विजय बरालको आँखामा बिके भर्सेस मंगलसिंह – Nepal Press

विजय बरालको आँखामा बिके भर्सेस मंगलसिंह

काठमाडौं । ‘जारी’ फिल्मले बक्स अफिसमा धमकेदार कमाइ गरिरहेको छ । गएको शुक्रबार र शनिबारमात्रै चार करोडमाथि कमाइ गरेको ‘जारी’ले आउँदा दिनमा पनि कमाइको ग्राफलाई जारी राख्ने देखिन्छ । फिल्मको लोकप्रियतासँगै कलाकारहरु दयाहाङ राई, मिरुना मगर, विजय बराललगायतले निभाएको चरित्रलाई पनि दर्शकले खुब रुचाइरहेका छन् ।

फिल्ममा मुख्य भूमिका निभाउनेहरुको त चर्चा भइ नै हाल्छ, ‘जारी’ मा चाहिँ सहायक चरित्रमा रहेका विजय बरालले पनि निकै प्रशंसा कमाइरहेका छन् । चलचित्रमा उनको भूमिका थोरै भए पनि खुबै प्रभावकारी छ । दयाहाङ र मिरुनाको मूल कथालाई डोर्‍याउने मियो बनेका छन् मंगलसिंह ।

खाँटी बाहुन विजयले यस चलचित्रमा लिम्बूको छोरा बनेर खेलेका छन् । उनको आर्यन अनुहारले लिम्बू चरित्रमा कसरी न्याय गर्‍यो त ? खासमा कथाअनुसार मंगलसिंहकी आमा घिमिरे थरकी हुन् भने बुवा चाहिँ लिम्बू हुन् । उनको अनुहार आमापट्टि गएको छ । झ्वाट्ट हेर्दा सबैले बाहुन नै भन्छन् । तर, जब लिम्बूहरुले ‘पेनिबा’ भनेर हियाउँछन् । ‘पेनिबा’ भनेर लिम्बू भाषामा ‘बाहुन’ हो ।

मंगलसिंह बुवाको थरले लिम्बू भए पनि लिम्बू समाजभित्रै पहिचानको संकटभित्र बाँचिरहेका छन् । ऊसँग लिम्बूनीहरुले पालम गाउन मान्दैनन् । धान नाच्न मान्दैनन् । उनको दाबी छ, ‘म लिम्बू नै हुँ ।’ तर, समाजले भन्छ, लिम्बू जस्तो छैनस । मंगलसिंहले लिम्बू हुन धान नाच नाचेको छ । पालम गाएको छ । च्याब्रुङ बनाएको छ । तर, केटीहरु ऊसँग पट्टिँदैनन् ।

मंगलसिंहको पात्र निर्देशक उपेन्द्र सुब्बाले वास्तविक पात्रबाटै टिपेका थिए । गाउँमै क्षत्री-बाहुनसँग अन्तरजातीय विवाहपछि जन्मिएका लिम्बूहरुको अनुहार फरक हुन्थ्यो । तर, थर लिम्बू । त्यही चरित्र टिपेर ‘जारी’मा मंगलसिंहको चरित्र निर्माण गरेका हुन् ।

पाँचथरको लिम्बू गाउँमा गएर अभिनय गर्नुपर्ने, लिम्बू भाषा बोल्नुपर्ने, विजयलाई त्यति सहज थिएन । फिल्ममा मिरुनाकी बहिनी भएर अभिनय गरेकी पात्रको पनि आमा बाहुनी थिइन् । उनी लिम्बू जस्तै देखिए पनि उनकी दिदी चाहिँ खाँटी बाहुनी जस्ती थिइन् । विजय हाँस्दै सुनाउँछन्, ‘ती बहिनीको आमाबुवाले पनि अन्तरजातीय विवाह गर्नुभएको रहेछ । त्यसैले मलाई अभिनय गर्न अलि सहज भयो ।’

भाषाका लागि निर्देशक सुब्बा, कलाकार अनिल सुब्बाले साथ दिए विजयलाई । निर्देशक, कलाकारहरुको साथले लिम्बू टोन निकाल्न पनि सहज भएको बताउँछन् उनी । तर, सिंक साउण्ड हुँदा अलि चुनौती महसुस गरेका थिए । पात्रको चरित्रमा ढल्किन हरेक दिन सिलाम सक्मा लगाएका, दाह्री काटेका विजय भन्छन्, ‘अहिले हेर्दा लाग्छ, म जस्ता पहिचानविहीन मान्छे कति रहेछन् कति ! सिनेमामा मंगलसिंहले पहिचानका लागि त्यत्रो संघर्ष गर्नुपरेको छ । तर, वास्तविक जीवनमा पहिचान र संघर्षका लागि आजीवन लडिरहेका मान्छेहरुलाई कति गाह्रो होला ! उनीहरु पहिचानसँग संस्कृति, इतिहास र सभ्यताको हिसाबले जोडिएका हुन् । जातको कारणले पहिचानसँग जोडिएका होइनन् ।’

बिके भर्सेस मंगलसिंह

विजयले ‘कबड्डी’ सिरिजमा बिकेको भूमिका निभाए । विजयलाई आम दर्शकसम्म पुग्नलाई त्यही बिकेले नै सहयोग गर्‍यो । बिकेले कथित सामाजिक संरचनामा तल्लो जातको भएर समान वर्गमा रहन संघर्ष गरेको थियो । ‘जारी’ मा उनको भूमिका अलि पृथक छ ।

विजयलाई अहिले कतिपय दर्शकले फोन गरेर मंगलसिंह मन परेको बताइरहेका छन् । कतिपयले स्क्रिनसट लिएर म्यासेजमा ठेलिरहेका छन् । विजयलाई पनि लाग्छ, चरित्र सानो भए पनि त्यो चरित्रको इमोसनलाई ल्याएर सकारात्मक ल्याण्डिङ गराइदिएकाले दर्शकले रुचाइरहेका छन् ।

मंगलसिंहको पात्रले आफ्नै छविलाई पनि थोरबहुत सुधार गरेको बरालको विश्लेषण छ । उनी भन्छन्, ‘मलाई मान्छेहरु कमेडियन भनेर सोच्नुहुन्छ । तर, म टाइमिङ कमेडी गर्ने कलाकार हो । अहिले ‘जारी’ हेर्दा चाहिँ मैले अरु चरित्रलाई फरक तरिकाले निभाउन सक्छु भन्ने दर्शकलाई परे जस्तो लाग्छ ।’

अहिले मंगलसिहंलाई दर्शकले रुचाइरहँदा विजयले बिकेलाई पनि भुल्न सकेका छैनन् । ‘कबड्डी’को बिके किन किन उनलाई आफूसँगै रहेको महसुस भइरहन्छ । आफू रित्तिएर पनि आफूसँग भएको कुरा अरुलाई दिन चाहने बिकेको स्वभाव र आफ्नो वास्तविक स्वभाव एकै रहेको विजय बताउँछन् ।

विजय भन्छन्, ‘जारी र कबड्डीको टीम एकै भए पनि बिकेलाई अर्कै लेभलबाट बनाइएको छ । बिकेले आफूबाहेक अरुलाई सम्झन्छ । आफूलाई अस्तित्वको चाहना राख्दैन । जारीको मंगलसिंहको पनि आफ्नै खाले जोखिम छ । ऊ साथीलाई सहयोग गरिरहन्छ । मेलापात गइदिने, हाटबजार गइदिने अनि आफ्नो पहिचानको पनि वकालत गरिरहने मंगलसिंह हो ।’

कबड्डी टीमसँग विजयको जुगलबन्दी

विजयले निभाएको बिके र मंगलसिंह एकै टीमसँगको सहकार्य हो । रामबाबु–उपेन्द्र–दयाहाङको टीमसँगको सहकार्यको उपज हो दुवै पात्र । विजयले यो टीमभन्दा बाहिर गएर पनि थुप्रो फिल्ममा अभिनय गरेका छन् । तर, बिके र मंगलसिंह जस्तो पपुलर हुन सकेनन् । कति फिल्म त आए, गएमा सकिएका छन् । त्यही आए, गएमै विजयले निभाएको चरित्र पनि दर्शकको सम्झनाबाट सदाका लागि गएको छ ।

यस्तो हुनुमा चरित्र निर्माण गर्नेहरुले कसरी चरित्र बनाउँछन् भन्ने कुरा महत्वपूर्ण हुने विजयको ठम्याइ छ । उनी भन्छन्, ‘जसले चरित्र निर्माण गर्नुहुन्छ, उहाँहरु क्लियर हुनुपर्छ होला । चरित्रलाई न्याय दिने सवालमा निर्देशक आफू क्लियर हुनुभयो भने मैले धेरै गर्नै पर्दैन । अर्को भनेको कति फिल्म चल्दैनन् । फिल्म नचलेपछि हामीले गरेको मेहनत पनि दर्शकले देख्न पाउनुहुन्न । त्यसैले पनि कतिपय राम्रा चरित्र पनि दर्शकमा राम्रोसँग भिज्न पाउँदैनन् ।’

पछिल्लो समय विजयको ‘ह्यारीकी प्यारी’ फिल्म आयो । कथावस्तु राम्रै भएको भनेर प्रशंसित फिल्म बक्स अफिसमा भने राम्रोसँग चल्न सकेन । फिल्ममा विजयले पनि राम्रै चरित्र निभाएका थिए । तर, दर्शकले उस्तो नोटिस गरेनन् उनलाई ।

‘सबैले आआफ्नै भिजनले बनाउनुभएको हुन्छ । मैले पनि आफ्नो चरित्र निभाइरहेकै हुन्छ । तर, के के मिल्दैन, के के अपुग भइदिन्छ’, विजय भन्छन्, ‘आफ्नो शैली पहिचान गरेर बनाउने मेकरहरुको फिल्ममा दर्शकले आफूलाई रिलेट गर्दोरहेछ । कथावस्तु कसलाई भनिरहेको छु, कथावस्तुमा म छु कि छैन भनेर मेकरले बुझिदिए फिल्म राम्रोसँग चल्छ । कतिपय अवस्थामा त हल कति पाउने, नपाउने भन्ने कुराले पनि निर्क्योल गर्छ ।’

‘कबड्डी’ टीमले आफूलाई दोहोर्‍याइरहेकोमा आफूप्रति गरेको विश्वास मान्छन् विजय । निर्वाह गर्नुपर्ने चरित्रलाई लिएर टीमले राम्रो ढंगले विश्वास गरिदिएकाले पनि दोहोरिएको विश्लेषण छ उनको ।

विजय थप्छन्, ‘अर्को पक्ष भनेको यो टीमलाई दर्शकको विश्वास बढी छ । साथै दर्शकले फरक शैली र संस्कृति हेर्न चाहन्छ भन्ने पनि देखियो । पात्रहरुको रुपमा मैले गरेको काम रुचाउनुभएकाले पनि निरन्तर सहकार्य भएको होला ।’

दर्शकको विश्वास जित्ने एकै फर्मुला छ विजयसँग, त्यो हो दुई-चार जनाबीचमा बसेर आफूलाई खतरनाक छु भनेर केही हुनेवाला छैन । टीममा गरेको काम दर्शकले देखेमात्रै ऊ कति खतरनाक हो, प्रमाणित हुन्छ । त्यसैले दर्शकसम्म नपुगी आफूलाई खतरनाक भन्नेहरुसँग विजयको जुगलबन्दी खासै जम्दैन ।

आफूलाई खतरनाक नभनिकन विजय चुपचाप चरित्र निर्वाह गर्न चाहन्छन् । त्यो चरित्र फिल्ममा लामो पनि हुनसक्छ, छोटो पनि । मेकरले आफूलाई विश्वास गर्दासम्म छोटो र लामो भूमिकाले फरक नपार्ने उनको दाबी छ । तर, चरित्रलाई न्याय दिनु नै आफ्नो मूल ध्येय रहने बताउँछन् विजय ।

उनी भन्छन्, ‘लिड रोलमा काम गर्ने रहर छैन । बरु फरक चरित्र गर्न मन छ । चरित्रले नै डिमान्ड गर्दैन भने लिड रोलको के काम ? म त सिक्दैछु । अभ्यास गर्दैछु । मलाई धेरै अगाडि पुग्नु पनि छैन । सिर्फ अडिरहनु छ । खोलाको किनारमा अडिरहेको रुख जस्तै अडिरहनु छ र जरालाई बलियो बनाइरहनु छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *