईंहरु पनि धार्मिक हुनुहुन्छ । खुलेर लाग्नुभएको छ भने तपाईंहरुको निर्णय हो । तर, बाहिर बाहिर गर्छु भित्रभित्र गर्दिनँ भन्न मिल्दैन । मनमा जसको हरि छ, अरूले नदेखे पनि हरिले देखेको हुन्छ । बाहिर बाहिर रुख रुख भन्ने भित्र गएर तलमाथि गरे हरिले हिसाबकिताब गर्छन् भन्ने ठान्नुपर्छ ।’

धर्म निरपेक्ष राज्यमा देशको सबैभन्दा ठूलो दलको महामन्त्री, देशका पूर्वमन्त्री तथा प्रभावशाली सांसदले भगवान कार्ड प्रयोग गर्नु आफैंमा रोचक कुरा हो । त्योभन्दा रोचक कुरा चाहिँ भगवान कार्ड ती नै नेताबाट प्रयोग भयो, जसले दोस्रो जनआन्दोलनताका पशुपतिनाथलाई नमान्ने तर्क गरेका थिए । दोस्रो जनआन्दोलनताका गगन थापाले एक सडक सभामा ज्ञानेन्द्रलाई नमान्ने भन्दा पशुपतिनाथ जोडेका थिए । पशुपतिनाथ जोड्दै गगन थापाले भनेका थिए, ‘एक्काइसौं शताब्दी हो महाराज, यहाँ भगवान पशुपतिनाथको त दासत्व स्वीकार हुन्न भने नाथे हत्यारा राजाको के कुरा ?’

१८ वर्ष अगाडि भगवान पशुपतिनाथको दासत्व अस्वीकार गर्ने गगन थापाले अहिले चितवन पुगेर हरि शरणम् स्वीकार गर्ने अवस्था आयो । तर, मतदाताले भने गगनको हरि शरणम् कार्ड पत्याएनन् । भगवान कार्ड पत्याएनन् । गगनका उम्मेदवारलाई भारी मतान्तरले हराए ।

चितवन चुनावले गगनको राजनीतिमा तीन रोचक पक्ष देखाएको छ । एक, अब गगन थापाको मास क्रेज छैन । जनतामा गगनको लोकप्रियताको ‘नेप्से’ कमजोर भएको छ । गगनले भोट हाल भन्दैमा जनतामात्रै होइन स्वयं कांग्रेसी नेता कार्यकर्ताहरु पनि तयार छैनन् । दुई, गगन थापा बजारमा र मिडियामा बनाइएको जस्तो ज्यादै वजनदार उदार लोकतान्त्रिक नेता होइनन् । उनी चुनाव जित्न नेपालको राजनीतिक दलहरुका पहिलो पुस्ताका कतिपय नेता तथा राप्रपा जस्तै धर्मको सहारा लिने पक्षमा जानेस्तरका औसत नेतामात्रै हुन् ।

तीन, गगनले पुलपुल्याएको घण्टीले अहिले गगनकै राजनीतिमा प्रश्न सोझ्याएको छ । उसो त गगन क्याम्पकै निकट मानिने अनुहारहरु स्वर्णिम वाग्ले, मनिष झा, अरनिको पाण्डे, शिशिर खनाल, तोसिमा कार्कीलगायतका नेताहरु घण्टीमा प्रभावशाली देखिएका छन् । यसले पनि घण्टीमा गगन टीमको आत्मियता झल्कन्छ । तर, त्यो आत्मियता योजनाबद्ध हो वा संयोगमात्रै हो, त्यसमा त्यही क्याम्पका सदस्यले सार्वजनिक रुपमा नभनेसम्म यसैभन्न सकिन्न ।


प्रतिक्रिया

One thought on “चितवन र तनहुँ चुनावी म्यान्डेटः असफल गगन थापाको ‘हरि शरणम्’

  1. दाइ भाउजूको कर्तुतको किनाराको साक्षी बन्ने बाहेक केही हैसियत छैन यिनको । गठबन्धन सरकारको अकर्मण्यता र लुटतन्त्रका रक्षक मात्र हुन् यी । अति भए पछि लुटेराको विरोध नगरेर केपि ओलिको गर्न थाल्छन यी । अब सकिने हुन गठबन्धनका दलाल झोलेहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *